बैतडीमा रहेका २८ वटा प्रहरी चौकीमध्ये अहिलेसम्म पाँच वटा मात्रै प्रहरी भवन पुनःनिर्माण भएका छन् । इलाका प्रहरी कार्यालय पाटन, इलाका प्रहरी कार्यालय मेलौली, प्रहरी चौकी खोडपे, सीमा प्रहरी चौकी झुलाघाट र प्रहरी चौकी पुरघाट मात्र पुनःनिर्माण गरिएका छन् ।
पुनःनिर्माण निर्माण गरिएका प्रहरी भवन आधुनिक सुविधा सम्पन्न रहेका छन् । सशस्त्र द्वन्द्वकालमा ध्वस्त भएका प्रहरी चौकी पुनःनिर्माण नहुँदा समस्या हुने गरेको छ । प्रहरी चौकी भाडामा बस्दा पर्याप्त कोठा नहुँदा प्रक्राउ गरेकालाई राख्न समेत समस्या पर्ने गरेको छ ।
शान्ति पुनःस्थापनाको लामो समय बितिसक्दा समेत ध्वस्त भएका प्रहरी चौकी पुनःनिर्माण नहुँदा गाउँघरमा हुने घरेलु हिंसा, यौन दुव्र्यवहार, बलात्कार जस्ता घटना हँुदा झनै समस्या हुने गरेको छ ।
समयमै प्रहरी चौकी पुनःनिर्माण हुन नसकिरहेको अवस्थामा जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने प्रहरी आफैँ असुरक्षित र काम गर्न असहज भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए । उनले भने, “भवन अभावका कारण पनि प्रहरीले दिने शान्ति सुरक्षाका लागि आफूहरु दत्तचित्त भई सेवामा खटिइरहेका छौँ ।”
आधाभन्दा बढी भाडामा
बैतडीमा रहेका प्रहरी भवनमध्ये आधाभन्दा बढी भवन भाडाका रहेका छन् । दश वर्षे जनयुद्घका विद्रोही पक्षले ध्वस्त पारेका प्रहरी भवन पुनःनिर्माण हुन नसक्दा जिल्लामा रहेका २८ प्रहरी कार्यालयमध्ये १६ प्रहरी भवन भाडामा रहेका छन् ।
जिल्लामा हाल २१ वटा प्रहरी चौकी, दुई वटा इलाका प्रहरी कार्यालय, दुई वटा अस्थायी पोस्ट रहेका छन् । यस्तै सीमा प्रहरी चौकी एउटा, ट्राफिक प्रहरी पोस्ट एउटा र जिल्ला प्रहरी कार्यालय रहेको प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयको भवन, पाटन र मेलौलीमा रहेका इलाका प्रहरी कार्यालय, सीमा प्रहरी चौकी झुलाघाट र विमानस्थल सुरक्षा गार्ड पाटनसँग आफ्नो भवन रहेको छ । यस्तै सेरा, सिमार, गाँजरी, देहीमाडौँ, गुरुखोला, खोडपे र पुरघाट प्रहरी चौकीसँग मात्र आफ्नो भवन रहेको छ ।
भाडाका घरमा अधिकांश असुरक्षित रहेका छन् । भवनको छाना चुहिने, सुत्न बस्न खान समेत अप्ठेरो हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीको प्रहरी ब्यारेक पनि वर्षात्को समय चुहिने गरेको प्रहरी स्रोतले बताएको छ । यस्तै आमचौरमा भाडामा रहेको प्रहरी चौकीका पनि कोठा साना तथा चुहिने र सुत्न अप्ठेरो हुने गरको बताइएको छ ।
प्रहरीसँग आफ्नो भवन नहुँदा कार्यसम्पादनमा समस्या भएको छ । यसरी भाडामा बस्दा हुने समस्याले शान्ति सुरक्षाका लागि खटिने प्रहरी आफैँ असुरक्षित भएको छ ।
रासस