कर्णाली प्रदेशमा किशोरी, गर्भवती तथा अभिभावकको भूमिकामा रहेका किशोरी र नवजात शिशुको स्वास्थ्य अवस्था सुधार गर्न सरोकारवालाले साझा पहल र प्रभावकारी सहकार्यमा जोड दिएका छन्।उनीहरूले स्वास्थ्यसम्बन्धी पर्याप्त जानकारीको अभाव, सामाजिक सोच र आवश्यक सेवामा पहुँचको कमीले किशोरी तथा नवजात शिशुको स्वास्थ्यमा चुनौती थपिरहेको भन्दै सचेतना अभिवृद्धिसँगै स्थानीय सरकार र समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्।
किशोरी मातृ तथा नवजात शिशु स्वास्थ्य परियोजनाको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न दुईदिने भेलामा कर्णालीका विभिन्न जिल्लाबाट सहभागी किशोरकिशोरीहरूले आफूहरूले भोगिरहेका समस्या, स्वास्थ्य सेवामा पहुँच, अधिकार र आगामी दिनमा गर्नुपर्ने कामका विषयमा अनुभव आदानप्रदान गरेका छन्।
भेलामा किशोरीको स्वास्थ्य, सुरक्षित मातृत्व, नवजात शिशुको स्याहार तथा समुदायस्तरमा सचेतना विस्तार गर्नुपर्ने विषयमा छलफल भएको छ ।
यस्तै सहभागी किशोरकिशोरीहरूले कर्णालीमा अझै पनि किशोरीको प्रजनन स्वास्थ्य, गर्भावस्थामा अपनाउनुपर्ने सावधानी, सुरक्षित प्रसूति र नवजात शिशुको उचित हेरचाहबारे पर्याप्त जानकारी पुग्न नसकेको बताएका छन्।विशेषगरी गर्भवती तथा अभिभावकको भूमिकामा रहेका किशोरीले आवश्यक परामर्श, स्वास्थ्य सेवा र परिवारको सहयोग सहज रूपमा प्राप्त गर्न नसक्दा उनीहरूका समस्या थप जटिल बन्न सक्ने उनीहरूको भनाइ छ।
स्वास्थ्यसम्बन्धी जानकारी र सचेतना अभावकै कारण किशोरीहरूले आफ्नो स्वास्थ्यको हेरचाहदेखि नवजात शिशुको स्याहारसम्म विभिन्न चुनौती सामना गर्नुपरेको सहभागीहरूले बताएका छन्।
उनीहरूले भेलामा सिकेका ज्ञान, सीप र अनुभवलाई आफ्नो समुदायमा व्यवहारमा लागू गर्ने प्रतिबद्धता जनाउँदै किशोरीको स्वास्थ्य र अधिकार संरक्षणका लागि स्थानीय सरकार, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता, अभिभावक र समुदाय सबैको साथ आवश्यक रहेको बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका पूर्वसामाजिक विकासमन्त्री घनश्याम भण्डारीले किशोरी, आमा र नवजात शिशुको स्वास्थ्यलाई राज्यको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।उहाँले किशोरीको स्वास्थ्यलाई व्यक्तिगत वा पारिवारिक विषयमा मात्र सीमित नगरी सामाजिक विकास र सार्वजनिक स्वास्थ्यसँग जोडेर हेर्नुपर्ने बताउनुभयो।
किशोरीले समयमै सही सूचना, आवश्यक परामर्श र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्न सरकार, समुदाय र सम्बन्धित संस्थाले समन्वय गरेर काम गर्नुपर्ने उहाँको भनाइ छ। मानवअधिकार रक्षक सञ्जाल कर्णालीका अध्यक्ष पिताम्बर ढकालले किशोरीको स्वास्थ्य, सम्मान र अधिकारको संरक्षणलाई मानवअधिकारको महत्त्वपूर्ण पक्षका रूपमा लिनुपर्ने बताउनुभयो।
उहाँले किशोरीले भोगिरहेका समस्या पहिचान गरी उनीहरूको आवाजलाई निर्णय प्रक्रियासम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो। किशोरीलाई विभेदरहित वातावरणमा स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर सुनिश्चित गर्नुका साथै उनीहरूको आत्मसम्मान र अधिकारको रक्षा गर्न परिवार, समुदाय र राज्य सबै जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ।
गाउँपालिका महासङ्घ कर्णालीका पूर्वअध्यक्ष कविन्द्रकुमार केसीले किशोरी, मातृ तथा नवजात शिशुको स्वास्थ्य सुधारमा स्थानीय तहको भूमिका निर्णायक हुने बताउनुभयो। उहाँले स्थानीय तहले नीति तथा कार्यक्रम निर्माण गर्दा किशोरी र नवजात शिशुको स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्नुभयो।स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई समुदायको वास्तविक आवश्यकता र समस्यासँग जोड्दै विद्यालय, स्वास्थ्य संस्था, परिवार तथा स्थानीय सरकारबीच समन्वय बढाउन सके प्रभावकारी नतिजा हासिल गर्न सकिने उहाँको भनाइ थियो ।
सेभ द चिल्ड्रेनका कार्यक्रम व्यवस्थापक किशोरजंग शाहले किशोरीदेखि मातृ तथा नवजात शिशुसम्मको स्वास्थ्य सेवामा सुधार ल्याउन निरन्तर सचेतना, प्रभावकारी स्वास्थ्य सेवा र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।
उहाँले गर्भावस्था, प्रसूति र शिशु जन्मिएको पहिलो २८ दिनलाई आमा तथा शिशुको स्वास्थ्यका दृष्टिले अत्यन्त संवेदनशील अवधि मान्दै यस समयमा आवश्यक स्वास्थ्य सेवा, स्याहार र सहयोग सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।
किशोरीलाई सही जानकारी र समयमै आवश्यक सहयोग उपलब्ध गराउन सके स्वास्थ्य जोखिम न्यूनीकरण गर्दै आमा र शिशुको स्वस्थ भविष्य निर्माण गर्न सकिने उल्लेख गर्नुभयो।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष मधुवन बिसीले किशोरी, मातृ तथा नवजात शिशुको स्वास्थ्यका विषयमा समुदायमा सचेतना फैलाउन सञ्चार क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
उहाँले स्वास्थ्यसम्बन्धी सही सूचना र जानकारीलाई समुदायको पहुँचसम्म पुर्याउनुका साथै किशोरीले भोगिरहेका समस्या र स्वास्थ्य सेवामा देखिएका चुनौतीलाई सार्वजनिक बहसमा ल्याउनुपर्ने उल्लेख गर्नुभयो।
सञ्चारमाध्यमले किशोरीको आवाजलाई प्राथमिकता दिँदै सम्बन्धित निकायलाई जिम्मेवार बनाउन र नागरिकलाई सचेत पार्न योगदान दिन सक्ने उहाँको भनाइ छ।
किशोरी मातृ तथा नवजात शिशु स्वास्थ्य परियोजनाले किशोरी, गर्भवती तथा अभिभावकको भूमिकामा रहेका किशोरी र उनीहरूका शिशुको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्य राखेको छ।
गर्भावस्थादेखि प्रसूति र शिशु जन्मिएको पहिलो २८ दिनसम्मको संवेदनशील अवधिमा जीवन रक्षा तथा स्वस्थ विकास सुनिश्चित गर्न योगदान पुर्याउनु परियोजनाको मुख्य लक्ष्य हो।
यस्तै किशोरीको आवाज, अधिकार र योगदानलाई सम्मान गर्दै लैङ्गिक समानतामा आधारित समुदाय निर्माणमा सहयोग पुर्याउने उद्देश्य परियोजनाले लिएको जनाइएको छ।
परियोजना जाजरकोटका भेरी नगरपालिका, छेडागाड नगरपालिका र शिवालय गाउँपालिका, जुम्लाका तातोपानी गाउँपालिका र तिला गाउँपालिका तथा कालिकोटको शुभकालिका गाउँपालिकामा सञ्चालन भइरहेको छ ।
किशोरीको स्वास्थ्य र अधिकारका सवालमा समुदायस्तरमा रहेका चुनौती पहिचान गर्नु, उनीहरूका अनुभव र आवाजलाई प्राथमिकता दिनु तथा आगामी दिनमा गर्नुपर्ने कामका विषयमा साझा धारणा निर्माण गर्नु भेलाको मुख्य उद्देश्य रहेको जनाइएको छ।
सुशासन प्रवर्द्धनका लागि युवा संस्थाका उपाध्यक्ष गोविन्द खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका कार्यकारी निर्देशक घनश्याम केसीले गर्नुभएको थियो । भेलामा सहभागी किशोरकिशोरीहरूले छलफलबाट प्राप्त ज्ञान र अनुभवलाई व्यवहारमा उतार्दै आफ्नो समुदायमा किशोरी, आमा र नवजात शिशुको स्वास्थ्य सुधारका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलवार १८:५६