सिम्ताको ग्रामीण परिवेशबाट राजनीतिक चेतनाको यात्रा सुरु गरेका मोहन राना अहिले नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा युवाको प्रतिनिधित्व गर्ने लक्ष्यसहित अघि बढेका छन्। विद्यार्थी राजनीतिबाट पार्टी संगठनको विभिन्न तह हुँदै महाधिवेशन प्रतिनिधिसम्मको यात्रा तय गरेका राना यसपटक कर्णाली प्रदेशबाट युवातर्फ केन्द्रीय नेतृत्वका लागि उम्मेदवार बनेका हुन्।
बौद्धिक, तार्किक, शालीन र अध्ययनशील नेताका रूपमा परिचित रानाको राजनीतिक परिचय केवल संगठनात्मक जिम्मेवारीमा सीमित छैन। समसामयिक राजनीतिक तथा सामाजिक विषयमा गहिरो चासो राख्ने, तथ्यमा आधारित धारणा राख्ने र नयाँ विषयलाई गहिराइमा बुझ्न खोज्ने स्वभावका कारण उनी पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय बनेका छन्।
उनको राजनीतिक यात्राको सुरुवात भने पद र प्रतिष्ठाको खोजीबाट भएको थिएन। विद्यार्थी जीवनमै देखिएको सामाजिक तथा राजनीतिक चेतनाले उनलाई विस्तारै संगठनतर्फ तान्यो।
२०६५ सालदेखि सुरु भएको राजनीतिक यात्रा
रानाले २०६५ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर औपचारिक राजनीतिक यात्रा सुरु गरेका हुन्। त्यसपछि विद्यालय तथा विश्वविद्यालयका विभिन्न कमिटीमा सक्रिय हुँदै उनले संगठन, विद्यार्थी आन्दोलन र राजनीतिक संस्कारलाई नजिकबाट बुझ्ने अवसर पाए।
मिजासिलो स्वभाव, संगठनप्रतिको इमानदारी र सक्रिय भूमिकाका कारण उनले सानै उमेरमा विद्यार्थी संगठनका विभिन्न तहमा काम गर्दै नेपाल विद्यार्थी संघ सुर्खेत जिल्ला सचिवसम्म पुगे।
जिल्ला सचिवको जिम्मेवारीपछि उनी केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा समेत सहभागी भए। विद्यार्थी राजनीतिका क्रममा विश्वविद्यालयमा भएका विभिन्न आन्दोलन तथा गतिविधिमा सक्रिय रहँदा उनको राजनीतिक सोच र नेतृत्व क्षमता थप विकसित हुँदै गयो।विद्यार्थी राजनीतिबाट प्राप्त अनुभवलाई उनले पार्टी राजनीतिमा पनि निरन्तरता दिए। कांग्रेसको क्षेत्रीय संगठनमा सदस्य हुँदै सहसचिव र सचिवको जिम्मेवारीसमेत सम्हालेका रानासँग संगठनको तल्लो तहदेखि नेतृत्व तहसम्म काम गरेको अनुभव छ।
युवालाई केवल कार्यकर्ता होइन, नेतृत्वमा देख्न चाहन्छन्
कांग्रेसको १५औँ महाधिवेशनलाई रानाले नेतृत्व चयन गर्ने नियमित प्रक्रियाभन्दा फराकिलो रूपमा हेरेका छन्।उनका लागि यो महाधिवेशन पार्टीको वैचारिक पुनर्संरचना, पुस्तान्तरण र बदलिँदो राजनीतिक परिवेशअनुसार कांग्रेसलाई नयाँ ढंगले अघि बढाउने अवसर हो।विशेषगरी युवालाई पार्टीको झण्डा बोक्ने र चुनावका बेला मत माग्ने कार्यकर्ताका रूपमा मात्र सीमित नराखी नीति निर्माण र नेतृत्वको तहमा समेत अर्थपूर्ण सहभागिता गराउनुपर्ने उनको धारणा छ।मेरो उम्मेदवारी कुनै व्यक्तिगत महत्वाकाङ्क्षाको विस्तार होइन । संगठनभित्रको लोकतान्त्रिक चेतना, युवाको सार्थक सहभागिता र कर्णालीको राजनीतिक आवाजलाई राष्ट्रिय विमर्शको केन्द्रमा स्थापित गर्ने प्रयत्न हो,’ रानाले भनेका छन्।कांग्रेसभित्र पुस्तान्तरणको बहस चलिरहेका बेला रानाको उम्मेदवारीलाई पनि युवा पुस्ताको प्रतिनिधित्वका रूपमा हेरिएको छ। उनी भने पुस्तान्तरण भनेको पुरानो पुस्तालाई विस्थापित गर्नु नभई अनुभव र नयाँ ऊर्जाबीचको समन्वय भएको बताउँछन्।
३५ वर्षमुनिको समूहबाट लोकप्रिय मत
रानाले यसअघि पहिलो पटक महाधिवेशन प्रतिनिधिका रूपमा ३५ वर्षमुनिको समूहबाट लोकप्रिय मतसहित निर्वाचित भएर आफ्नो राजनीतिक प्रभाव देखाइसकेका छन्।त्यो अनुभवले उनलाई युवा पुस्तासँग जोडिन थप बल पुगेको उनको बुझाइ छ। यसपटक भने उनी कर्णाली प्रदेशका युवाको प्रतिनिधित्व गर्दै कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने प्रयासमा छन्।उनको उम्मेदवारीसँगै सुर्खेत तथा कर्णालीका युवा कांग्रेस कार्यकर्तामाझ समेत चासो बढेको छ। उनी अहिले महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाट गर्दै आफ्नो उम्मेदवारीका पक्षमा समर्थन, सहयोग, शुभेच्छा र अमूल्य मत मागिरहेका छन्।
गाउँको दुःख बुझेको
राजनीतिक यात्राको ठूलो हिस्सा ग्रामीण समाजसँग जोडिएको बताउने राना गाउँका नागरिकका समस्या केवल भाषणबाट होइन, प्रत्यक्ष भेटघाटबाट बुझ्नुपर्ने मान्यता राख्छन्।सिम्ताका विभिन्न गाउँ तथा टोलमा पुगेर नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने, उनीहरूका समस्या सुन्ने र सामाजिक गतिविधिमा सहभागी हुने क्रम उनले निरन्तरता दिएका छन्।शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारी, कृषि, उद्यमशीलता र युवाका अवसरका विषय उनका प्राथमिकतामा पर्ने गरेका छन्।कर्णालीका युवाले अवसरको खोजीमा प्रदेश र देशबाहिर जानुपर्ने बाध्यता अन्त्य गर्न स्थानीयस्तरमै शिक्षा, रोजगारी र उद्यमका अवसर सिर्जना गर्नुपर्ने उनको धारणा छ।कर्णालीका युवासँग क्षमता छ, सम्भावना छ। अभाव अवसरको हो। राजनीतिक नेतृत्वले युवाको क्षमतालाई देश निर्माणसँग जोड्ने वातावरण बनाउनुपर्छ,’ रानाको धारणा छ।
राजनीति मात्र होइन, सामाजिक क्षेत्रमा पनि सक्रिय
रानाको सक्रियता राजनीतिक संगठनमा मात्र सीमित छैन। गाउँ–समाजका विभिन्न सामाजिक गतिविधिमा उनको सहभागिता रहँदै आएको छ।काँक्रेविहार क्लबमार्फत खेलकुदका गतिविधिमा जोडिएका उनले सिम्तामा सहकारी क्षेत्रका गतिविधिमा समेत सक्रियता देखाएका छन्। सिम्तामा हुने विभिन्न सामाजिक तथा नागरिक गतिविधिमा समेत उनी सहभागी हुँदै आएका छन्।सुख–दुःखमा नागरिकको साथमा पुग्ने आफ्नो राजनीतिक संस्कार रहेको बताउने राना राजनीतिलाई जनतासँग जोडिने माध्यमका रूपमा बुझ्छन्।उनको यही शैलीले उनलाई युवा कार्यकर्तादेखि गाउँका नागरिकसम्म जोडिन सहयोग गरेको समर्थकहरूको बुझाइ छ।
अध्ययनसँगै राजनीतिलाई निरन्तरता
राना राजनीतिसँगै अध्ययनलाई पनि निरन्तरता दिइरहेका छन्। उनले ग्रामीण विकास विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् भने अहिले कानुन विषयमा एलएलबी अध्ययन गरिरहेका छन्।ग्रामीण विकासको अध्ययनले गाउँको सामाजिक, आर्थिक र विकाससम्बन्धी समस्यालाई बुझ्न सहयोग गरेको उनको भनाइ छ। अहिले कानुन अध्ययन गरिरहेकाले संविधान, शासन प्रणाली, अधिकार र राज्य सञ्चालनका विषयमा समेत आफ्नो बुझाइलाई थप फराकिलो बनाउने उनको प्रयास छ।अध्ययनशील स्वभावका कारण समसामयिक राजनीतिक विषयमा तथ्य र तर्कसहित धारणा राख्ने नेताका रूपमा पनि उनी परिचित छन्।
जेन्जी आन्दोलनपछि बदलिएको युवाको चेतना
पछिल्लो समय युवापुस्तामा आएको राजनीतिक चेतनाको परिवर्तनलाई रानाले गम्भीरतापूर्वक नियालिरहेका छन्।जेन्जी आन्दोलनपछि युवामा देखिएको परिवर्तनको चाहना, राजनीतिक दलप्रतिको प्रश्न र नेतृत्वप्रतिको नयाँ अपेक्षालाई परम्परागत ढंगले सम्बोधन गर्न नसकिने उनको बुझाइ छ।युवाले अब भाषणभन्दा परिणाम खोजिरहेको र राजनीतिक दलहरूले पनि आफ्नो संगठन तथा नेतृत्वको शैली परिवर्तन गर्नुपर्ने उनी बताउँछन्।उनका अनुसार कांग्रेसले युवाको प्रश्नलाई केवल चुनावी नाराका रूपमा होइन, पार्टीको नीति र निर्णय प्रक्रियाकै हिस्सा बनाउनुपर्छ।
‘अनुभव र ऊर्जा’लाई जोड्ने प्रयास
१६ वर्षभन्दा लामो राजनीतिक यात्रामा विद्यार्थी संगठनदेखि पार्टीको विभिन्न तहसम्म काम गरेका राना आफ्नो उम्मेदवारीलाई अनुभव र ऊर्जाको संयोजनका रूपमा प्रस्तुत गर्छन्।उनले पुरानो पुस्ताको राजनीतिक अनुभव र नयाँ पुस्ताको ऊर्जा तथा प्रविधिसँग जोडेर कांग्रेसलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखेका छन्।उनको राजनीतिक यात्रामा विद्यार्थी आन्दोलन, संगठन निर्माण, सामाजिक सक्रियता, अध्ययन र ग्रामीण समाजसँगको प्रत्यक्ष सम्बन्ध मुख्य आधारका रूपमा देखिन्छन्।त्यसैले पनि उनी आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पदको आकाङ्क्षाभन्दा युवाको राजनीतिक सहभागिता र कर्णालीको प्रतिनिधित्वसँग जोडेर व्याख्या गर्छन्।
कर्णालीको आवाज केन्द्रसम्म पुर्याउने लक्ष्य
कर्णाली लामो समयदेखि विकास, रोजगारी र अवसरको अभावसँग जुधिरहेको प्रदेश हो। यहाँका युवाका समस्या राष्ट्रिय राजनीतिको केन्द्रमा पर्याप्त रूपमा उठ्न नसकेको रानाको बुझाइ छ।त्यसैले कर्णालीबाट केन्द्रीय नेतृत्वमा बलियो युवा प्रतिनिधित्व आवश्यक रहेको उनी बताउँछन्।कर्णालीका युवाको रोजगारी, शिक्षा, उद्यमशीलता, प्रविधिमा पहुँच र राजनीतिक सहभागितालाई राष्ट्रिय बहससँग जोड्नु आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।कर्णालीलाई सहानुभूति होइन, समान अवसर चाहिएको छ। यहाँका युवालाई अवसर दिने नीति र त्यसको कार्यान्वयनका लागि राजनीतिक नेतृत्वले स्पष्ट दृष्टिकोण बनाउनुपर्छ,’ राना बताउँछन्।केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेपछि राना अहिले महाधिवेशन प्रतिनिधि, नेता–कार्यकर्ता तथा आम नागरिकसँग भेटघाट गर्दै उनी आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन्।आफ्नो राजनीतिक यात्रामा साथ दिने नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई भेट्दै उनले यसपटक पनि सहयोग र मतका लागि आग्रह गरिरहेका छन्।सिम्ताको ग्रामीण परिवेशबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका राना अहिले कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने यात्रामा छन्।मोहन रानाको उम्मेदवारी यही प्रश्नको उत्तर खोज्ने एउटा प्रयासका रूपमा देखिएको छ। अनुभव, अध्ययन, संगठनात्मक सक्रियता र युवा पुस्तासँगको सम्बन्धलाई आधार बनाएर उनी कर्णालीको आवाज केन्द्रीय नेतृत्वसम्म पुर्याउने अभियानमा अघि बढेका छन्।

प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार ०९:३५