नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सुर्खेत क्षेत्र नम्बर २ मा सर्वसम्मत रूपमा नेतृत्व चयन हुने भएको छ।
अधिवेशनको तयारीका क्रममा देखिएको आन्तरिक विवाद अन्त्य गर्दै सबै पक्षका नेता सहमति र सहकार्यका साथ अघि बढ्न सहमत भएका हुन्।
नगर, प्रदेश र क्षेत्रीय कार्यसमितिसहित महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत रूपमा चयन गर्ने गरी सहमति जुटेको केन्द्रीय प्रतिनिधि श्रीराम लामिछानेले बताउनुभयो।
क्षेत्र नम्बर २ बाट ३३ जना महाधिवेशन प्रतिनिधि चयन हुँदैछन्।
पछिल्लो एक सातादेखि अधिवेशनको प्रक्रिया र नेतृत्व चयनका विषयमा देखिएको मतभेदका कारण क्षेत्रीय कार्यालयमा तालाबन्दीसमेत गरिएको थियो।
सहमति जुटेसँगै आज कार्यालयमा लगाइएको तालाबन्दी खोलिएको छ।
लामिछानेका अनुसार पार्टीको बृहत्तर हित, संगठनको एकता र आगामी निर्वाचनलाई केन्द्रमा राखेर सबै पक्षका नेता एक ठाउँमा आएका हुन्।
आन्तरिक प्रतिस्पर्धालाई विवादका रूपमा अघि नबढाई सहमति र सहकार्यका आधारमा नेतृत्व चयन गर्ने वातावरण बनेको उहाँले बताउनुभयो।
आगामी निर्वाचनमा पार्टीलाई एकताबद्ध र संगठनलाई थप बलियो बनाएर अघि बढाउन अहिलेको सहमति महत्वपूर्ण रहेको कांग्रेस नेताहरूले बताएका छन्।
पार्टीका सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर संगठन विस्तार र आगामी निर्वाचनको तयारीमा केन्द्रित हुने लामिछानेले जानकारी दिनुभयो।
क्षेत्र नम्बर २ मा अब सहमतिका आधारमा अधिवेशनका बाँकी प्रक्रिया अघि बढ्ने भएका छन्।
सर्वसम्मत नेतृत्व चयनसँगै लामो समयदेखि देखिएको आन्तरिक मतभेदसमेत अन्त्य हुने र पार्टी संगठन थप एकताबद्ध भएर अघि बढ्ने कांग्रेस नेताहरूको भनाइ छ।
प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार १८:५३