सुर्खेत । युवाहरूलाई रोजगारी तथा उद्यमशीलतासँग जोड्ने विषयमा सुर्खेतमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सुर्खेत उद्योग वाणिज्य संघको समन्वय तथा समाज जागरण केन्द्र (स्याक) नेपाल र सेभ द चिल्ड्रेनको आयोजनामा संघको सभाहलमा कार्यक्रम गरिएको हो।
कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्काले युवाहरूलाई रोजगारी तथा उद्यमशीलतासँग जोड्न संघले विभिन्न कार्यक्रम तथा सेवा सञ्चालन गरिरहेको जानकारी दिनुभयो।
उहाँका अनुसार औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (IEDI) को प्राविधिक तथा आर्थिक सहयोगमा कर्णाली प्रदेशमै पहिलोपटक सुर्खेत उद्योग वाणिज्य संघमार्फत व्यवसाय सम्बद्र्धन सेवा केन्द्र (Business Incubation Services) सञ्चालनमा ल्याइएको छ। उक्त केन्द्रमार्फत सहभागीहरूका लागि हाल Mentorship Program सञ्चालन भइरहेको उहाँले बताउनुभयो।
त्यसैगरी संघले Business Acceleration Program समेत सञ्चालन गर्दै आएको तथा संघकै परिसरबाट SMEs Help Desk र One Stop Shop मार्फत उद्योगी तथा व्यवसायीलाई आवश्यक सेवा र सहजीकरण उपलब्ध गराउँदै आएको अध्यक्ष खड्काले जानकारी दिनुभयो।
युवाहरूलाई रोजगारीका अवसरसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले संघले छिट्टै Job Center सञ्चालन गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो। त्यसका लागि आवश्यक Field Assessment को कामसमेत भइरहेको उहाँको भनाइ छ।
कार्यक्रममा युवाहरूलाई रोजगारी तथा उद्यमशीलतामा प्रभावकारी रूपमा कसरी जोड्न सकिन्छ, वर्तमान अवस्थामा रोजगारीका सम्भावित क्षेत्रहरू के–के हुन सक्छन् तथा निजी क्षेत्रको आवश्यकता र मागअनुसार युवाहरूको सीप विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो।
कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघअन्तर्गतका विभिन्न वस्तुगत समितिका अध्यक्ष तथा प्रतिनिधिहरूले उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा आवश्यक दक्ष जनशक्तिको अभाव हुने गरेको बताएका थिए। उनीहरूले कार्यक्रममार्फत दक्ष युवा जनशक्ति उत्पादन भएमा रोजगारी प्रदान गर्न तथा युवालाई उद्यमशीलतासँग जोड्न आफूहरू इच्छुक रहेको धारणा व्यक्त गरेका थिए।
त्यस अवसरमा सेभ द चिल्ड्रेनका दुर्गा तिवारीले कार्यक्रमको उद्देश्य, युवाका लागि रोजगारी तथा उद्यमशीलताको अवसर सिर्जना गर्न कार्यक्रमले खेल्न सक्ने भूमिका तथा निजी क्षेत्रसँगको सहकार्यको आवश्यकताबारे जानकारी गराउनुभयो।
कार्यक्रमले युवाको सीप विकास, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धनका लागि निजी क्षेत्र, विकास साझेदार र सरोकारवाला निकायबीचको सहकार्य तथा समन्वयलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार ११:४५