सुशासन प्रवर्द्धन, सामाजिक जवाफदेहिता र युवाको सशक्तीकरणका क्षेत्रमा क्रियाशील संस्था युवा फर गुड गभर्नेन्स प्रमोटिङ वाईजीजीपीले आफ्नो नौ वर्षे कार्ययात्रालाई समीक्षा गर्दै वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
साधारण सभामा सहभागी वक्ताहरूले सुशासन प्रवर्द्धन र सामाजिक रूपान्तरणका लागि युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन्। उनीहरूले राज्यका निकायलाई नागरिकप्रति थप जवाफदेही, पारदर्शी र उत्तरदायी बनाउन नागरिक समाज, सञ्चार क्षेत्र र युवाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सुर्खेतका अध्यक्ष गंगाराम सुनारले सुशासन कुनै एउटा निकायको प्रयासले मात्र सम्भव नहुने बताउनुभयो। उहाँले स्थानीय तहमा योजना निर्माणदेखि कार्यान्वयन र सार्वजनिक सेवा प्रवाहसम्म नागरिकको अर्थपूर्ण सहभागिता आवश्यक रहेको उल्लेख गर्दै युवाहरूलाई सामाजिक उत्तरदायित्व र विकासको अभियानमा जोड्नुपर्ने बताउनुभयो।
भूमि व्यवस्था कार्यालय सुर्खेतका प्रमुख जनक हमालले सरकारी कार्यालयबाट प्रदान हुने सेवामा पारदर्शिता, जवाफदेहिता र प्रविधिको प्रयोग बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। नागरिकलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न सरकारी निकाय र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ।
यस्तै गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य नमस्कार शाहले नागरिक समाजले सरकारको आलोचना मात्र नभई सुधारका लागि सहजीकरण र साझेदारीको भूमिका पनि निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले सामाजिक न्याय, समावेशीकरण, महिला तथा युवाको नेतृत्व विकास र सीमान्तकृत समुदायका सवाललाई संस्थागत रूपमा उठाउनुपर्नेमा जोड दिनुभयो।
नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष मधुवन बिसीले सुशासन कायम गर्न सञ्चार क्षेत्र, नागरिक समाज र युवाबीचको सहकार्य महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले सार्वजनिक निकायलाई नागरिकप्रति जवाफदेही बनाउन तथ्यमा आधारित सूचना प्रवाह र निरन्तर खबरदारी आवश्यक रहेको उल्लेख गर्नुभयो।
युवा परिषद् सुर्खेतका पूर्वअध्यक्ष टेकेन्द्र बस्नेतले युवालाई केवल रोजगारी खोज्ने जनशक्तिका रूपमा नभई समाज परिवर्तनका संवाहकका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। युवाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई सही ढंगले परिचालन गर्न सके स्थानीय तहमा सुशासन र सामाजिक रूपान्तरणलाई थप प्रभावकारी बनाउन सकिने उहाँले बताउनुभयो।
नौ वर्षअघि स्थापना, ३३ स्थानीय तहमा काम
सुशासन प्रवर्द्धनका लागि युवाको सक्रियता बढाउने उद्देश्यसहित स्थापना भएको संस्थाले कर्णाली र सुदुरपश्चिमका विभिन्न जिल्लामा कामगर्दै आएको छ।
गैरराजनीतिक, गैरजातीय, स्वतन्त्र तथा गैरनाफामूलक संस्थाका रूपमा रहेको वाईजीजीपीले सरकारी तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थासँग सहकार्य, समन्वय र साझेदारी गर्दै कार्यक्रम सञ्चालन गर्दै आएको छ।
संस्थाले युवाको सशक्तीकरणमार्फत समृद्ध, समतामूलक र समावेशी समाज निर्माण गर्ने दृष्टिकोण अघि सारेको छ। विशेषगरी युवा, महिला, बालबालिका, अपांगता भएका व्यक्ति, लैङ्गिक अल्पसंख्यक, सीमान्तकृत तथा सुविधाबाट वञ्चित र कठिन परिस्थितिमा रहेका समुदायको सामाजिक तथा आर्थिक अवस्था उकास्ने लक्ष्य संस्थाले लिएको छ।
संस्थाका अनुसार स्थापनादेखि हालसम्म कर्णाली र सुदूरपश्चिमका सबै जिल्लासहित बाँके, सलार्ही, धनुषा र सिराहालगायतका २३ जिल्लाका ३३ स्थानीय तहमा १९ वटा विभिन्न कार्यक्रम तथा परियोजना सञ्चालन गरिसकेको छ। तीमध्ये केही परियोजना सम्पन्न भइसकेका छन् भने केही परियोजना कार्यान्वयनको चरणमा रहेका छन्।
सुशासनदेखि स्वास्थ्य, जलवायु र सामाजिक जवाफदेहितासम्म
वाईजीजीपीले सुशासन प्रवर्द्धनलाई केन्द्रमा राखेर सामाजिक उत्तरदायित्व, शिक्षा, प्रजनन स्वास्थ्य, शहरी विकास, जीविकोपार्जन, लैङ्गिक समावेशीकरण, वातावरण संरक्षण, जलवायु अनुकूलन, प्राकृतिक प्रकोप न्यूनीकरण तथा बाल विकासका क्षेत्रमा काम गर्दै आएको जनाएको छ।
संस्थाले युवाको नेतृत्वमा सामाजिक परिचालन, योजना तर्जुमा, सीपमूलक तालिम, नमुना युवा संसद अभ्यास, सामुदायिक संवादलगायतका कार्यक्रम सञ्चालन गर्दै पछाडि पारिएका वर्ग, विपन्न समुदाय र व्यक्तिहरूको सहभागिता बढाउँदै आएको छ।
संस्थाले आफ्ना गतिविधिमा सद्भाव, प्रेम, निष्पक्षता, विपन्न तथा गरिब समुदायप्रतिको सम्मान, सुशासन स्थापना, युवा तथा बाल अधिकार, शान्ति र न्याय, वातावरण संरक्षण, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनलाई प्रमुख मूल्य र मान्यताका रूपमा अघि सारेको छ।
‘हाम्रो शहर’ परियोजनाबाट सिम्तामा काम
४९ लाख ९९ हजार २५५ रहेको छ। बढ्दो शहरीकरण, मर्यादित जीवनयापन र आयआर्जनमा वृद्धि गर्दै सिम्ताको समग्र जीवनशैली तथा व्यवस्थित शहरीकरणमा योगदान पुर्याउने उद्देश्यले परियोजना सञ्चालन गरिएको हो।
परियोजनाअन्तर्गत शहरी योजना तथा संस्थागत सुदृढीकरण, जीविकोपार्जन तथा आर्थिक सशक्तीकरण, जलवायु अनुकूलन, विपद् जोखिम न्यूनीकरण, दिगो शहरी सेवा तथा सहभागिता र सामाजिक समावेशीकरणका क्षेत्रमा काम भइरहेको छ।
ज्ञान सिकाइ तथा पैरवीलगायतका कार्यक्रममार्फत ८५६ जना लाभान्वित भएको संस्थाले जनाएको छ।
दुई पालिकाका घरधुरीको सामाजिक–आर्थिक तथ्यांक संकलन
यूएनडीपीकै साझेदारीमा सञ्चालन गरिएको सूचना व्यवस्थापन प्रणाली परियोजना मार्फत सिम्ता र चौकुने गाउँपालिकाका घरधुरीको सामाजिक तथा आर्थिक अवस्थाको तथ्यांक संकलन गरिएको छ।पालिकाभित्र रहेका घरधुरीको सामाजिक तथा आर्थिक अवस्था, जोखिम तथा आवश्यकतासम्बन्धी सूचना संकलन गरी प्रविधिमैत्री पालिका निर्माणमा सहयोग पुर्याउने उद्देश्यले परियोजना सञ्चालन गरिएको हो।परियोजनाअन्तर्गत सिम्ता र चौकुने गाउँपालिकाको सामाजिक, आर्थिक तथा जोखिम अवस्थाको मापन गर्नुका साथै घरपरिवारको समग्र सूचनालाई डिजिटल प्रणालीमा अद्यावधिक गर्ने काम गरिएको छ। यसले योजना तर्जुमा, स्रोत परिचालन तथा कार्यक्रम कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।सर्वेक्षणका क्रममा चौकुनेमा ४ हजार ७२१ घरधुरी तथा १६ हजार ७५१ जनसंख्या र सिम्तामा ४ हजार ९१३ घरधुरी तथा १० हजार ७४० जनसंख्या गरी जम्मा ९ हजार ६३४ घरधुरी र २७ हजार ४९१ जनसंख्याको विवरण अद्यावधिक गरिएको संस्थाले जनाएको छ।
लैङ्गिक समानताका लागि सामाजिक जवाफदेहितामा जोड
वाईजीजीपीले यूएन–वुमनरपीआरओ–पब्लिकरनिड्स नेपालसँगको साझेदारीमा लैङ्गिक समानताका लागि सामाजिक जवाफदेहिता परियोजना पनि सञ्चालन गरेको छ।
सुर्खेतको चौकुने गाउँपालिका, दैलेखको दुल्लु नगरपालिका र भैरवी गाउँपालिका तथा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा सञ्चालन भइरहेको परियोजनाअन्तर्गत महिला सञ्जाल गठन तथा परिचालन, क्षमता अभिवृद्धि, सामुदायिक संवाद, सार्वजनिक सुनुवाइ तथा सामुदायिक प्रतिवेदनपत्र तयारीजस्ता कार्यक्रम सञ्चालन गरिएको छ।यी कार्यक्रमबाट हालसम्म २ हजार १५० जना लाभान्वित भएको संस्थाले जनाएको छ।
सार्वजनिक सुनुवाइमार्फत सेवा प्रवाहमा जवाफदेहिता
वाईजीजीपीले विभिन्न गाउँपालिका तथा नगरपालिकाको सहकार्यमा सामाजिक जवाफदेहिता अभिवृद्धिका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ।चालु आर्थिक वर्षको वैशाखदेखि असारसम्म सिम्ता गाउँपालिका र गुर्भाकोट नगरपालिकामा सञ्चालित कार्यक्रमका लागि रु। ३ लाख ९० हजार बजेट रहेको थियो।स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवाको गुणस्तर र सेवा प्रवाहमा सुधार, सेवाको नियमितता तथा निरन्तरता, पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्नुका साथै सेवाग्राहीका गुनासा तथा सुझावलाई सम्बोधन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।कार्यक्रमअन्तर्गत १३ वटा स्वास्थ्य संस्थाका ५२० जना सेवा प्रदायक तथा सेवाग्राही लाभान्वित भएको संस्थाका कार्यकारी निर्देशक घनश्याम केसीले जनाकारी दिनुभयो ।
६३ प्रतिशत बजेट खर्च
वाईजीजीपीका अनुसार विभिन्न परियोजना तथा कार्यक्रम सञ्चालनका लागि कुल रु। १ करोड ८२ लाख ३३ हजार ९७५ बजेट रहेकोमा हालसम्म रु। १ करोड १४ लाख ११ हजार ४२६ खर्च भइसकेको छ।यो कुल बजेटको करिब ६३ प्रतिशत हो। बाँकी कार्यक्रम तथा परियोजनाका गतिविधि डिसेम्बर २०२६ भित्र सम्पन्न गर्ने लक्ष्य संस्थाले लिएको जनाएको छ।संस्थाले आगामी दिनमा पनि युवाको क्षमता र नेतृत्व विकाससँगै सुशासन, सामाजिक जवाफदेहिता, सामाजिक समावेशीकरण, वातावरण संरक्षण, जलवायु परिवर्तन, विपद् व्यवस्थापन तथा स्थानीय विकासका सवालमा समुदायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने जनाएको छ।
कार्यक्रम व्यवस्थापक सिजापति सम्मानित
नौौँ वार्षिक साधारण सभाका अवसरमा सुशासनको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै संस्थाका कार्यक्रम व्यवस्थापक खगेन्द्र सिजापतिलाई सम्मान गरिएको छ।संस्थाको उद्देश्यअनुसार सुशासन प्रवर्द्धन, कार्यक्रम कार्यान्वयन तथा सामाजिक जवाफदेहिताका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सिजापतिलाई सम्मान गरिएको हो।
साधारण सभाले संस्थाले विगत नौ वर्षमा हासिल गरेका उपलब्धिको समीक्षा गर्दै आगामी दिनमा युवाको नेतृत्व र सहभागितालाई थप प्रभावकारी बनाउँदै सुशासन तथा सामाजिक रूपान्तरणको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।कार्यक्रम संस्थाका उपाध्यक्ष गोविन्द खत्रीको सञ्चालन गर्नुभएको हो भने संस्थाका अध्यक्ष रिता चन्दको अध्यक्षतामा नौौँ वार्षिक साधारण सभा सम्पन्न भएको हो।

प्रकाशित मिति: २७ भाद्र २०८३, शनिबार १३:३६