कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कोसेली गृह सञ्चालनमा आएको छ।
आज एक कार्यक्रमबिच प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्काले गृहको उद्घाटन गर्नुभएको हो।
वीरेन्द्रनगर ६ हटियालाइनमा रहेको कोसेली गृह प्रदेश सरकारको, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले १ करोड २४ लाख लागतमा निर्माण गरेको हो।
कोसेली गृहमा हाल ९ जनाले रोजगार पाएका छन् भने गृहबाट वार्षिक लाखौँ रकम भाडा बापत रकम प्राप्त गर्ने छ।
कोसेली गृहमा कर्णालीका रैथाने खाद्यान्न, स्थानीय कच्चा पदार्थमा आधारित कपडा लगायत प्राप्त गर्न सकिने छ।
उद्घाटन कार्यक्रममा मन्त्री खड्काले प्राकृतिक स्रोत साधनको प्रयोग गर्दै अर्थतन्त्रमा योगदान पुर्याउने गतिविधिमा प्रदेश सरकार अग्रसर भएको बताउनुभयो।
उहाँले कोशेली गृहजस्ता संरचनाले युवालाई रोजगारीसँग जोड्नुका साथै कर्णालीमा खेर गइरहेका प्राकृतिक स्रोत–साधनको उपयोगमार्फत नागरिकलाई आर्थिक समृद्धितर्फ अघि बढाउन सहयोग पुग्ने बताउनुभयो।
यस्तै कोशेली गृहमा कर्णालीमा उत्पादन भएका तथा स्थानीय कच्चा पदार्थ प्रयोग गरी निर्माण गरिएका वस्तुको प्रदर्शनी तथा बिक्री सुरु गरिएको छ।
हाल यहाँ काष्ठकलाका सामग्री, जडीबुटी, स्थानीय कपडा र खाद्यान्नजन्य उत्पादनलगायत पाँच प्रकारका व्यवसाय सञ्चालनमा रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सुर्खेतले जनाएको छ।
लघु औद्योगिक ग्राम तथा कोशेली गृह सञ्चालक समितिका अध्यक्ष सुमननाथ योगीले कोशेली गृहलाई कर्णालीका स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने महत्वपूर्ण केन्द्रका रूपमा विकास गरिने बताउनुभएको छ।
उहाँले कर्णालीका विभिन्न जिल्लामा उत्पादन हुने स्थानीय तथा मौलिक वस्तुलाई एकै ठाउँमा संकलन गरी उपभोक्तासम्म पुर्याउने उद्देश्यले कोशेली गृह सञ्चालनमा ल्याइएको बताउनुभयो।
अध्यक्ष योगीका अनुसार कोशेली गृहमा स्थानीय कच्चा पदार्थबाट उत्पादित काष्ठकलाका सामग्री, जडीबुटी, स्थानीय कपडा, खाद्यान्नलगायतका वस्तुलाई प्राथमिकता दिइनेछ। यसबाट स्थानीय उत्पादनको बजार विस्तारसँगै उद्यमी तथा युवालाई रोजगारी र स्वरोजगारसँग जोड्न सहयोग पुग्ने उहाँको भनाइ छ।
कर्णालीका उत्पादनलाई स्थानीय बजारमा मात्र सीमित नराखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने गरी आगामी दिनमा काम गर्ने योजना रहेको अध्यक्ष योगीले बताउनुभयो। कोशेली गृहलाई कर्णालीको पहिचान र स्थानीय उत्पादनसँग जोड्दै दिगो रूपमा सञ्चालन गर्ने उहाँको भनाइ छ।
कार्यालय प्रमुख मुकुन्दनाथ योगीले कोशेली गृहको भवन निर्माण २०७९ साल कात्तिकमै सम्पन्न भए पनि सञ्चालनसम्बन्धी नीति निर्माण तथा आवश्यक व्यवस्थापनका कारण सञ्चालनमा आउन केही समय लागेको बताउनुभयो।
उहाँले कोशेली गृहले कर्णालीका स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो।
प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार १६:३७