वीरेन्द्रनगर नगरपालिकाले सेवा प्रवाहलाई थप सरल, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले चालु आर्थिक वर्ष २०८३/०८४ देखि अनलाइन नक्सापास प्रणाली सञ्चालनमा ल्याएको छ।
नयाँ प्रणालीमार्फत सम्पूर्ण प्रक्रिया पूरा गरी नक्सापास सेवा प्राप्त गर्ने पहिलो सेवाग्राही वीरेन्द्रनगर नगरपालिका–३ निवासी सीता रिजाल बस्न्यात बन्नुभएको छ। अनलाइन नक्सापास प्रक्रियाबाट नक्सापास भएको घरको प्रमाणपत्र एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख मोहनमाया ढकालले सेवाग्राहीका प्रतिनिधिलाई हस्तान्तरण गर्नुभयो।
यसअघि नक्सापासका लागि आवश्यक कागजातसहित सेवाग्राही विभिन्न चरणमा कार्यालयमा उपस्थित हुनुपर्ने, कागजी प्रक्रिया लामो र झन्झटिलो हुने तथा महत्वपूर्ण कागजात सुरक्षित राख्न चुनौती हुने गरेको थियो। यी समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले नक्सापास प्रक्रियालाई डिजिटल प्रणालीमा रूपान्तरण गरेको हो।
अनलाइन प्रणालीको प्रयोगसँगै सेवाग्राहीले नक्सापाससम्बन्धी प्रक्रिया सहज, व्यवस्थित र पारदर्शी रूपमा पूरा गर्न सक्ने नगरपालिकाले जनाएको छ। यसबाट कागजी प्रक्रियाबाट हुने अनावश्यक झन्झट घट्नुका साथै महत्वपूर्ण कागजात हराउने, बिग्रिने वा आगलागीजस्ता कारणबाट नष्ट हुने जोखिमसमेत कम हुने अपेक्षा गरिएको छ।
नगरपालिकाले सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको जनाएको छ। अनलाइन नक्सापास प्रणालीको कार्यान्वयनलाई पनि सेवा प्रवाहलाई डिजिटल रूपान्तरण गर्ने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रप्रसाद शर्मा, पूर्वाधार शाखा प्रमुख इन्जिनियर यज्ञ कार्की, भवन तथा विकास उपशाखाका प्रमुख इन्जिनियर किशोर कैँडेललगायत भवन तथा बस्ती विकास उपशाखामा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो।
पहिलो सेवाग्राही सीता रिजाल बस्न्यातका वारिसवाला शुशील रिजालले अनलाइन नक्सापास सेवाबाट आफू पूर्ण रूपमा सन्तुष्ट भएको बताउनुभयो। उहाँले प्रविधिको प्रयोगमार्फत नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने नगरपालिकाको प्रयास सकारात्मक रहेको बताउनुभयो।
नगरपालिकाले आगामी दिनमा पनि सूचना प्रविधिको प्रयोग विस्तार गर्दै सार्वजनिक सेवालाई छिटो, सरल, पारदर्शी र नागरिकमैत्री बनाउने जनाएको छ।
प्रकाशित मिति: ११ भाद्र २०८३, बिहीबार ०७:३०