सुर्खेत — बहिरा विद्यार्थी तथा युवालाई शिक्षा पूरा गरेपछि रोजगारी र स्वरोजगारमा जोड्ने उद्देश्यले नेपाल युवा उद्यमी मञ्च सुर्खेतले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। सिद्ध बहिरा बालकको माध्यमिक विद्यालयका विद्यार्थीहरूसँग गरिएको अन्तरक्रियामा उनीहरूको क्षमता, रुचि र आवश्यकताका आधारमा सीपमूलक तालिम तथा रोजगारीका अवसर सिर्जना गर्ने विषयमा छलफल गरिएको हो।
युरोपियन युनियनअन्तर्गतको कार्यक्रमसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रम सुर्खेतमा पहिलोपटक गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा करिब ५२ जना बहिरा विद्यार्थीको सहभागिता रहेको थियो।
अन्तरक्रियाका क्रममा विद्यार्थीहरूले पढाइपछि आफूहरूलाई रोजगारी तथा स्वरोजगारमा जोडिन विभिन्न सीपमूलक तालिमको आवश्यकता रहेको बताएका थिए। उनीहरूले कपाल काट्ने, कफी बारिस्टा, ब्युटी पार्लर, कम्प्युटर, वेटर तथा कुक, सिकर्मी, फोटो तथा भिडियोग्राफी, आर्ट, बेकरीलगायतका क्षेत्रमा तालिम पाए सहज रूपमा काम गर्न तथा स्वरोजगार बन्न सक्ने इच्छा व्यक्त गरेका थिए।
यसअघि गमला बनाउने तालिम लिएको भए पनि त्यसलाई निरन्तरता दिन नसकेको विद्यार्थीहरूले बताएका थिए। सहभागीहरूले तालिमसँगै त्यसपछि रोजगारी वा व्यवसाय सञ्चालनका लागि आवश्यक सहयोग र अवसरसमेत उपलब्ध गराउनुपर्नेमा जोड दिए।
नेपाल युवा उद्यमी मञ्च सुर्खेतका निवर्तमान अध्यक्ष कमल सुवेदीले बहिरा युवाहरू शारीरिक रूपमा स्वस्थ र सक्षम भए पनि कान सुन्न तथा बोल्न नसक्ने अवस्थाका कारण पढाइपछि के गर्ने भन्ने विषयमा अन्योल रहने गरेको बताउनुभयो। उहाँले उनीहरूको रुचि, क्षमता र आवश्यकता पहिचान गरी सोहीअनुसार सीप तथा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा मञ्चका उपाध्यक्ष तथा क्यान महासंघ सुर्खेतका पूर्वअध्यक्ष तिलक आचार्यले कम्प्युटर, सीसीटीभी तथा इन्टरनेटसम्बन्धी तालिम आवश्यक भए आफूले निःशुल्क प्रशिक्षण दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मञ्चका संस्थापक अध्यक्ष सन्देश रावतले तत्काल रोजगारी उपलब्ध गराउन सक्ने अवस्था नरहे पनि विद्यार्थी तथा युवाहरूमा लगनशीलता, निरन्तरता र मितव्ययिता भए ५ देखि ७ लाख रुपैयाँसम्म लगानी सहयोग गर्न आफू तयार रहेको बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि सुर्खेत उद्योग वाणिज्य संघका उपमहासचिव पूर्णदेव अधिकारीले बहिरा युवाहरू, विशेषगरी महिलाहरूले स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा थप चुनौती भोगिरहेको बताउनुभयो। राज्यले रोजगारीमा समावेशी व्यवस्था र आवश्यक कोटा प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसक्दा बहिरा युवाहरू प्राथमिकतामा पर्न नसकेको उहाँको भनाइ थियो।
उहाँले बहिरा युवाहरूलाई डिजिटल पहुँचमा ल्याउँदै उनीहरूको रुचि र क्षमता पहिचान गरी आवश्यक सीपमूलक तालिम दिनुपर्ने बताउनुभयो। पढेलेखेका बहिरा युवाको क्षमता पहिचान गरी रोजगारीको सुनिश्चितता गर्ने नीति राज्यले बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
“बहिरा युवा तथा बालबालिकालाई दया, माया र करुणाको दृष्टिले होइन, शिक्षा, तालिम र रोजगारी उनीहरूको अधिकारका रूपमा हेर्नुपर्छ,” अधिकारीले भन्नुभयो। यसका लागि आवश्यक कानुन तथा नीति निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो।
नेपाल युवा उद्यमी मञ्च सुर्खेतले महत्वपूर्ण विषय उठान गरेको भन्दै उहाँले धन्यवाद दिँदै बहिरा युवाको रोजगारी र उद्यमशीलताका विषयमा तीनै तहका सरकारसँग प्रभावकारी पैरवी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका अध्यक्ष तथा नेपाल युवा उद्यमी मञ्च सुर्खेतका अध्यक्ष राजेश बरालले यो पहल सुरुवात मात्रै भएको बताउनुभयो। अन्तरक्रियाबाट प्राप्त सुझावका आधारमा बहिरा युवा पुस्तालाई रोजगारी तथा उद्यममा कसरी जोड्न सकिन्छ भन्ने विषयमा मञ्चले सरोकारवाला निकायसँग निरन्तर पहल गर्ने उहाँले बताउनुभयो।
बहिरा युवाका लागि आवश्यक सीपमूलक तालिम, रोजगारी सिर्जना तथा स्वरोजगारका अवसर व्यवस्थापन गर्न नीतिगत तहबाट समेत पहल गरिने अध्यक्ष बरालको भनाइ छ।
कार्यक्रमले बहिरा युवालाई सहानुभूतिको दृष्टिले होइन, अधिकार, क्षमता र अवसरको दृष्टिले रोजगारी तथा उद्यमशीलतामा जोड्नुपर्ने आवश्यकतालाई उजागर गरेको छ।
प्रकाशित मिति: ७ भाद्र २०८३, आईतवार ०८:४२