सुर्खेत, छिन्चु — कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय छिन्चुले ५३ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
मिति २०८३/०४/२६ गते भेरीगंगा नगरपालिका–१०, तल्लो थानिचौरस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो। कार्यक्रममा विद्यार्थी तथा अभिभावकलाई बचत, कर्जा, वित्तीय अनुशासन र वित्तीय सेवाको सही सदुपयोगसम्बन्धी जानकारीसमेत प्रदान गरिएको थियो।
कार्यक्रमको अध्यक्षता कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, अनुगमन कार्यालय वीरेन्द्रनगर, सुर्खेतका अनुगमन अधिकृत मोहन न्यौपानेले गर्नुभएको थियो। कार्यक्रममा भेरीगंगा नगरपालिका–१० का वडा अध्यक्ष वीरबहादुर बस्नेत प्रमुख अतिथि रहनुभएको थियो भने शिक्षक–अभिभावक संघका अध्यक्ष रामबहादुर बि.क., विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्मरबहादुर राना र विद्यालयका प्रधानाध्यापक डिल्लीराम घर्ती विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
त्यस्तै, कार्यक्रममा वीरेन्द्रनगर शाखाका शाखा प्रमुख दीपक भुसाल, शाखा कार्यालय छिन्चुका कर्मचारी, विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष वीरबहादुर बस्नेतले कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय कारोबारमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रमा समेत योगदान पुर्याएको भन्दै प्रशंसा गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले आर्थिक रूपमा विपन्न विद्यार्थीको शिक्षामा निरन्तरता दिन सहयोग पुग्ने बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक डिल्लीराम घर्तीले विद्यालयमा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूको संख्या उल्लेखनीय रहेको बताउँदै संस्थाले शैक्षिक सामग्री उपलब्ध गराएर विद्यार्थीहरूको अध्ययनमा पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यार्थी तथा अभिभावकलाई वित्तीय साक्षरताको महत्वबारे जानकारी दिँदै बचत गर्ने बानी, कर्जाको जिम्मेवार प्रयोग, वित्तीय अनुशासन तथा उपलब्ध वित्तीय सेवाको सदुपयोगका विषयमा समेत सहजीकरण गरिएको थियो।
कार्यक्रमको सञ्चालन कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय छिन्चुका शाखा प्रबन्धक चेतनबहादुर राना क्षेत्रीले गर्नुभएको थियो।
शाखा प्रबन्धक चेतनबहादुर राना क्षेत्रीका अनुसार कार्यक्रमले आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक यात्रामा सहयोग पुर्याउनुका साथै विद्यार्थी तथा अभिभावकमा वित्तीय ज्ञान, सीप र सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।

प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलवार २०:०७