कर्णाली प्रदेशमा युवाहरूको नेतृत्व विकास र नीतिगत सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। सामाजिक विकास मन्त्रालयको आयोजनामा सञ्चालित उक्त चार दिने कार्यक्रमको समापन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले गर्नुभएको हो।
प्रदेशका १० वटै जिल्लाबाट छनोट गरिएका १६ देखि २४ वर्ष उमेर समूहका ४० जना युवाहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा उनीहरूलाई संघीय तथा प्रदेश शासन प्रणाली, संवैधानिक अभ्यास, प्रदेश सभा सञ्चालन प्रक्रिया, ऐन निर्माण विधि, बजेट तर्जुमा, बहस तथा निर्णय प्रक्रिया, साथै नेतृत्व विकास जस्ता महत्वपूर्ण विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
समापन कार्यक्रममा मन्त्री भण्डारीले युवाहरूलाई राष्ट्र निर्माणका महत्वपूर्ण साझेदारका रूपमा अघि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सीमित स्रोतसाधनका बाबजुद पनि कर्णालीको समग्र विकासका लागि सरकार निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै आगामी बजेटमा युवा सशक्तीकरण, सीप विकास र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो।
सामाजिक विकास मन्त्रालयका प्रशासन तथा योजना शाखा प्रमुख देवीप्रसाद पौडेलले युवाको सर्वाङ्गीण विकास बिना समृद्ध कर्णालीको परिकल्पना सम्भव नरहेको उल्लेख गर्दै मन्त्रालयले युवा लक्षित कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो।
गैरसरकारी संस्था महासंघ कर्णालीका अध्यक्ष घनश्याम केसीले युवाहरूलाई भविष्यका कर्णधार मात्र नभई वर्तमानकै सक्रिय साझेदारका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो। त्यसैगरी नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष मधुवन बिसीले नीति निर्माणदेखि कार्यान्वयन तहसम्म युवाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा सहभागी युवाहरूले नमुना प्रदेश सभा अभ्यासमार्फत विधायन प्रक्रिया, संसदमा हुने बहस, निर्णय प्रक्रिया र नेतृत्व भूमिकाबारे प्रत्यक्ष अनुभव हासिल गरेको बताएका छन्। सहभागीहरूले यस्तो अभ्यासले उनीहरूमा लोकतान्त्रिक प्रणालीप्रतिको समझ वृद्धि गर्नुका साथै सार्वजनिक नीति निर्माणमा सहभागिता जनाउने आत्मविश्वास समेत अभिवृद्धि गरेको बताएका छन ।
चार दिनसम्म सञ्चालन भएको अभ्यासमा सहभागी युवाहरूले सभामुख, मन्त्री, प्रतिपक्ष सदस्य लगायतका भूमिका निर्वाह गर्दै नमुना प्रदेश सभा सञ्चालन गरेका थिए। यसले उनीहरूलाई वास्तविक संसदीय अभ्यासको अनुभव दिलाउनुका साथै समन्वय, नेतृत्व र जिम्मेवारी बोध विकासमा समेत टेवा पुर्याएको प्रशिक्षक तथा प्रदेश सभा शाखा अधिकृत राजेन्द्र पौडेलले जानकारी दिनुभयो।
कार्यक्रमले युवाहरूलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी व्यवहारिक सीप र नेतृत्व क्षमता विकासतर्फ उन्मुख गराएको भन्दै सहभागीहरूले यस्ता अभ्यासलाई निरन्तरता दिनुपर्ने माग समेत गरेका छन्।
प्रकाशित मिति: २१ असार २०८३, आईतवार २१:०७