सुर्खेतमा आगामी शनिबार पूर्व राष्ट्रिय खेलाडीहरूबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ग्रीनल्याण्ड फुटबल एकेडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगिता असार २७ गते दिउँसो सञ्चालन गरिने जानकारी दिइएको छ।
शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले “नेपाल लेजेन्ड्स भर्सेस कर्णाली लेजेन्ड्स” बीच प्रतिस्पर्धा हुने जनाएको हो। प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी गणेश थापा, उपेन्द्रमान सिंह, अनिल गुरुङ, बालगोपाल महर्जन, सागर थापा, हरि खड्कालगायत चर्चित खेलाडीहरूको सहभागिता रहनेछ।
ग्रीनल्याण्ड फुटबल एकेडेमीका अध्यक्ष शशि केसीका अनुसार कर्णाली प्रदेशमै पहिलो पटक यति ठूलो स्तरमा पूर्व राष्ट्रिय खेलाडीहरूको सहभागितामा खेल आयोजना गर्न लागिएको हो। कर्णालीमा फुटबलप्रतिको आकर्षण बढाउने, स्थानीय प्रतिभालाई पहिचान गर्ने तथा पूर्व खेलाडीहरूको सम्मान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए।
प्रतियोगितामा कर्णाली प्रदेशका तर्फबाट राष्ट्रिय खेलाडी रोहित चन्दसहित प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्द, नवीन भण्डारी, जनक रावल, जनक थापा, नारायण कोइराला, ऋषि गिरी, ललित बसेललगायत खेलाडी सहभागी हुनेछन्।
उक्त प्रतियोगितामा विभिन्न विधामा पुरस्कारसमेत प्रदान गरिनेछ। जसअनुसार समाजसेवी तथा शिक्षाविद् स्वर्गीय खड्कबहादुर बस्नेतको नाममा “म्यान अफ द म्याच”, शिक्षाविद् स्वर्गीय विष्णुप्रसाद गौतमको नाममा “बेस्ट प्लेयर”, समाजसेवी स्वर्गीय डीबी समरदर्शीको नाममा “बेस्ट गोलकिपर”, शिक्षाप्रेमी समाजसेवी डा. सञ्जु खड्काको नाममा “बेस्ट डिफेन्डर” तथा समाजसेवी स्वर्गीय डा. हरि सापकोटाको नाममा “बेस्ट स्कोरर” पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिताको अनुमानित लागत करिब २५ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ। सो रकम एकेडेमीले व्यवस्थापन गर्ने र कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले केही सहयोग गर्ने आश्वासन दिएको अध्यक्ष केसीले जानकारी दिए। अन्य सरकारी निकायबाट भने उल्लेख्य सहयोग नपाएको उनको भनाइ छ।
खेल हेर्नका लागि २००, ३००, ५०० र १००० रुपैयाँ दरका टिकट व्यवस्था गरिएको छ भने विद्यार्थीहरूलाई निःशुल्क प्रवेश दिइनेछ।
आयोजकका अनुसार यस प्रतियोगिताले कर्णाली प्रदेशमा आगामी राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न थप ऊर्जा र दबाब सिर्जना गर्ने विश्वास लिइएको छ।
प्रकाशित मिति: २० असार २०८३, शनिबार २१:३६