कर्णाली प्रदेश क्रिकेट संघको आयोजनामा आइतबारदेखि ‘कर्णाली कप, २०८३’ टी– २० प्रतियोगिता सुरु हुने भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा हुन लागेको प्रतियोगीतामा कर्णालीका १० जिल्लामध्ये आठ जिल्लाको प्रनिधित्व हुनेछ ।
प्रतियोगितामा मुगु जिल्ला पहिलोपटक सहभागी हुँदै छ । यस्तै सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, रुकुम पश्चिम, सल्यान र जाजरकोटले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
प्रतियोगितापूर्व शनिबार आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य एवं प्रदेश सचिव श्रीधर केसीले प्रदेशस्तरीय टी– २० क्रिकेट प्रतियोगिता १८ असारसम्म सञ्चालन हुने जानकारी दिए ।
‘कालुन्चोक र वीरेन्द्रनगर क्रिकेट मैदानमा दैनिक चारवटा म्याच हुनेछन्,’ उनले भने, ‘आइतबारदेखि सुरु हुने प्रतियोगिता १८ गते सम्पन्न हुन्छ ।’ उनले मुगु जिल्ला पहिलोपटक प्रतियोगितामा सहभागी हुने जानकारी पनि दिए ।सचिव केसीले विजेता टोलीले १ लाख १ हजार नगद पुरस्कार र ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५१ हजार नगद र ट्रफी प्राप्त गर्नेछ ।यस्तै, बेस्ट बलर र बेस्ट ब्याट्समेनले नगद पाँच–पाँच हजार र ट्रफी प्राप्त गर्नेछन् भने प्लेयर अफ दि सिरिज हुनेले १० हजार नगद र ट्रफी प्राप्त गर्नेछ । उनले प्रत्येक खेलको प्लेयर अफ दि म्याच हुने खेलाडीले नगद दुई हजार र ट्रफी प्राप्त गर्नेछन् ।
उनले कर्णालीमा क्रिकेटको पहुँच विस्तार गर्दै हरेक जिल्लामा खेल गतिविधि बनाउन तथा खेलाडीहरू उत्पादन गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।
‘क्रिकेटप्रति पछिल्लो समय आकर्षण बढ्दो क्रममा छ,’ उनले भने, ‘यस्ता प्रतियोगिताले क्रिकेट खेलको गतिविधि बढ्नुका साथै खेलाडी उत्पादन र पहिचानमा पनि सघाउ पुर्याउँछ ।’
प्रकाशित मिति: १३ असार २०८३, शनिबार २२:०३