वीरेन्द्रनगर नगरपालिकाले सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउने लक्ष्यसहित डिजिटल प्रविधिमा महत्वपूर्ण फड्को मारेको छ। नगरपालिकाले इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टम (इबिपिएस) औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
आज एक कार्यक्रमको आयोजनाकाबीच नगरप्रमुख मोहनमाया ढकालले उक्त प्रणालीको उद्घाटन गर्नुभएको हो।कर्णाली प्रदेशमै पहिलो पटक सुरु गरिएको यो सेवा देशभरका सीमित नगरपालिकामध्ये एक रहेको जनाइएको छ। सेवा साउन १ गतेदेखि पूर्णरूपमा लागू हुने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले यससँगै एकीकृत नगरपालिका सूचना प्रणाली (आइयामआइएसI) पनि सञ्चालनमा ल्याएको छ। यी दुवै प्रणालीले वीरेन्द्रनगरलाई डिजिटल सुशासनतर्फ अग्रसर गराउने विश्वास लिइएको छ।
इबिपिएस प्रणालीमार्फत सेवाग्राहीले घर तथा अन्य भवन निर्माण अनुमति लिन आवश्यक सम्पूर्ण प्रक्रिया अनलाइनबाटै पूरा गर्न सकिने भएको छ।
यो प्रणलीमार्फत भवनको नक्सा पेश गर्ने, आवश्यक कागजात अपलोड गर्ने, शुल्क बुझाउने, निवेदनको अवस्था अनलाइनबाटै हेर्ने तथा अन्तिम स्वीकृति प्राप्त गर्ने सुविधा उपलब्ध हुनेछ।
नगर प्रमुख ढकालले डिजिटल प्रविधिको प्रयोगले नगरपालिकाको सेवा प्रणालीमा उल्लेखनीय सुधार ल्याएको बताउनुभयो। उहाँले अब सेवाग्राहीले अनावश्यक रूपमा कार्यालय धाउनुपर्ने अवस्था हट्दै गएको उल्लेख गर्दै प्रविधिको प्रयोगले कामलाई अझ सहज बनाउने विश्वास व्यक्त गर्नुभयो।
नगर प्रमुख ढकालले वीरेन्द्रनगरलाई प्रविधिमैत्री नगर बनाउने अभियान तीव्र रूपमा अघि बढिरहेको बताउँदै पश्चिम नेपालमै उत्कृष्ट नगरपालिका बनाउने लक्ष्यसहित काम भइरहेको जानकारी दिनुभयो।
उहाँले यो प्रणाली लागू भएसँगै सेवाग्राहीले घरमै बसेर आवेदन दिन, प्रक्रिया ट्र्याक गर्न र स्वीकृति लिन सक्ने भएकाले सेवा लिन सहज हुने बताउनुभयो।
कार्यालयमा पटक–पटक धाउनुपर्ने बाध्यता घट्ने, सेवाप्रवाहमा पारदर्शिता बढ्ने तथा समय र लागतको बचत हुने भएको छ।
भवन निर्माण अनुमति प्रक्रियामा हुने ढिलासुस्ती, कागजी झन्झट र अनावश्यक मानवीय हस्तक्षेप पनि कम हुने विश्वास गरिएको छ। नगरपालिकाका प्राविधिक कर्मचारीहरूले प्रणालीमार्फत नक्सा परीक्षण, प्राविधिक मूल्याङ्कन तथा स्वीकृति प्रक्रिया व्यवस्थित रूपमा सञ्चालन गर्न सक्नेछन्। यसले अभिलेख व्यवस्थापनलाई सुरक्षित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
नगरपालिकामा २७ वर्षदेखि कार्यरत इन्जिनियर इश्वर कँडेले इ–बिपिएस प्रणालीलाई सेवा सुधारको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गर्नुभयो। “यति लामो समयसम्म परम्परागत कागजी प्रक्रियामा काम गर्दा ढिलासुस्ती, झन्झट र कहिलेकाहीँ अस्पष्टता देखिन्थ्यो,” उहाँले भन्नुभयो, “तर अब इ–बिपिएस प्रणाली लागू भएसँगै नक्सा पेश गर्ने, परीक्षण गर्ने र स्वीकृति दिने सम्पूर्ण प्रक्रिया डिजिटल र व्यवस्थित हुनेछन्।”
उहाँका अनुसार यस प्रणालीले प्राविधिक कामलाई मात्र सहज बनाउने होइन, गुणस्तरसमेत सुधार गर्नेछ। “अब प्रत्येक नक्सा प्रणालीमै दर्ता हुने भएकाले अभिलेख सुरक्षित रहन्छ, ट्र्याक गर्न सजिलो हुन्छ र जवाफदेहिता पनि बढ्छ,” कँडेले थप्नुभयो, “मानवीय त्रुटि कम हुने, समय बचत हुने र सेवाग्राहीले पनि आफ्नै घरबाट प्रक्रिया हेर्न सक्ने भएकाले यो प्रणाली निकै उपयोगी छ।”
उहाँले प्राविधिक जनशक्तिका लागि समेत यो प्रणाली प्रभावकारी हुने उल्लेख गर्दै भन्नुभयो, “यसले प्राविधिक मूल्याङ्कनलाई मापदण्डअनुसार एकरूपता दिन्छ, जसले निर्णय प्रक्रियालाई अझ पारदर्शी र विश्वसनीय बनाउँछ। आगामी दिनमा यो प्रणालीलाई अझ सुधार गर्दै लैजाने हो भने सेवा प्रवाहमा ठूलो परिवर्तन देख्न सकिन्छ।”
यसैबीच आजदेखी इबिपिएस दक्षता अभिवृद्धि तथा अभिमुखिकरण तालिम समेत शुरु भएको छ। दुइदिन सम्म चल्ले तालिमा नगपालिका कर्मचारीसंगै विभिन्न व्यक्तीहरूको पनि सहभागिता रहेको छ।
प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार १३:०५