सुर्खेत जिल्लाको बराहताल गाउँपालिका, कुनाथरीमा १९औँ गाउँसभा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। २०८३ असार ८ गते बसेको गाउँसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरिएको नीति, कार्यक्रम तथा आय–व्ययको अनुमान (बजेट) व्यापक छलफलसहित पारित गर्दै अधिवेशन समापन गरेको हो।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कुल रु. ६३ करोड ६ लाख ९६ हजार ५० रुपैयाँ बराबरको बजेट विनियोजन गरेको जनाएको छ। उक्त बजेटमा समग्र स्थानीय विकासलाई केन्द्रमा राख्दै कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, रोजगारी प्रवर्द्धन, सेवा प्रवाह सुधार तथा सामाजिक विकास लगायतका क्षेत्रलाई उच्च प्राथमिकता दिइएको उल्लेख गरिएको छ।
गाउँसभामा पेश गरिएको नीति, कार्यक्रम र बजेट समयमै प्रस्तुत भई आवश्यक छलफलपछि सर्वसम्मत रूपमा पारित भएको गाउँपालिकाले जनाएको छ। यससँगै आगामी आर्थिक वर्षका लागि विकास निर्माण तथा सेवा प्रवाहको स्पष्ट मार्गचित्र तय भएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम डिसीले स्थानीय तहको प्रभावकारी सञ्चालनका लागि समयपालन, पारदर्शिता र योजनाबद्ध कार्यान्वयन अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै निर्धारित समयमै नीति तथा बजेट पारित हुनु सकारात्मक उपलब्धि भएको बताउनुभयो। उहाँले गाउँसभाबाट पारित भएका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सेवा र विकास सुनिश्चित गर्न गाउँपालिका प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो।
गाउँसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनसँगै आगामी आर्थिक वर्षमा स्थानीय आवश्यकता र प्राथमिकतामा आधारित विकास निर्माण तथा जनमुखी कार्यक्रमहरू अझ प्रभावकारी ढंगले अघि बढ्ने अपेक्षा गरिएको छ
प्रकाशित मिति: १० असार २०८३, बुधबार २१:०६