वीरेन्द्रनगरमा प्रवाह भइरहेको स्वास्थ्य सेवालाई नागरिकको अपेक्षाअनुसार जनमैत्री बनाउने सामुहिक प्रतिबद्धता गरिएको छ । सरोकारवालाहरुले हाल प्रवाह भइरहेको स्वास्थ्य सेवालाई सुधार गर्ने र सुविधालाई थप गर्नका लागि पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।
हाल नगरपालिकाका १६ वटै वडाबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको छ । जसअन्तर्गत नगर अस्पताल, स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य सेवा केन्द्रमार्फत सेवा प्रवाह भइरहेको छ । स्वास्थ्य संस्थाहरुबाट प्रवाह भइरहेको सेवा र गुणस्तरको बारेमा सम्पन्न भएको सामाजिक परीक्षणमा सहभागि भएका सरोकारवालाहरुले आगामी दिनमा सामुहिक पहलमार्फत स्वास्थ्य सेवालाई जनमैत्री बनाउने प्रतिबद्धता जनाएका हुन् ।
नगरपालिका अन्तर्गतको स्वास्थ्य शाखाको आयोजना तथा सोसियल रिसर्च एण्ड मिडिया सेन्टर सुर्खेतको सहजिकरणमा वीरेन्द्रनगरका विभिन्न १६ वटा स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षण गरिएको थियो । उक्ता सामाजिक परीक्षणमा सहभागि स्थानीय जनप्रतिनिधि, आमा समूह, टोल विकास संस्था, सेवाग्राही र महिला स्वास्थ्य स्यंमसेविका लगायतले सामुहिक प्रयास गरेर स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका हुन् । उनीहरुले हाल प्रवाह भइरहेको सेवालाई थप सुधार गर्ने, भौतिक संरचना, उपकरण र जनशक्तिको व्यवस्थापनका लागि वडामार्फत नगरपालिकामा आग्रह गर्ने प्रतिबद्धता जनाएका हुन् ।
यस्तै नगरपालिकाले हाल महिलाहरुलाई निशुल्क वितरण गरिरहेको सेनेटरी प्याडलाई सहज रुपमा वितरण गर्ने व्यवस्था मिलाउन नगरपालिकामा आग्रह गर्ने, प्याडको प्रयोगपछि त्यसको उचित व्यवस्थापन गर्ने, परिवार नियोजनका अस्थायी साधन र निशुल्क वितरण हुने औषधिलाई निममित उपलब्ध गराउन पहल गर्ने, पोषणमैत्री वडाहरु बनाउनका लागि साझा प्रयास गर्ने, खोप केन्द्रलाई व्यवस्थित बनाउने र स्वास्थ्य संस्थाहरुको सेवालाई प्रविधिमैत्री बनाउनका लागि काम गर्ने उनीहरुको साझा प्रतिबद्धता छ । यस्तै वडा तहमा गर्भवतीका लागि मासिक रुपमा भिडियो एक्सरे सेवा उपलब्ध गराउनका लागि पनि पहल गर्ने उनीहरुले प्रतिबद्धता जनाएका छन् ।
प्रकाशित मिति: ९ असार २०८३, मंगलवार ०७:४८