मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह यही असार ३ गत हुने भएको छ।आज पत्रकार सम्मेलन गरी विश्वविद्यालयको चौथो दीक्षान्त समारोह १८ औँ विश्वविद्यालय सभा र १६ औँ वार्षिकोत्सव एकै दिन आयोजना गर्न लागिएको जानकारी दिइएको छ।
चौथो दीक्षान्त समारोह तथा विश्वविद्यालयसभा–२०८३ को सञ्चार तथा प्रचार–प्रसार उपसमितिका संयोजक डाक्टर विष्णुकुमार खड्काले दीक्षान्त समारोहमा ग्रेस लिस्टमा रहेका १९ सय २८ जना विद्यार्थी दीक्षित हुन लागेको बताउनुभयो।
उहाँले कुल विद्यार्थीमध्ये चार सय ५५ विद्यार्थीहरूले दीक्षान्त समारोहमा सहभागिता जनाउन आवेदन बताउनुभयो।
ग्राजुएट स्कुल अन्तर्गत विभिन्न तहको शैक्षिकोपाधि हासिल गरेका विद्यार्थीहरूलाई दीक्षित गर्नेगरी तय भएको समारोहको अध्यक्षता शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले गर्नुहुने भएको छ।
समारोहमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति शिक्षाविद् केदारभक्त माथेमाको प्रमुख आथित्यता रहने खड्काले जानकारी दिनुभयो।
विश्वविद्यालयका उपकुलपति प्राध्यापक नारायणप्रसाद पौडेलले दीक्षान्त समारोहसँगै आयोजना हुने १८औँ विश्वविद्यालय सभामा चालु आवको आम्दानी र खर्चको जानकारी गराउनुभयो।
विश्वविद्यालयको आगामी आव ०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट स्वीकृतिको प्रस्तावसमेत सभामा प्रस्तुत गरिनेछ।पौडेलले आगामी आवका लागि एक अर्ब ४९ करोड रुपैयाँबराबरको बजेट प्रस्ताव गरिएको बताउनुभयो।
प्रकाशित मिति: १ असार २०८३, सोमबार १८:०५