कर्णाली प्रदेशका पाँच जिल्लामा सञ्चालन गरिएको शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविरबाट ८२५ जना लाभान्वित भएका छन्।
अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र सुर्खेतका अनुसार सुर्खेत, दैलेख, हुम्ला, कालिकोट र मुगु जिल्लाका विभिन्न स्थानीय तहमा यस्तो शिविर सञ्चालन गरिएको हो। विकलाङ्ग मित्र समूह र अपाङ्ग बाल अस्पताल बनेपाको सहयोगमा सञ्चालन गरिएको शिविरले दुर्गम क्षेत्रमा रहेका अपाङ्गता भएका बालबालिका तथा व्यक्तिलाई घर नजिकै सेवा पुर्याएको छ।
शिविरमा ८४३ जना बालबालिकाको परीक्षण तथा पहिचान गरिएको छ। जसमा ४६१ जना केटा र ३६४ जना केटी रहेका छन्। तीमध्ये २०५ जनाले फोलोअप सेवा लिएका छन्, जसमा १३० जना बालक र ७५ जना बालिका छन्। त्यस्तै, ४५० जना नयाँ पहिचान भएका छन्, जसमा २५३ जना बालक र १९७ जना बालिका रहेका छन्।
यसैगरी, १७० जना वयस्कले पनि सेवा लिएका छन्। जसमा ७८ जना पुरुष र ९२ जना महिला रहेका छन्। समग्रमा परीक्षण, परामर्श तथा उपचार सेवा लिनेको संख्या ८२५ पुगेको केन्द्रले जनाएको छ।
शिविरमा ६२९ जनालाई फिजियोथेरापी सेवा प्रदान गरिएको छ भने ८४ जनाको अर्थोपेडिक सहायक सामग्री मापन गरिएको छ। ९२ जनालाई थप उपचारका लागि रिफर गरिएको छ। ८५ जनालाई मनोसामाजिक परामर्श दिइएको छ।
शिविरमा खुट्टा, हात, हड्डी, जोर्नी, स्नायु तथा मेरुदण्डसम्बन्धी समस्या भएका बालबालिकाको विशेष परीक्षण गरिएको थियो। जन्मजात खुट्टाको विकृति, पोलियोका कारण हातखुट्टा नचल्ने समस्या, जोर्नी तथा घुँडाको विकृति, मेरुदण्ड र मांसपेशीसम्बन्धी समस्या भएका बालबालिका लक्षित थिए।
यस क्रममा ह्वीलचेयर, क्रच, स्प्लिन्ट, क्यालिपर, प्लास्टर र मोबिलाइजर जस्ता सहायक सामग्री निःशुल्क वितरण गरिएको थियो। साथै, आवश्यक परेमा थप उपचारका लागि रिफर गर्ने व्यवस्था समेत मिलाइएको थियो।
अपाङ्ग पुनर्स्थापना केन्द्र कर्णालीका प्रमुख होमराज केसीले यस्ता घुम्ती शिविरले दुर्गम क्षेत्रमा रहेका अपाङ्गता भएका नागरिकका लागि निकै प्रभावकारी सावित भएको बताउनुभयो। उहाँले भन्नुभयो, “पहुँच नपुगेका ठाउँमा सेवा पुर्याउनु हाम्रो मुख्य लक्ष्य हो। धेरै बालबालिका र व्यक्तिहरू समयमै उपचार नपाएर समस्या झन् जटिल बनिरहेको अवस्थामा यस्ता शिविरले ठूलो राहत दिएको छ। आगामी दिनमा अझ बढी जिल्लामा सेवा विस्तार गर्ने योजना पनि छ।”
त्यस्तै, शिविरमा संलग्न डाक्टर पारस खकुरेलले प्रारम्भिक चरणमै अपाङ्गता पहिचान गर्न सके उपचार सहज हुने बताउनुभयो। उहाँका अनुसार, “धेरै समस्या सानो अवस्थामै नियन्त्रण गर्न सकिन्छ। समयमै फिजियोथेरापी, सहायक सामग्री र आवश्यक उपचार पाएमा बालबालिकाको जीवनस्तरमा ठूलो सुधार ल्याउन सकिन्छ। अभिभावकहरू सचेत हुनु पनि उत्तिकै जरुरी छ।”
उहाँले थप्नुभयो, “यस्ता घुम्ती शिविरले अस्पतालसम्म आउन नसक्ने दुर्गम भेगका बिरामीलाई प्रत्यक्ष सेवा दिने भएकाले यसको महत्व अझ बढी छ।”
कार्यक्रममा चिकित्सक, फिजियोथेरापिस्ट, सहायक सामग्री प्राविधिक, नर्सिङ स्टाफ, सीबीआर कार्यकर्ता तथा स्थानीय स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।
केन्द्रले यसअघि पनि कर्णालीसहित देशका विभिन्न प्रदेशका नागरिकलाई यस्ता सेवा प्रदान गर्दै आएको जनाएको छ।

प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहीबार ०८:३९