सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा १७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।प्रतियोगितामा जिल्लाभरका झण्डै ८७५ जना विद्यार्थी खेलाडीहरूले विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्ने भएका छन्।
भेरीगंगा नगरपालिका बाहेक सुर्खेतका अन्य ८ वटा पालिकाका विद्यार्थीहरूको प्रतियोगितामा सहभागिता जनाएका छन।प्रतियोगितामा भलिबल, कराते, उसु, कबड्डी, एथलेटिक्सलगायत ६ वटा खेल विधा समावेश गरिएको छ।
प्रतियोगिताको उद्घाटनगर्दे कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल खेलकुद मनोरञ्जनको माध्यम मात्र नभई राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण आधार भएको बताउनुभयो।
मुख्यमन्त्री कँडेलले खेलकुदले अनुशासन, परिश्रम र प्रतिस्पर्धाको भावना विकास गर्ने उल्लेख गर्दै विद्यार्थीहरूलाई खेल क्षेत्रमार्फत भविष्य निर्माण गर्न प्रेरित गर्नुभयो।उहाँले खेलकुदमार्फत समाजमा एकता, भाइचारा र स्वस्थ प्रतिस्पर्धाको भावना विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री घनश्याम भण्डारी ले कर्णाली प्रदेश सरकारले खेलाडीहरूको क्षमता अभिवृद्धि र खेल पूर्वाधार विकासमा निरन्तर लगानी गर्ने बताउनुभयो।
उहाँले राष्ट्रपति रनिङ शिल्डले ग्रामीण क्षेत्रका प्रतिभावान खेलाडीलाई राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्ने धारणा राख्नुभयो।
समारोहलाई सम्बोधन गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले खेलकुद क्षेत्रको विकासले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा बौद्धिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
उहाँले खेलकुदले विद्यार्थीहरूलाई अनुशासित, जिम्मेवार र आत्मनिर्भर बनाउने भन्दै पढाइसँगै खेलकुदलाई पनि समान महत्व दिन आवश्यक रहेको उल्लेख गर्नुभयो।
यस्तै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने महत्वपूर्ण मञ्च भएको बताउँदै आगामी दिनमा खेल पूर्वाधार निर्माण, प्रशिक्षण तथा प्रतियोगितालाई अझ व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उद्घाटन समारोह सांस्कृतिक प्रस्तुति, मार्चपास तथा खेलाडीहरूको आकर्षक प्रदर्शनले उत्साहपूर्ण बनेको थियो।
कार्यक्रममा सुर्खेत जिल्लाका ८ वटा पालिकाका प्रमुख तथा उपप्रमुख, शिक्षक, अभिभावक, स्थानीयवासी र खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार १९:०२