नेपाली कांग्रेसले देशव्यापी रूपमा सुरु गरेको ‘जरा अभियान’ कर्णाली प्रदेशको वीरेन्द्रनगरबाट औपचारिक रूपमा सुरु भएको छ।
पार्टीमा जागरण र रूपान्तरण ल्याउँदै स्थानीय तथा राष्ट्रिय सन्दर्भमा पार्टीको सोच र सन्देश प्रभावकारी रूपमा प्रवाह गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको हो।
वीरेन्द्रनगर नगरपालिका–१० मा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य तिर्थजंग शाही ले क्रियाशील सदस्यता अद्यावधिक गर्दै अभियानको थालनी गर्नुभयो।
केन्द्रीय प्रतिनिधि तथा केन्द्रीय सदस्य नारायणप्रसाद भट्टराईले ‘जरा अभियानले पार्टी संगठनलाई मजबुत बनाउने, कार्यकर्तामा ताजगी ल्याउने र संगठनको जरामा सुदृढता थप्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले अभियानमार्फत राष्ट्रियता, लोकतन्त्र, संघीयता, नागरिक विश्वास र सामाजिक एकतालाई सुदृढ बनाउने लक्ष्य लिइएको बताउनुभयो।
उहाँले प्रत्येक वडामा प्रतिनिधि खटाएर अभियान प्रभावकारी रूपमा सञ्चालन गरिने र क्रियाशील सदस्यतालाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गरिने जानकारी दिनुभयो।
अभियान अन्तर्गत सदस्यता अद्यावधिक प्रक्रिया डिजिटल माध्यमबाट गरिने भएकाले सम्बन्धित व्यक्तिहरू स्वयं वडा कार्यालयमा उपस्थित भएर आफ्नो विवरण अद्यावधिक गर्नुपर्नेछ।
यसैबीच, नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजाने निर्णय गरेको छ।
वैशाख महिनाभित्र सदस्यता नवीकरण तथा अद्यावधिक नगर्ने सदस्यहरूले आगामी १५ औ महाधिवेशनमा भाग लिन पाउने छैनन् ।
अब प्रत्येक क्रियाशील सदस्यले आफ्नै वडा कार्यसमितिमा अनिवार्य रूपमा उपस्थित भएर मात्र सदस्यता अद्यावधिक गर्नुपर्नेछ।
कार्यक्रममा केन्द्रीय सदस्य जानकी सिंह, पूर्व सभापति कमलराज रेग्मी, पार्टी सचिव बालदेव कँडेल, पूर्व क्षेत्रीय सभापति नारायण कोइराला, नेपाल महिला संघ सुर्खेतकी अध्यक्ष पार्वती गिरी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम वडा नम्बर १० का सभापति रविन्द शाही को अध्यक्षतामा सम्पन्न भएको हो।
अब सुर्खेत जिल्लाका ९९ वटै वडामा ‘जरा अभियान’ सञ्चालन गरिने बताइएको छ।
प्रकाशित मिति: १७ बैशाख २०८३, बिहीबार १६:२७