कर्णाली प्रदेश अस्पतालमा तीन दिनसम्म सञ्चालन गरिएको निःशुल्क जलन उपचार शिविरबाट ठूलो संख्यामा बिरामी लाभान्वित भएका छन्। चैत २७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको शिविरमा झण्डै दुई सय जना जलन पीडित बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो।
शिविरमा १९४ जनाको स्वास्थ्य जाँच गरिएकोमा ४८ जनाको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ। एक जना बिरामीको अवस्था जटिल देखिएकाले थप उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर अस्पताल रिफर गरिएको छ।
यसअघि चैत २३ गतेदेखि २६ गतेसम्म कर्णाली प्रदेशका १६ स्थानमा जलनसम्बन्धी बिरामी छनोट शिविर सञ्चालन गरिएको थियो। सुर्खेतसहित रुकुम पश्चिम, जाजरकोट, जुम्ला, कालिकोट, सल्यान र दैलेखका विभिन्न स्थानीय तहमा गरिएको छनोटबाट १८३ जना बिरामी पहिचान गरिएका थिए।
नबिल बैंकको सहकार्य तथा कीर्तिपुर अस्पताल र फेक्ट नेपालको प्राविधिक सहयोगमा कर्णाली प्रदेश अस्पतालले शिविर आयोजना गरेको हो। छनोट भएका बिरामीहरूलाई प्रदेश अस्पतालमा ल्याएर निःशुल्क शल्यक्रिया गरिएको जनाइएको छ।
शिविरमा आएका बिरामीहरूका लागि शल्यक्रियासँगै आवास, खाना तथा औषधि समेत निःशुल्क उपलब्ध गराइएको थियो। साथै शल्यक्रियापछि गरिने घाउ सफाइसम्मको सम्पूर्ण खर्च पनि निःशुल्क गरिएको अस्पतालले जनाएको छ।
कीर्तिपुर अस्पतालका वरिष्ठ चिकित्सक डा. शंकरमान राई र किरण नकर्मीको टोलीले शिविरमा सेवा दिएका थिए। आगोले पोलेका, जन्मजात ओठ तालु चिरिएका, औंला जोडिएका वा बढी भएका तथा विभिन्न चोटपटकका समस्याबाट पीडित बिरामीहरूको उपचार गरिएको थियो।
प्रदेश अस्पतालमा विगत एक वर्षदेखि जलनसम्बन्धी निःशुल्क उपचार सेवा सञ्चालन हुँदै आएको छ। अस्पतालका अनुसार प्रत्येक महिना चारदेखि पाँच जना जलन पीडित बिरामी उपचारका लागि आउने गरेका छन्।