सुर्खेत — बलात्कारपछि हत्या भएकी सुर्खेतकी १६ वर्षीया इनिशा विकका बुवा सुर्खेत आइपुगेका छन् । छोरीको हत्या भएको खबर पाएपछि उनी दुबईबाट भारत हुँदै सुर्खेत आएका हुन् । रोजगारीका लागि दुबईमा रहेका ४० वर्षीय इन्द्रबहादुर विकले छोरीको हत्या योजनाबद्ध रूपमा भएको दाबी गरेका छन्।
‘पार्कबाट घना जंगलतिर लगेर विभिन्न सामान देखाएर फकाई मेरो छोरीको हत्या गरिएको देखिन्छ,’ उनले कान्तिपुरसँग कुरा गर्दै भने, ‘मेरो छोरीले न्याय नपाएसम्म म शव बुझ्दिनँ।’
छोराछोरीलाई राम्रो शिक्षा दिन सकियोस् भनेर आफू वैदेशिक रोजगारीका लागि गएको बताउँदै उनले विद्यालयको पनि लापर्बाही देखिएको आरोप लगाए । घटनामा संलग्न भनिएका युवक र उनका परिवारलाई विद्यालयले पटक-पटक सम्झाएको भन्ने कुरा पछि मात्र आफूहरूले सुनेको उनले बताए ।
‘त्यस्तो कुरा भएको रहेछ भने हामीलाई किन जानकारी गराइएन ? किन लुकाइयो ?,’ उनले प्रश्न गरे, ‘मेरो सपनाको संसार उजाडियो।’
इन्द्रबहादुरका अनुसार उनकी छोरी पढाइमा राम्रो थिइन् र भविष्यमा डाक्टर वा नेपाली सेनाको अधिकृत बन्ने सपना सुनाउँथिन् । ‘छोरीको भविष्य बनाउन म दुबई गएको थिएँ,’ उनले भने, ‘तर यता छोरीको सपना बीच बाटोमै लुटियो ।’
विद्यालयले घटनाबारे अभिभावकलाई समयमै जानकारी नदिएको भन्दै उनले त्यसमा पनि कमजोरी देखिएको बताए। ‘विद्यालयभित्र भएको कुरा हामीबाट लुकाइयो,’ उनले भने ।
प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहीबार १७:३७