समकालीन नेपाली कवितामा आफ्नै मौलिक स्वर स्थापित गरिसकेकी कवयित्री निरञ्जना चन्द ‘निरू’ को नयाँ कवितासंग्रह ‘वनफूलको विद्रोह’ सार्वजनिक गरिएको छ। सुर्खेतको वीरेन्द्रनगरमा सिम्ताली एकता समाजद्वारा आयोजित साहित्यिक कार्यक्रममा कवितासंग्रहको औपचारिक विमोचन तथा गहन कृति विमर्श गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि मप विश्वविद्यालयका पूर्व रजिस्ट्रार महेन्द्रकुमार मल्ल तथा विशिष्ट अतिथि मप विश्वविद्यालयका उपप्राध्यापकद्वय डा. रेशमबहादुर विष्ट र बासुदेव पाण्डेयले संयुक्त रूपमा कृतिको विमोचन गर्नुभएको थियो। विमोचन समारोहमा कवि, समालोचक, साहित्यप्रेमी तथा विद्यार्थी पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विमोचनपश्चात् आफ्नो मन्तव्य राख्दै पूर्व रजिस्ट्रार मल्लले कवयित्री चन्दको लेखनशैली समकालीन समाजका यथार्थलाई गहिरो संवेदनासहित अभिव्यक्त गर्ने सामर्थ्य राख्ने उल्लेख गर्नुभयो। उहाँका अनुसार ‘वनफूलको विद्रोह’ शीर्षकले नै प्रकृति–प्रतीकमार्फत स्वतन्त्रताको आकांक्षा, अस्तित्वको खोज, विद्रोही चेतना र सामाजिक न्यायको आवाजलाई सशक्त काव्यिक भाषामा उठान गरेको छ। कवितामा भावनात्मक गहिराइसँगै सामाजिक सन्देशको स्पष्टता देखिने उहाँको भनाइ थियो।
कार्यक्रममा समालोचक डा. रेशमबहादुर विष्टले कवि चन्दका कविताहरू जीवनका उतार–चढाव, पीडा, आशा र संघर्षका विविध आयामसँग गाँसिएको बताउनुभयो। उहाँले कवितामा रहेको मानवीय संवेदना, सामाजिक यथार्थ र समयसापेक्ष चेतनाले पाठकलाई गहिरो सोचतर्फ डोर्याउने उल्लेख गर्नुभयो।
त्यसैगरी समालोचक बासुदेव पाण्डेयले ‘वनफूलको विद्रोह’ लाई समकालीन नेपाली कविताको सशक्त कृति भन्दै यसमा प्रकृति, समाज र मान्छेको अन्तरसम्बन्धलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको धारणा राख्नुभयो। उहाँका अनुसार कवयित्री चन्दका कवितामा सरल भाषा भए पनि भाव र विचार गहिरा छन्, जसले पाठकको मनमा दीर्घकालीन प्रभाव पार्दछ।
कार्यक्रममा मप विश्वविद्यालयका प्राध्यापक डा. विष्णुबहादुर खड्काले पनि कवितासंग्रहबारे मन्तव्य राख्दै ‘वनफूलको विद्रोह’ ले प्रकृति–प्रतीकको माध्यमबाट दबिएका आवाज, विद्रोहको चेतना र सामाजिक न्यायको खोजलाई काव्यात्मक सौन्दर्यसहित प्रस्तुत गरेको बताउनुभयो। उहाँले यस कृतिले समकालीन समाजका विसङ्गतिहरूमाथि प्रश्न उठाएको उल्लेख गर्नुभयो।
समारोहमा कवयित्री निरञ्जना चन्द ‘निरू’ ले आफ्नो कविता लेखन यात्राबारे भावुक रूपमा प्रकाश पार्दै कविता लेखन आफ्ना लागि जीवनका अनुभूति, संघर्ष र संवेदनालाई अभिव्यक्त गर्ने माध्यम भएको बताउनुभयो। उहाँले कृतिको विमोचनमा उपस्थित सबै अग्रज साहित्यकार, समालोचक तथा शुभेच्छुकप्रति सुझाव, सल्लाह र निरन्तर साथका लागि आभार व्यक्त गर्नुभयो।
कवि निरू सिम्ता–साहुखोला (सुर्खेत) जन्मस्थल र बर्दिया कर्मथलो भएकी सक्रिय तथा चर्चित समकालीन कवयित्रीका रूपमा परिचित हुनुहुन्छ। यसअघि उहाँका ‘साइनो’ (२०७६) र ‘निरूको निरूपण’ (२०७७) नामक कवितासंग्रह प्रकाशित भइसकेका छन्। विभिन्न राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकामा प्रकाशित फुटकर कवितामार्फत उहाँले नेपाली साहित्यमा आफ्नो पहिचान मजबुत बनाइसक्नुभएको छ।
सिम्ताली एकता समाजका अध्यक्ष ध्रुव सिंहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका साहित्यकार, बुद्धिजीवी, सामाजिक अभियन्ता तथा विद्यार्थी पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रकाशित मिति: १९ पुष २०८२, शनिबार १६:३९