काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मौसम बदली भएको छ । हिजो र अस्ति दिनभर पारिलो घाम लागेको काठमाण्डौको आकाशमा आज बिहानैदेखि बादल लागेको छ । दिउँसो पनि बादल लाग्ने र हिजोजस्तो पारिलो घाम लाग्ने सम्भावना कम रहेको मौसमविदले बताएका छन् ।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले धेरै ठाउँमा मौसम बदली हुनुका साथै तराईका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
पछिल्लो एक हप्तायता तराईका धेरै ठाउँमा हुस्सु र कुहिरोले जनजीवनक कष्टकर बन्दै आएको छ । दिउँसो अबेरसम्म घाम नलाग्दा स्थानीयबासिन्दालाई घरबाहिर निस्कन समेत समस्या छ । सरकारले शीतलहर घोषणा नगरेको भए पनि तराई मधेशका धेरै ठाउँमा शीतसहितको हावा चलिरहेको स्थानीय बासिन्दा बताउँछन् ।
मौसम पूर्वानुमान् महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई क्षेत्रमा दिउँसोसम्म हुस्सु लाग्ने गरेको छ । पूर्वी तराईमा दिउँसो मौसम केही खुले पनि पारिलो घाम भने लागेको छैन । हुस्सु कुहिरोका कारण जनजीवन प्रभावित हुन थालेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।
प्राधिकरणले आवश्यक परेमा पालिकासँग समन्वय गरी संकटासन्न समुदायका घरपरिवारलाई न्यानो लत्ताकपडा र न्यानो गराउने उपकरण तथा सामग्री वितरण गर्न आग्रह गरेको छ । शीतलहरबाट बच्ने उपायबारे सम्बन्धित पालिकासँगको समन्वयमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न तथा विपन्न समुदायका व्यक्तिलाई आवश्यक परेको खण्डमा न्यानो हुने गरी सार्वजनिक भवन, मठ मन्दिर, घर लगायतमा राख्ने व्यवस्था मिलाउन प्राधिकरणको अपिल छ ।
प्रकाशित मिति: १० पुष २०८२, बिहीबार ०८:२०