जिल्ला सहकारी संघ सुर्खेतको १५औँ वार्षिक साधारणसभा वीरेन्द्रनगरमा सम्पन्न भएको छ।साधारणसभामा संघका सचिव प्रेमकुमार बी.सी.ले आर्थिक वर्ष २०८१/०८२ प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो।
प्रतिवेदनमा सहकारी शिक्षा सहजीकरण, उद्यमशीलता विकास परामर्श, वार्षिक नीति तथा कार्यक्रम निर्माण, सहकारी दिवसहरू मनाउने, सहकारी संस्थाबीच समन्वयात्मक गोष्ठी, समस्या समाधानका लागि वकालत तथा पहल, आन्तरिक लेखापरीक्षण सहजीकरण, २०० मे.टन क्षमताको शीत भण्डार सञ्चालन प्रक्रियालगायतका क्षेत्रमा उल्लेखनीय प्रगति भएको उल्लेख गरिएको छ।
हाल जिल्ला सहकारी संघ सुर्खेतमा ५०३ वटा सहकारी संस्था आबद्ध रहेका छन्।संघले सबै स्थानीय तहमा सहकारी संस्थाको क्षमता विकासका लागि निरन्तर पहल गरिरहेको जनाइएको छ।
साधारणसभाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विभिन्न नीति तथा कार्यक्रमहरू पनि प्रस्ताव गरेको छ।कार्यक्रममा संघका कोषाध्यक्ष बलबहादुर नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/०८२ मा संघले नाफा आर्जन गरेको जानकारी दिनुभयो।संघले ४२ लाख ८७ सय हजार कारोबार गरेको बताउनुभयो।
यस्तै कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हरिहरनाथ योगीले सहकारीहरू अब बचत र ऋणमा मात्रै सीमित नरही उत्पादन, प्रशोधन र बजारसम्म जोडिने व्यवसायिक सहकारी बन्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
उहाँले सहकारी अभियानको दिगोपनका लागि पारदर्शिता, अनुशासन र सदस्यकेन्द्रित सोच अपरिहार्य रहेको उल्लेख गर्दै सहकारीले स्थानीय स्रोत र सीपको उपयोग गर्दै रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने बताउनुभयो।
त्यसैगरी जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष प्रकाशकुमार तिमिल्सेनाले सहकारीहरूलाई संस्थागत रूपमा सबल र व्यवसायिक बनाउने दिशामा संघ निरन्तर क्रियाशील रहेको बताउनुभयो।
उहाँले सहकारीहरूलाई बचत सङ्कलनमा मात्र सीमित नराखी उत्पादनमूलक र आम्दानीमुखी कार्यक्रमतर्फ उन्मुख गराउन संघले तालिम, परामर्श र समन्वयका माध्यमबाट सहयोग गर्दै आएको उल्लेख गर्नुभयो।
उहाँले सहकारी अभियानप्रति आम नागरिकको विश्वास अभिवृद्धि गर्न सबै सहकारी संस्थाले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
संघका अध्यक्ष प्रकाशकुमार तिमिल्सेनाको अध्यक्षतामा सम्पन्न साधारणसभाको प्रमुख अतिथिमा राष्ट्रिय सहकारी महासंघ लि. नेपालका सञ्चालक हरिहरनाथ योगी रहनु भएको थियो।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पुर्व सञ्चालक पदम दाहाल, कृषि सहकारी संघ लि. सुर्खेतका अध्यक्ष शंकरबहादुर अधिकारी, बचत तथा ऋण सहकारी संघका सचिव क्षेत्रकुमार गौतम, बहुउद्देश्यीय सहकारी संघका सञ्चालक प्रकाशचन्द थापालगायत जिल्लाभरका सहकारी संस्थाबाट १५४ जनाको सहभागिता रहेको थियो।

प्रकाशित मिति: ४ पुष २०८२, शुक्रबार २०:१३