यातायात कार्यालय सुर्खेतले नेपालमै पहिलो पटक सवारी चालक अनुमतिपत्रको परीक्षा बायोमेट्रिक पहिचानमार्फत सञ्चालन सुरु गरेको छ। परीक्षालाई पारदर्शी, सुरक्षित र विश्वासिलो बनाउन आजदेखि परीक्षार्थीहरूको बायोमेट्रिक पहिचानमार्फत प्रवेश नियमन त्द्यःक् प्रणाली लागू गरिएको कार्यालयले जनाएको छ।
नयाँ प्रणालीले नक्कली परीक्षार्थी प्रवेश रोक्नुका साथै लिखित र प्रयोगात्मक दुवै परीक्षालाई पूर्ण रूपमा व्यवस्थित बनाउने भएको छ।
कार्यालय प्रमुख मुकुन्दनाथ योगीका अनुसार अबको परीक्षा पूर्ण रूपमा बायोमेट्रिक प्रणालीबाट हुनेछ। नक्कली परीक्षार्थी प्रवेश गर्ने सम्भावना अन्त्य भएको छ। सेवाग्राहीलाई छिटो, सरल र निस्पक्ष सेवा दिने हाम्रो लक्ष्य यो प्रविधिले पूरा गरिदिन्छ।”
नयाँ प्रविधिबाट मोटरसाइकल र स्कुटी चालकका लागि बायोमेट्रिक पहिचानसहित लिखित परीक्षा सञ्चालन गरिएको छ। पहिलो दिनमै १२८ परीक्षार्थीले लिखित परीक्षा दिएको कार्यालयले जनाएको छ। लिखितमा उत्तीर्ण हुने सबैलाई क्रमैसँग प्रयोगात्मक परीक्षा लिइनेछ।
नियामक निकायको अवरोधका कारण झन्डै डेढ वर्षदेखि रोकिएको लाइसेन्स सेवा, अहिले नयाँ प्रविधि लागू भएपछि सहज र नियमित रूपमा सञ्चालनमा आएको कार्यालयले जनाएको छ। अब साप्ताहिक रूपमा फरक–फरक वर्गका लागि बायोमेट्रिक पहिचानमार्फत परीक्षा सञ्चालन गरिनेछ।
यो प्रविधि सुर्खेतको बिजनेस अनलाइनले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क सहयोगका रूपमा उपलब्ध गराएको हो।
बिजनेस अनलाइनका सञ्चालक पवन पौडेलले “सामाजिक उत्तरदायित्वअन्तर्गत हामीले सुर्खेतको यातायात कार्यालयलाई यो प्रविधि निःशुल्क उपलब्ध गराएका हौं। बायोमेट्रिक प्रणाली लागू भएपछि अब लिखित र प्रयोगात्मक दुवै परीक्षामा अनियमितता हुने सम्भावना शून्य हुनेछ। सेवाग्राहीले पारदर्शी र भरपर्दो सेवा पाउनेछन्।”
बायोमेट्रिक प्रविधिबाट अब लिखित तथा प्रयोगात्मक दुवै परीक्षामा परीक्षार्थीको पहिचान १०० प्रतिशत पुष्टि हुने भएकाले अनियमितता, नक्कली परीक्षार्थी र अन्य गम्भीर त्रुटि पूर्ण रूपमा हट्ने विश्वास कार्यालयले व्यक्त गरेको छ।
दैनिक करिब २ सय सेवाग्राही सेवा लिने यातायात कार्यालय सुर्खेतले नयाँ प्रणाली लागू भएपछि सेवा अझ छिटो, सहज र भरोसायोग्य बनेको जनाएको छ।

प्रकाशित मिति: १७ मंसिर २०८२, मंगलवार १७:३१