सुर्खेत, २०८२ मंसिर १४ ।लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा मानव बेचबिखनविरुद्ध विद्यालय स्तरीय अभिमुखीकरण कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भएको छ।
ECPAT Luxemburg को साझेदारीमा शक्ति समूहले सञ्चालन गरेको मुक्ति दक्षिण एसिया परियोजना अन्तर्गत वीरेन्द्रनगर नगरपालिका–८ स्थित श्री सिद्ध बहिरा बालक विद्यालयमा आज (मंसिर १४ गते) अभिमुखीकरण कार्यक्रम गरिएको हो। सो परियोजनामार्फत मानव बेचबिखन प्रभावितहरूको उद्धार, स्वदेश फिर्ती तथा पुनर्मिलनको काम सहित सुर्खेतको वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकामा कार्यक्रम सञ्चालन हुँदै आएको छ।
शक्ति समूहको आयोजनामा तथा Birendranagar Anti-Human Trafficking Club को सहकार्यमा गरिएको उक्त अभिमुखीकरणमा कक्षा ८, ९ र १० का विद्यार्थीहरू साथै शिक्षक–शिक्षिकाहरूको सहभागिता रहेको थियो।
मानव बेचबिखन कसरी हुन सक्छ, त्यस्तो जोखिमबाट आफूलाई र अरूलाई कसरी जोगाउन सकिन्छ भन्नेबारे सहभागीहरूलाई जानकारी गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको शक्ति समूहले जनाएको छ।
अभिमुखीकरणमार्फत मानव बेचबिखनका प्रकारहरू, शंकास्पद प्रलोभन र प्रस्ताव पहिचान गर्ने तरिका, सामाजिक सञ्चार माध्यम तथा वैदेशिक रोजगारीसँग जोडिएका जोखिम, शंकास्पद घटना देखेपछि जानकारी दिनुपर्ने निकाय र सहयोग प्राप्त गर्न सकिने स्रोतबारे जानकारी गराइएको थियो।
कार्यक्रमका प्रशिक्षकहरूले उदाहरणसहित सचेतना अभिवृद्धि गर्ने प्रयास गरेका थिए भने विद्यार्थीहरूले जिज्ञासामूलक प्रश्न राख्दै कार्यक्रमलाई अन्तरक्रियात्मक बनाएको विद्यालयले जनाएको छ।
शक्ति समूहका प्रतिनिधिहरूका अनुसार विद्यालयस्तरमै गरिएको यस्ता अभिमुखीकरण कार्यक्रमले बालबालिका र किशोर–किशोरीहरूलाई मानव बेचबिखनजस्तो गम्भीर अपराधबाट जोगिन तथा समुदायमा पनि सचेतना फैलाउन सहयोग पुर्याउने विश्वास लिइएको छ।

प्रकाशित मिति: १६ मंसिर २०८२, सोमबार ०८:०३