जनमुखी कृषि तथा पशुपालन सहकारी संस्था लि। वीरेन्द्रनगर सुर्खेतले आफ्नो १४औं वार्षिक साधारणसभा उत्साहपूर्वक सम्पन्न गरेको छ । सहकारीले गत आर्थिक वर्षमा कुल कारोबार १० करोड ४९ लाख ४६ हजार २ सय ४० रुपैयाँ पुगेको जानकारी दिएको छ ।साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीले आगामी आर्थिक वर्षमा १२ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ । सहकारीकी कोषाध्यक्ष गौरी दाहालले संस्थाको वित्तीय विवरण प्रस्तुत गर्दै आगामी वर्ष संस्थाको कारोबार १२ करोड ३० लाख ८६ हजार ९ सय १३ रुपैयाँ पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।
सहकारीको हालको शेयर पुँजी १ करोड ८ लाख १६ हजार ४ सय रुपैयाँ रहेको छ भने आगामी वर्षसम्म १ करोड २५ लाख रुपैयाँ पुर्याउने योजना बनाइएको छ । गत वर्ष सहकारीले १ करोड ४२ लाख ९४ हजार ८ सय ९५ रुपैयाँ आम्दानी गरेकोमा आगामी वर्ष यो रकम १ करोड ५१ लाख १५ हजार ९ सय ८६ रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ ।
हाल सहकारीका तीनवटा कार्यक्षेत्र — वीरेन्द्रनगर, भेरीगंगा र लेकवेशी नगरपालिका रहेका छन् । हाल २ हजार सदस्य रहेकोमा आगामी वर्षसम्म १२२२ जना थप गरी कुल २६५९ जना पुर्याउने योजना रहेको कोषाध्यक्ष दाहालले बताउनुभयो ।
सहकारीका सचिव कृष्णकुमार बुढाक्षेत्रीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत वर्ष मृत्यु भएका दुई जना शेयर सदस्यका परिवार, ११ जना सुत्केरी सदस्य, र बिरामी सदस्यका परिवारलाई उपचार खर्चसहित जम्मा ८१ हजार ५ सय रुपैयाँ राहत वितरण गरिएको जानकारी दिनुभयो ।
प्रतिवेदनमा सहकारीले सदस्यहरूका लागि सीपमूलक तालिम, कृषि तथा पशुपालन प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गरी उद्यमी सदस्य तयार गरेको उल्लेख छ ।
सहकारीका अध्यक्ष मधुवन विसीले सहकारीका मूल्य–मान्यताअनुरूप काम गर्दै सदस्यहरूको आर्थिक पाटोलाई सुदृढ बनाउने, किसानलाई आत्मनिर्भर र सशक्त बनाउने प्रतिवद्धता जनाउनुभयो । उहाँले कृषि तथा पशुपालन क्षेत्रमा सहकारीमार्फत सीपमूलक तालिम, बिऊ, मल, कृषि कर्जा र प्रविधि उपलब्ध गराई किसानलाई आत्मनिर्भर बनाउने काम भइरहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिका–१० का वडा अध्यक्ष डिलबहादुर रखालले सहकारी संस्थाहरूले मूल्य मान्यता अनुसार काम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले जनमुखी सहकारीले किसानलाई व्यवसायिक बनाउन उल्लेखनीय योगदान दिएको बताउँदै आगामी दिनमा अझ सकारात्मक र प्रभावकारी काम गर्न सुझाव दिनुभयो।
जिल्ला सहकारी संघ सुर्खेतका व्यवस्थापक ढाकाराम न्यौपानेले सहकारीहरू अब व्यवसायमुखी र नाफामुखी भन्दा पनि उत्पादनमुखी ढंगले अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सहकारीहरूले सदस्यहरूको जीवनस्तर उकास्नका लागि कृषि, पशुपालन र उद्यमशीलतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय कृषक महासंघ कर्णालीका अध्यक्ष सन्तबहादुर केसीले सहकारीमार्फत किसानलाई प्रविधि, तालिम र बजार पहुँचमा जोड्न सकिए कृषिमा क्रान्ति ल्याउन सकिने बताउनुभयो ।
त्यसैगरी संस्थाका सल्लाहकार बिन्दुर चौधरीले जनमुखी सहकारीले आत्मनिर्भर किसान तयार पार्न थालेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ सुर्खेतका निवर्तमान अध्यक्ष ललित बसेलले सहकारी संस्थाहरूले आफ्नो कारोबारसँगै सामाजिक उत्तरदायित्वलाई पनि जोड्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा सहकारीका तर्फबाट कृषक, कर्मचारी, सञ्चालक तथा उत्कृष्ट सदस्यहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । सहकारीको भवन निर्माण, पुँजी बृद्धि, अन्य सहकारीहरूसँग एकीकरण, र कृषि उद्यम विस्तार गर्ने योजना पनि सार्वजनिक गरिएको थियो ।
साधारणसभा जिल्ला समन्वय समितिको हलमा सम्पन्न भएको हो, जहाँ सहकारीसँग सम्बन्धित व्यक्तिहरू, कृषक, सञ्चालक तथा
शुभेच्छुकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २६ कार्तिक २०८२, मंगलवार २०:३२