गुर्भाकोट नगरपालिका–१३, गुमीस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय नयाँ गाउँको बिहान अहिले पहिलेभन्दा फरक छ। विद्यालयको आँगनमा मुस्कुराउँदै प्रवेश गर्ने विद्यार्थीहरूको अनुहारमा खुशी झल्किन्छ। विशेषगरी शारीरिक अपाङ्गता भएका १७ जना बालबालिकाको सहजता र आत्मविश्वास अहिले विद्यालयकै गौरव बनेको छ।
यी बालबालिकाका लागि विद्यालयमै अत्याधुनिक अपाङ्गतामैत्री शौचालय निर्माण भएपछि शिक्षाको बाटो अझ सहज र सम्मानजनक बनेको हो। फेल्म नेपालको आर्थिक सहयोग, गुर्भाकोट नगरपालिकाको समन्वय र परिलक्षित संस्थाको शैक्षिक सहयोग कार्यक्रम अन्तर्गत करिब सात लाख रुपैयाँ लागतमा तीन कोठे शौचालय निर्माण गरिएको छ।यो शौचालयमा ह्विलचेयर प्रवेशका लागि फराकिलो ढोका, ह्यान्ड रेल र सुरक्षित फर्श जस्ता आवश्यक सुविधा समावेश छन्।
शौचालय हस्तान्तरण कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिहरूको बाक्लो सहभागिता थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हर्कबहादुर बढा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशसिंह ठकुरी, वडा अध्यक्ष मधु गुरुङ र परिलक्षित संस्थाका प्रतिनिधिहरूले संयुक्त रूपमा भने अब विद्यालय सबैका लागि समान र सुलभ बनेको छ। प्रधानाध्यापक बढाले भने,विद्यालयमा अध्ययनरत १७ जना अपाङ्गता भएका बालबालिकालाई सहज बनाउन यो शौचालय महत्वपूर्ण उपलब्धि हो। अब बसोबासको समस्या मात्रै बाँकी छ, यदि विद्यालय परिसरमै एउटा सानो छात्रावास बनेमा उनीहरूलाई अझ सहज हुने थियो।
सशक्तीकरणका थप पहल
शौचालय निर्माणका साथै परिलक्षित संस्थाले गुर्भाकोट क्षेत्रमा अपाङ्गता भएका बालबालिकाको सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।कार्यक्रम संयोजक राजु लामिछानेका अनुसार,हामीले शिक्षा, आत्मनिर्भरता र सामाजिक सशक्तीकरणका क्षेत्रमा समग्र दृष्टिकोणबाट काम गरिरहेका छौं। गुर्भाकोट हाम्रो प्रमुख कार्यक्षेत्र बनेको छ।”संस्थाले पाँच जना अपाङ्गता भएका विद्यार्थीलाई स्नातक र स्नातकोत्तर तहका लागि छात्रवृत्ति उपलब्ध गराएको छ।
त्यस्तै विद्यालयका अपाङ्गता भएका बालबालिकालाई पोषणयुक्त खाना सहयोग गरिएको छ, जसका कारण विद्यालय छोड्ने दरमा उल्लेख्य कमी आएको छ।अन्य कार्यक्रम अन्तर्गत तीन जनालाई कार्यगत सिकाइ तालिम, पाँच जनालाई बाख्रा तथा बंगुर पालन सहयोग, दुई जनालाई तरकारी खेती सम्बन्धी तालिम र सामग्री हस्तान्तरण गरिएको छ।बाल संरक्षण नीति सम्बन्धी जनचेतनामूलक तालिममा आठ जना विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समितिका सदस्य सहभागी भएका छन्।
संस्थाले एक अपाङ्गता भएकी किशोरी र उनको परिवारलाई किराना पसल सञ्चालनका लागि सहयोग गरेको छ, जसले अब उनीहरूलाई आत्मनिर्भर जीवनमा अघि बढ्न उत्प्रेरित गरेको छ।
स्थानीय सरकारको समर्थन र नीतिगत दृष्टिकोण
गुर्भाकोट नगरपालिकाकी उप–प्रमुख मैना विकले स्थलगत अवलोकनका क्रममा भनिन्,परिलक्षित संस्थाले सरकारका अपाङ्गता सम्बन्धी कामलाई बल पुर्याएको छ। यस्ता प्रयासहरूले नगरमा समावेशीताको भावना थप बलियो बनाएको छ।उनका अनुसार नगरपालिका अहिले पाँच वर्षे अपाङ्गता रणनीति तयार गर्दैछ, जसअन्तर्गत सबै प्रकारका अपाङ्गताको अवस्था नक्साङ्कन गरिनेछ। विकले रणनीति तयार भएपछि आवश्यकता र प्राथमिकताका आधारमा कार्यक्रम तय गरिने बताइन । यस वर्ष मात्रै नगरपालिकाले अपाङ्गताका क्षेत्रमा १० लाख रुपैयाँको बजेट छुट्याएको छ।त्यस्तै, नगरपालिकाले परिलक्षित संस्था र फेल्म नेपालले चार वर्षको अवधिमा अपाङ्गता क्षेत्रमा गरेका योगदानको प्रशंसा गर्दै दुवै संस्थालाई सम्मानपत्र प्रदान गरेको छ।नगरपालिकाले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य र सशक्तीकरणका क्षेत्रमा निरन्तर सहकार्यको अपेक्षा राखेको जनाएको छ।
समावेशी शिक्षातर्फको ठोस कदम
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशसिंह ठकुरी भन्छन्,अपाङ्गतामैत्री शौचालय निर्माणले विद्यालयलाई समावेशी शिक्षाको नमुना बनाएको छ। शिक्षा सबैका लागि बराबर हुनुपर्छ भन्ने हाम्रो लक्ष्यमा यो ठोस उपलब्धि हो।वडा अध्यक्ष मधु गुरुङका अनुसार,विद्यालयलाई अपाङ्गता अनुकूल बनाउने कामले गाउँकै चेतनामा परिवर्तन ल्याएको छ। अब अन्य विद्यालयहरूले पनि यस्ता प्रयासहरूलाई अनुकरण गर्नुपर्छ।शिक्षकहरूको भनाइमा, अभिभावकहरूको सोच पनि बद्लिएको छ।अब अभिभावकहरू आफ्ना अपाङ्गता भएका बालबालिकालाई विद्यालय पठाउन हिचकिचाउँदैनन्।
सीप, स्वास्थ्य र आत्मनिर्भरता जोड
परिलक्षित संस्थाका फिल्ड संयोजक राजु लामिछानेका अनुसार, संस्थाले शिक्षा, सीप र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन योगदान पुर्याइरहेको छ।कार्यक्रमहरू स्थानीय सरकारसँगको समन्वयमा सञ्चालन भएकाले कार्यान्वयन पारदर्शी र परिणाममुखी बनेका छन्। लेखा परिक्षक कृष्ण बस्नेत बस्लौलले सामाजिक परिक्षणपछि कार्यक्रमहरू पारदर्शी र प्रभावकारी रहेको निष्कर्ष निकालिएको बताए।संस्थाका कार्यकारी निर्देशक सूर्य थापाका अनुसार,हाम्रो संस्थाबाट अहिलेसम्म करिब साढे चार सयभन्दा बढी लाभग्राहीहरूले शैक्षिक सहयोग पाएर सरकारी सेवामा प्रवेश गर्न सफल भएका छन्, र पाँच सयभन्दा बढी व्यक्तिहरू आत्मरोजगारीमार्फत आर्थिक रूपमा आत्मनिर्भर बन्न सकेका छन्।”
साझेदारी र समन्वय स् सफलताको मूल सूत्र
फेल्म नेपालका प्रतिनिधि प्रदीप तिवारीका अनुसार,परिलक्षित संस्थासँगको सहकार्यले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास र समावेशी समाज निर्माणमा प्रेरक भूमिका खेलेको छ। गुर्भाकोट नगरपालिकासँग सहकार्य गर्दै शिक्षा र सीप विकासका कार्यक्रमहरूलाई बलियो बनाइएको छ, जसले अपाङ्गता भएका नागरिकलाई आत्मनिर्भर र आत्मसम्मानित जीवनतर्फ अघि बढ्न सहयोग पुर्याएको छ।”गुर्भाकोट नगरपालिकाले पनि परियोजनाको सफल कार्यान्वयनका लागि फेल्म नेपाल र परिलक्षित संस्थाको प्रशंसा गर्दै निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।शैक्षिक सहयोग परियोजनाले गुर्भाकोटका अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याएको छ।यसले शिक्षा, सीप र स्वास्थ्यमार्फत उनीहरूलाई आत्मनिर्भर जीवनतर्फ अघि बढ्न सक्षम बनाएको छ।२०२२ देखि गुर्भाकोट नगरपालिकाको सहकार्यमा सुरु भएको यो परियोजनाबाट हालसम्म १९७ जना अपाङ्गता भएका व्यक्तिहरू प्रत्यक्ष लाभान्वित भएका छन्।परिलक्षित संस्थाको निरन्तर प्रयास, फेल्म नेपालको सहयोग र स्थानीय सरकारको साझेदारीले गुर्भाकोटलाई समावेशी, आत्मनिर्भर र दिगो समाज निर्माणको दिशामा अग्रसर बनाएको छ।
प्रकाशित मिति: २४ कार्तिक २०८२, आईतवार २१:२०