कर्णाली प्रदेशस्थित अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र, सुर्खेतले विभिन्न स्थानीय निकायमा सञ्चालन गरेको शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर सम्पन्न भएको छ। शिविरले अपाङ्गता भएका बालबालिकालाई स्वास्थ्य, पुनर्स्थापन र सहायक सामग्री प्रदान गर्दै उनीहरूको जीवनस्तर सुधार्ने काम गरिरहेको सेवाग्राहीले बताएका छन। विकलाङ्ग मित्र समूह र अपाङ्ग बाल अस्पताल बनेपाको आयोजनामा, सि.बि.एम. ग्लोबलको सहयोगमा सञ्चालन गरिएको यस शिविरमा १८ वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकालाई निःशुल्क स्वास्थ्य परीक्षण, उपचार, पुनर्स्थापन तथा सहायक सामग्री वितरण गरिएको थियो। शिविरमा खुट्टा, हात, हड्डी, जोर्नी, स्नायु, मेरुदण्डसम्बन्धी समस्या भएका बालबालिकाको विशेष परीक्षण गरिएको छ। परीक्षणमा जन्मजात खुट्टाको विकृति पोलियोका कारण हात वा खुट्टा चल्न नसक्ने समस्या, जोर्नी र घुँडामा विकृति, हातको छोटाइ वा टेढोपन, मेरुदण्ड र मांसपेशी असामान्यता, हिँड्न समस्या भएका बालबालिकालाई समेटिएको थियो। साथै, ह्वीलचेयर, क्रच, स्प्लिन्ट, क्यालिपर, प्लास्टर, मोबिलाइजर लगायतका सहायक सामग्री निःशुल्क वितरण गरिएको थियो। शिविरमा मनो–सामाजिक परामर्श, फिजियोथेरापी सल्लाह र आवश्यक परेमा उपचारका लागि रेफर गर्ने व्यवस्था पनि गरिएको थियो। अस्पतालले शिविरमा ४९१ जना बालबालिकाले सेवा प्राप्त लिएएको जनाएको छ। तीमध्ये १४५ जना फलोअप सेवामा, २६३ जना नयाँ पहिचानमा, र ७५ जना वयस्क रहेका छन्। यसैगरी, विभिन्न सहायक सामग्री वितरणमा ४९ जना, अपाङ्गता परीक्षणमा ४२२ जना, अडियोमेट्रिक जाँचमा ३७ जना, तथा अन्य स्वास्थ्य सल्लाह र मूल्यांकनमा सयौं बालबालिकाले सेवा लिएका छन्।
शिविरमा सहभागी बालबालिका र अभिभावकहरूले गाउँगाउँमा कार्यक्रम पुगेकोले उपचारमा सहजता भएको प्रतिक्रिया दिएका छन्। अघिल्ला वर्षहरूमा उपचारका लागि राजधानी जानुपर्दा कठिनाइ हुने गरेको भए पनि अब घर नजिकै सेवा पाउँदा उनीहरूलाई ठूलो राहत भएको बताए। अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र, सुर्खेतका प्रमुख होमराज केसीले भने, “शारीरिक अपाङ्गता भएका बालबालिकाको जीवनस्तर सुधार गर्ने र उनीहरूलाई आत्मनिर्भर बनाउनका लागि यस किसिमका घुम्ती शिविरहरू अत्यन्त प्रभावकारी छन्। अहिले उपचार प्रभावकारी भएपछि कर्णालीसहित सुदूरपश्चिम र लुम्बिनी प्रदेशबाट समेत विरामीहरू आउने गरेका छन्।
हामीले दुर्गम र पहुँचविहीन क्षेत्रका बालबालिकासम्म स्वास्थ्य सेवा पुर्यानउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरेका हौं।” केसीका अनुसार, शारीरिक अपाङ्गता भएका ४२ जना बालबालिकाहरूको उपचार तथा पुनर्स्थापनका उद्देश्यले HRDC अपाङ्ग बाल अस्पतालमा भर्ना मिति तोक्दै पठाइएको छ। जसबाट उनीहरूलाई आवश्यक उपचार र सहयोग प्रदान गरिनेछ। अपरेशनको लागि काठमाडौँको बी एण्ड बी अस्पताल पठाइने, १४ जनालाई ह्वीलचेयर वितरण, र सुर्खेतमै जन्मजात खुट्टाको पैताल भित्र वा बाहिर फर्केका बालबालिकाको उपचार गरिने व्यवस्था गरिएको छ। फिजियोथेरापी सेवा नियमित सञ्चालन भइरहेको छ र कर्णालीका विभिन्न जिल्लामा पुगेर पनि सेवा प्रदान गरिएको छ। आयोजक संस्थाका अनुसार, यस कार्यक्रमले अपाङ्गता भएका बालबालिकालाई पुनर्स्थापन, सामाजिककरण र आत्मविश्वास वृद्धिमा ठूलो टेवा पुगेको छ। शिविरले शारीरिक स्वास्थ्य सुधारमा योगदान पुर्या्एको छ, भने बालबालिकाको जीवनमा नयाँ आशा, विश्वास र अवसर थप्ने काम पनि गरेको छ। यता सेवा प्राप्त गर्ने सेवाग्राहीहरूले अस्पतालको सेवाले आफ्ना बालबालिकाहरुले पुनर्जीवन प्राप्त गरेको बताएका छन। उनीहरुले शसुल्क रुपमा उपचार गराउन पाउदाँ निकै खुशी भएको बताएका छन। केन्द्रले आर्थिक रूपमा कमजोर भएकालाई निःशुल्क र अन्यलाई सहुलियतमा सेवा दिदै आइरहेको छ।
प्रकाशित मिति: २२ कार्तिक २०८२, शुक्रबार २१:३३