साङ्ग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २१औं वार्षिकोत्सव भव्यताका साथ मनाउँदै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोगात्मक कार्य सम्पन्न गरेको छ। स्थापना भएको २१ वर्ष पूरा गरी २२औं वर्षमा प्रवेश गर्ने अवसरमा बैंकले सुर्खेतका सामाजिक र स्वास्थ्य संस्थाहरुलाई सहयोग वितरण गरी समाजप्रति आफ्नो दायित्व पूरा गरेको हो।
कार्यक्रम अन्तर्गत बैंकले गुराँस गाउँपालिका–५, गोगनपानी स्वास्थ्य चौकीलाई एक थान ह्वीलचेयर र दुई थान पेरीलाइट हस्तान्तरण गरेको कर्णाली प्रदेश प्रमुख जीवनकुमार डिसीले जानकारी दिनुभयो। उहाँका अनुसार, यो सहयोग बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरिएको हो। उक्त स्वास्थ्य सामग्री स्वास्थ्य चौकीकी अनमी उत्तरा केसीलाई हस्तान्तरण गर्दै स्वास्थ्य सेवामा थप सहजता र पहुँच वृद्धि होस् भन्ने उद्देश्य राखिएको हो।
त्यसैगरी बैंकले वीरेन्द्रनगर–३ स्थित प्रशान्ति वृद्धाश्रमलाई पनि ३६ हजार रुपैयाँ बराबरका खाद्यान्न सामग्रीहरू वितरण गरेको छ। चामल, दाल, तेल, नुन, चाउचाउलगायतका दैनिक उपभोगका वस्तुहरू समावेश रहेका ती सामग्री वृद्धाश्रममा बसोबास गर्ने ज्येष्ठ नागरिकहरूको दैनिकी सहज बनाउन सहयोगी हुने अपेक्षा बैंकले गरेको छ। वृद्धाश्रमका प्रतिनिधिहरूले साङ्ग्रिलाको यस सामाजिक योगदानले संस्थामा बसोबास गर्ने बृद्धबृद्धाहरूको मनमा खुशी र सन्तोष थपिएको प्रतिक्रिया दिएका छन्।
कर्णाली प्रदेश प्रमुख डिसीका अनुसार, साङ्ग्रिला डेभलपमेन्ट बैंकले विगतदेखि नै शिक्षा, स्वास्थ्य, वातावरण, विपद् राहत, बालबालिका र ज्येष्ठ नागरिकका लागि सहयोग, र सामुदायिक विकासका कार्यक्रमहरूमा निरन्तर योगदान दिँदै आएको छ। उहाँले भन्नुभयो, “सामाजिक उत्तरदायित्व केवल आर्थिक सहायतासम्म सीमित छैन, यसले समुदायमा सन्देश र सहकार्यको भावना फैलाउँछ। साङ्ग्रिला बैंकले सधैं समाजसँग सँगै अघि बढ्ने प्रतिबद्धता लिएको छ।”
देशभरका ११२ शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको साङ्ग्रिला डेभलपमेन्ट बैंक कर्णाली प्रदेशकै सबैभन्दा पुरानो निजी बैंकका रूपमा परिचित छ।कर्णालीबाट ८ वटा शाखाबाट सेवा दिदै आएको छ।
स्थापना कालदेखि नै ग्रामीण भेगका नागरिकलाई वित्तीय पहुँचमा ल्याउने र आर्थिक समावेशीकरणमा जोड दिने यो बैंकले, अब आगामी वर्षहरूमा सामाजिक उत्तरदायित्वका कार्यहरूलाई अझ विस्तार र संस्थागत रूपमा अघि बढाउने योजना पनि सार्वजनिक गरेको छ।
सामाजिक उत्तरदायित्वलाई आफ्नो प्रमुख मूल्यका रूपमा अंगालेको साङ्ग्रिला डेभलपमेन्ट बैंकले भविष्यमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामुदायिक विकासका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै समाजप्रति उत्तरदायी संस्थाको रूपमा पहिचान बलियो बनाउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: १५ कार्तिक २०८२, शुक्रबार १८:०४