वीरेन्द्रनगर (सुर्खेत) — मानव बेचबिखनजस्ता गम्भीर सामाजिक अपराधबारे जनस्तरमा सचेतना फैलाउने उद्देश्यले शक्ति समूहको आयोजनामा सचेतनामूलक सडक नाटक सम्पन्न गरिएको छ।
ECPAT Luxemburg को साझेदारीमा सञ्चालित “मुक्ति साउथ एसिया परियोजना” अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको हो। उक्त परियोजना सुर्खेत जिल्लाका वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिकामा कार्यरत छ, जसले मानव बेचबिखनबाट प्रभावित व्यक्तिहरूको उद्धार, स्वदेश फिर्ती, पुनर्मिलन तथा पुनःस्थापनामा सहयोग गर्दै आएको छ।
यसै अभियानअन्तर्गत शक्ति समूहले तयार गरेको “अडान” शीर्षकको सडक नाटक मिति २०८२ कार्तिक १ गते वीरेन्द्रनगर–३ यारीचोकमा, कार्तिक २ गते गुर्भाकोट–८ मेहल्कुनमा, साथै सोही दिन वीरेन्द्रनगर–८ घण्टाघर पार्कमा प्रदर्शन गरिएको थियो। नाटकमा स्थानीय कलाकारहरूले समाजमा व्याप्त मानव बेचबिखनका रूप, कारण र त्यसबाट जोगिन सक्ने उपायहरूलाई जीवन्त रूपमा प्रस्तुत गरेका थिए।
कार्यक्रममा स्थानीय समुदायका प्रतिनिधि, विद्यार्थी, महिला समूह, युवाहरू र सर्वसाधारण गरी ७ सयभन्दा बढी दर्शकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। सहभागीहरूले नाटक अत्यन्त प्रभावकारी र शिक्षाप्रद भएको प्रतिक्रिया दिएका थिए।
शक्ति समूहका प्रतिनिधिहरूका अनुसार नाटकको माध्यमबाट विशेष गरी बालबालिका, किशोरी र अभिभावकहरूमा चेतना जगाउने उद्देश्य रहेको थियो। मानव बेचबिखनका घटना रोकथामका लागि सचेतना, सतर्कता र सामुदायिक एकताको आवश्यकता रहेको पनि कार्यक्रममा जोड दिइएको थियो।
उक्त सचेतनामूलक नाटकमार्फत समाजमा मानव बेचबिखन रोक्न सबैको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने सन्देश प्रवाह गर्न सफल भएको शक्ति समूहले जनाएको छ। संस्थाले आगामी दिनमा पनि जिल्लाका विभिन्न स्थानमा यस्ता कार्यक्रम सञ्चालन गर्दै मानव बेचबिखन मुक्त समाज निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: ३ कार्तिक २०८२, आईतवार २१:१८