आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया छनोट अन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा आज नेपाल र सामोआ प्रतिस्पर्धा गर्दै छ । अमिरात स्टेडियममा खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ ।
टी-२० आई क्रिकेटमा दुबै टोली पहिलो पटक आमनेसामने हुन लागेका हुन् । आइसीसी टी-२० विश्वकप २०२६ मा स्थान सुरक्षित गरिसकेको नेपाल अपराजित रुपमा प्रतियोगिताको च्याम्पियन बन्ने लक्ष्यमा हुने छ ।
नेपालले सामोआलाई पराजित गरे च्याम्पियन बन्ने छ । छनोट प्रतियोगितामा नेपालले समूह चरणमा कुवेत र जापानमाथि सहज जित पारेको थियो भने त्यसपछि यूएई, कतार र ओमानलाई पराजित गरिसकेको थियो । जारी प्रतियोगितामा नेपाल एक मात्र अपराजित टोली हो । नेपाल हाल सुपर सिक्सको शीर्ष स्थानमा रहेको छ ।
यस प्रतियोगितामा नेपालको तर्फबाट कुशल भुर्तेलले सर्वाधिक १ सय ९० रन बनाउका छन् । उनी शीर्ष रन कर्ताको तेस्रो स्थानमा छन् । यस्तै सन्दीप लामिछाने ११ विकेटसहित शीर्ष विकेट टेकरको दोस्रो स्थानमा छन् ।
नेपालले अघिल्लो खेलमा ओमानलाई ३८ रनले पराजित गरेको थियो । पहिले ब्याटिङ गर्दै नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो । कुशल भुर्तेलले ५१ बलमा ६९ रनको प्रभावशाली इनिङ्स खेलेका मध्यमक्रम भने खासै चल्न सकेको थिएन । तर नेपालको सानदार बलिङ र फिल्डिङले जारी प्रतियोगितामा नेपाललाई अपराजित बनाएको हो ।
सामोआ सुपर सिक्सको पुछारमा रहेको छ । यस चरणमा उसले सबै चार खेलमा हार बेहोरेको छ । अघिल्लो खेलमा सामोआ कतारसँग ८ विकेटले पराजित भएको थियो ।
आजै पौने १२ बजे जापान र घरेलु टोली प्रतिस्पर्धा गर्ने छन् । २०२६ आईसीसी पुरुष विश्वकपमा सहभागी हुने सबै २० टोलीको टुङ्गो लागिसकेको छ ।
प्रकाशित मिति: १ कार्तिक २०८२, शुक्रबार ०८:१४