परिलक्षित संस्थाले अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालन गरेको शैक्षिक सहयोग कार्यक्रम अन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिकामा गरिएको अनुगमन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
फेल्म नेपालको सहयोगमा सञ्चालित उक्त कार्यक्रममा भेरीगंगा नगरपालिकाका विभिन्न वडामा रहेका अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालन गरिएका व्यवसायहरू—जस्तै तरकारी खेती, किराना पसल, बंगुरपालन, र शिक्षामा छात्रवृत्ति कार्यक्रम—हरूको अनुगमन र मूल्याङ्कन गरिएको हो।
अनुगमन टोलीको नेतृत्व भेरीगंगा नगरपालिकाकी उप–प्रमुख धनसरा बोहोराले गर्नुभएको थियो। टोलीमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पोख्रेल, शिक्षा शाखा प्रमुख, योजना तथा अनुगमन शाखा, पशुपन्छी विकास शाखा, महिला–बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रतिनिधिहरू, साथै विभिन्न सामाजिक संस्था र स्थानीय सञ्चारकर्मीहरूको समेत उपस्थिति थियो।
कार्यक्रमका क्रममा परिलक्षित संस्थाबाट तालिम प्राप्त भेरीगंगा–५ का दलबहादुर सुनारले अहिले तरकारी खेतीमार्फत आत्मनिर्भर जीवन बिताइरहनुभएको जानकारी दिनुभयो। उहाँका अनुसार, “तालिम र सानाे आर्थिक सहयोगपछि अहिले मेरो बारीमा हरियो तरकारी फलेको छ, त्यसबाट आम्दानी गर्दै परिवारको जीवनस्तर सुधारिएको छ।”
त्यस्तै भेरीगंगा–७ का चन्द्रबहादुर तिवारीले पनि परिलक्षित संस्थाको सहयोगमा सुरु गरेको तरकारी व्यवसायले राम्रै आम्दानी दिने बताउनुभयो। उहाँले भने, “संस्थाले रकम र सिप दियो, अहिले मेरो बारीमा टमाटर, करेला, काँक्रा हरियो-हरियो फलेका छन्। यो हाम्रो जीवनको महत्वपूर्ण परिवर्तन हो।”
परिलक्षित संस्थाले केवल तरकारी खेतीमा मात्र सीमित नभई ब्राखापालन, बंगुरपालन, किराना पसल सञ्चालन तथा अपाङ्गता भएका विद्यार्थीहरूका लागि छात्रवृत्ति र शैक्षिक सामग्री वितरण जस्ता कार्यहरू पनि सञ्चालन गरिरहेको छ। यसले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर जीवनयापन गर्न सहयोग पुर्याएको सहभागीहरूले बताए।
अनुगमनपछि भेरीगंगा नगरपालिकामा बसेको परियोजना सल्लाहकार समिति बैठकमा उप–प्रमुख धनसरा बोहोरा अध्यक्ष रहनुभएको थियो। उक्त बैठकमा अनुगमनको समीक्षा गर्दै उहाँले भन्नुभयो,
“सरकारले गर्नुपर्ने धेरै सामाजिक र मानविय काम परिलक्षितले गरिरहेको छ। आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र हितमा प्रभावकारी कार्यक्रम ल्याउन स्थानीय सरकार र संस्थाबीच अझ बलियो सहकार्य हुन आवश्यक छ।”
उहाँले थप गर्नुभयो, “परिलक्षित संस्थाले अपाङ्गता भएका व्यक्तिहरूका जीवनमा आशाको किरण जगाएको छ। यस्ता कार्यक्रम निरन्तर रूपमा अघि बढे भने हाम्रो समाजमा कसैलाई पनि पछाडि परिरहनु पर्नेछैन।”
यसरी, परिलक्षित संस्थाको पहल र स्थानीय सरकारको सहकार्यमा भेरीगंगा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरू आत्मनिर्भर र सम्मानजनक जीवनतर्फ अघि बढ्दै गएका छन्, जुन समावेशी विकासको सशक्त उदाहरण बन्दै गएको छ।

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार २०:०७