बिजनेस अनलाइन सर्भिस प्रालिले सुर्खेतको वीरेन्द्रनगरमा रहेको नगर प्रहरी कार्यालयलाई आधुनिक प्रविधियुक्त कम्प्युटर सहयोग गरेको छ।
२०७६ सालमा स्थापना भएको कम्पनीले कर्णाली प्रदेशमा सूचना प्रविधि क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ।
स्थानीय व्यवसाय, सरोकारवाला तथा सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै कम्पनीले यसअघि पनि विभिन्न सहयोगी कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।
नगर प्रहरी कार्यालयमा लामो समयदेखि प्रयोगमा रहेको पुरानो कम्प्युटर जीर्ण भइसकेकाले दैनिक कामकाजमा समस्या आइरहेको अवस्थामा नयाँ कम्प्युटर हस्तान्तरण गरिएको हो। कम्पनीले डेल (Dell) कम्पनीको i5 8th Gen, 256 GB SSD क्षमताको कम्प्युटर उपलब्ध गराएको हो।
कार्यक्रममा कम्पनीका प्रवन्ध निर्देशक पवन पौडेलले प्रहरी प्रशासनलाई प्रविधिमैत्री बनाउन योगदान दिन पाउँदा खुसी लागेको बताउनुभयो।
उहाँले भन्नुभयो– “हाम्रो उद्देश्य व्यवसायिक नाफामुखी मात्र होइन, समाजलाई प्राविधिक र सामाजिक रुपमा सशक्त बनाउन निरन्तर सहयोग गर्दै जाने हो।
यस कम्प्युटरले प्रहरी कार्यालयको दैनिक काम, तथ्याङ्क व्यवस्थापन र निर्णय प्रक्रियामा सहजता ल्याउनेछ।”
त्यसैगरी प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईले बिजनेस अनलाइन सर्भिसलाई धन्यवाद ज्ञापन गर्दै सहयोगले प्रहरी कार्यालयको कामकाजमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो– “यस किसिमको सहकार्यले प्रहरी प्रशासनलाई अझ प्रभावकारी बनाउन मद्दत पुग्नेछ। हामी यसलाई समाजप्रतिको सकारात्मक योगदानको रूपमा लिन्छौं र आगामी दिनमा पनि यस्ता सहकार्य निरन्तर रहने अपेक्षा गर्दछौं।”
बिजनेस अनलाइन सर्भिसले प्रदेशभित्र सूचना प्रविधिको विकाससँगै समाजका विभिन्न क्षेत्रमा समेत सहयोग पुर्याउँदै आएको छ।
कम्पनीले यस्ता सामाजिक उत्तरदायित्वका गतिविधिहरू भविष्यमा पनि निरन्तर जारी राख्ने जनाएको छ।
प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार १५:५८