कर्णाली विकास बैंकमा भएको ठूलाे आर्थिक अनियमितता प्रकरणमा उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा १०९ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ। घोटालामा संलग्न व्यक्तिहरूमध्ये कैयौं आफन्त, नातेदार र परिवारका सदस्यसमेत रहेको तथ्य खुलेको छ।
बैंकका तत्कालीन अध्यक्ष राजेन्द्रवीर रायमाथि २ अर्ब ६३ करोड ३२ लाख रुपैयाँभन्दा बढी रकम अपचलन तथा जरिवाना मागसहितको अभियोग लगाइएको छ। रायकै साली, भान्जी, भान्जीका श्रीमान् र भान्जालगायत निकट सम्बन्ध भएका व्यक्तिहरू घोटालामा संलग्न रहेका छन्।
अन्य संलग्न व्यक्तिहरूमध्ये तत्कालीन प्रमुख वित्त अधिकृत वेदप्रकाश सिंह ठकुरीकी श्रीमती लता शर्मा, नीरजविक्रम शाहका भाइ र सालो, तथा दिनेशकुमार रावत र पवन सिंह थारुको परिवारका सदस्यहरू छन्।
९४ करोडभन्दा बढी अपचलन
राजेन्द्रवीर रायले मात्र ३२ करोड रुपैयाँ अपचलन गरेको आरोप छ भने पशुपति दयाल मिश्र, नीरजविक्रम शाह, दिनेशकुमार रावत र वेदप्रकाश सिंह ठकुरीले जनही १५ करोड, र सुशीलकुमार सार्की नेपालीले २ करोड रुपैयाँ अपचलन गरेका छन्।
यी व्यक्तिहरूले विभिन्न कम्पनीहरूको नाममा प्रवाह भएको कर्जा रकम आफैं चलाएका थिए। हिल्सा इन्भेस्टमेन्ट प्रालिको नाममा प्रवाह भएको १५ करोडमध्ये रायले १२ करोड र शाह र रावतले ३ करोड रुपैयाँ दुरुपयोग गरेका थिए।
राप्ती पोलिमर्स प्रालिलाई दिइएको १५ करोड कर्जामध्ये १२ करोड रायले र बाँकी ३ करोड दिनेश रावत र उनका भिनाजु महेशजंग थापाले चलाएका थिए। बेचनलाल भुजुवाको नाममा दिइएको ८० लाख कर्जा पनि रायले नै चलाएको पुष्टि भएको छ।
कूल बिगो ३ अर्ब २० करोड रुपैयाँ
उच्च अदालतमा दायर मुद्दामा ३ अर्ब २० करोड ११ लाख रुपैयाँ बिगो माग गरिएको छ। बैंकको खाताबाट नगद झिकिएर औपचारिक प्रणालीमा नचढाइ अन्यत्र प्रयोग गरिएको प्रमाण भेटिएको छ।
कर्जा वापतको रकम संस्थाको अन्य बैंक खातामा जम्मा गरिनुपर्ने भए पनि, सो बैंकमा जम्मा नभएको, खाताबाट चेकमार्फत र नगद काउन्टरमार्फत रकम लिइएको, तर सम्बन्धित खातामा पर्याप्त मौज्दात नरहेको पाइएको छ।
अन्तरशाखा कारोबारमार्फत अपचलन
बैंकको केन्द्रीय तथा शाखा कार्यालयबीचको कारोबारमा समेत अनियमितता देखिएको छ। शाखाबाट केन्द्रीय कार्यालयमा पठाइएको नगद रकम संस्थाका अन्य बैंक खातामा दाखिला गर्न भनिए पनि, खातामा नगद जम्मा भएको प्रमाण नपाइएको छ।
अन्तर–शाखा कारोबारको नाममा १ करोड ५० हजार रुपैयाँभन्दा बढी रकम लामो समयदेखि हिसाब मिलान नगरिएको र अपचलनमा परेको देखिएको छ।
प्रकाशित मिति: १६ श्रावण २०८२, बिहीबार ०८:१७