सुर्खेतको प्रमुख धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्य काँक्रेविहारमा खोज, अनुसन्धान तथा पर्यटन महोत्सव आयोजना गरिने भएको छ । काँक्रेविहारको ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक र धार्मिक पक्षको गहन अध्ययन, समीक्षा तथा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।
गत शुक्रबार वीरेन्द्रनगर नगरपालिका– ९ को आयोजनामा ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीय दृष्टिले अनुपम सम्पदाको रूपमा स्थापित काँक्रेविहार परिसरमा ‘काँक्रेविहार खोज अनुसन्धान तथा पर्यटन महोत्सव’ र ‘युवा, बालबालिका तथा विद्यार्थी सम्मेलन’ हुन लागेको हो ।
‘महोत्सवको मूल उद्देश्य काँक्रेविहारको ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक र धार्मिकपक्षको गहन अध्ययन, समीक्षा तथा प्रचारप्रसार गर्नु हो,’ वीरेन्द्रनगर नगरपालिका– ९ का वडाध्यक्ष ऋषि गिरीले भने, ‘यस महोत्सव तथा सम्मेलनले काँक्रेविहारलाई शैक्षिक विमर्श, बौद्धिक अन्तर्क्रिया र सांस्कृतिक अभिव्यक्तिको साझा मञ्च बनाउने विश्वास हामीले लिएका छौँ ।’
उनका अनुसार महोत्सव तथा सम्मेलनमा काँक्रेविहारसम्बन्धी महत्त्वपूर्ण कार्यपत्र प्रस्तुत गरिनेछ भने, विद्वत् टिप्पणी तथा खुला बहस पनि आयोजना गरिनेछ ।
यस्तै, वडा कार्यालयले महोत्सवमा काँक्रेविहारको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्त्वका विषयमा वक्तृत्वकला प्रतियोगिता (कक्षा ९–१२), सपनाको काँक्रेविहार शीर्षकमा चित्रकला प्रतियोगिता (कक्षा ६–८), स्थानीय कला संस्कृति झल्किने नृत्य प्रतियोगिता (कक्षा १–५) आयोजना गरिने जनाएको छ ।
साथै, समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका महत्त्वपूर्ण व्यक्तित्वलाई सम्मानका साथै विद्यालयस्तरीय विज्ञान तथा शैक्षिक प्रदर्शनी, स्थानीय थारू, भोटे र अन्य आदिवासी समुदायहरूको सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिनेछ ।
यस्ता कार्यक्रमहरूले स्थानीय समुदायमा सांस्कृतिक स्वामित्वको भावना अभिवृद्धि गर्नेछ भने कर्णाली प्रदेशको आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत नयाँ दिशाहरू खोल्ने वडा कार्यालयले जनाएको छ । महोत्सवमार्फत काँक्रेविहार सम्पदास्थलको संरक्षण, प्रवर्द्धन र दिगो विकासका सम्भावनाहरू पहिचान गर्न सहयोग पुग्ने विश्वास लिइएको बिहीबार जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष गिरीले बताए ।
प्रकाशित मिति: १२ असार २०८२, बिहीबार १७:२०