नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत सुर्खेतको प्रशान्ति वृद्धाश्रमलाई विभिन्न सहयोग सामग्रीहरू हस्तान्तरण गरेको छ।
वीरेन्द्रनगर–३ स्थित वृद्धाश्रममा आयोजित कार्यक्रममा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतका निर्देशक डा. कमल लामिछानेले ५ थान लो बेड, १५ थान प्लास्टिक कुर्सी र १५ थान कुसनसहितका सामग्रीहरू हस्तान्तरण गर्नुभयो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. लामिछानेले नेपाल टेलिकम नाफामुखी भन्दा बढी सेवामूलक संस्था भएको उल्लेख गर्दै यस्तो सामाजिक सहयोगले टेलिकमको उत्तरदायित्वलाई अझै सशक्त बनाउने बताए। “देश र समाजप्रति उत्तरदायी राष्ट्रिय संस्था भएकाले हामी शिक्षा, स्वास्थ्य, वातावरण र सामाजिक सेवामा निरन्तर योगदान दिइरहेका छौं,” उहाँले भन्नुभयो, “अशक्त र अपहेलित जेष्ठ नागरिकको सेवा गर्नु हाम्रो लागि गौरवको विषय हो, र आगामी दिनमा पनि यस्ता सेवामूलक कामलाई निरन्तरता दिनेछौं।”
कार्यक्रमको अध्यक्षता गर्दै प्रशान्ति वृद्धाश्रमका बालकृष्ण श्रेष्ठले संचार क्षेत्रको अग्रणी संस्था नेपाल टेलिकमबाट प्राप्त सहयोगले वृद्धाश्रममा बसोबास गरिरहेका जेष्ठ नागरिकको जीवनमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल टेलिकम सुर्खेतका उपप्रबन्धक प्रसान्त अधिकारी, लेखा अधिकृत विमल पोखरेल र सहायक व्यापार अधिकृत मोतीराम भट्टराईको पनि उपस्थिति थियो।
२०७४ सालमा समाजसेवी गोविन्दमान श्रेष्ठको अगुवाइमा समौजीघाटमा स्थापना भएको प्रशान्ति वृद्धाश्रममा हाल २९ जना जेष्ठ नागरिकले आश्रय लिइरहेका छन्। घरपरिवारबाट टाढा परेका, अशक्त र असहाय वृद्धवृद्धाहरूलाई स्वच्छ, रमणीय र सुरक्षित वातावरणमा जीवनयापन गराउने उद्देश्यले सञ्चालन गरिएको यो संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै आएका संस्थाहरूको साथ र सहयोगले अझ सशक्त रूपमा सेवा विस्तार गर्दै आएको छ।
नेपाल टेलिकमले राष्ट्रका कुना–कन्दरासम्म संचार सेवा पुर्याउनुका साथै शिक्षा, स्वास्थ्य, वातावरण तथा सामाजिक क्षेत्रको समग्र उत्थानमा उल्लेखनीय योगदान दिँदै आइरहेको छ।
प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार ०८:५६