स्वर्गीय खगिसरा बुढाको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा उहाँको जीवन र योगदानलाई समेट्दै एक बियोगान्त पुस्तक सम्झनामा मात्र तिमी विमोचन गरिएको छ। सुर्खेतमा आयोजित विशेष समारोहका बीच पुस्तक सार्वजनिक गरिएको हो।
कार्यक्रमको अध्यक्षता प्रा. केके आचार्यले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, सामाजिक विकास मन्त्री घनश्याम भन्डारी, उर्जा तथा जलस्रोत मन्त्री विजया बुढा विशेष अतिथिको रूपमा समारोहमा रहनुभएको थियो।
नेता शाहीले कार्यक्रममा बोल्दै स्वर्गीय बुढा एक संवेदनशील, समाजसेवी र कर्तव्यनिष्ठ व्यक्तित्व भएको स्मरण गर्दै उहाँको जीवन दर्शन, आचरण र सामाजिक समर्पण सधैँ प्रेरणादायी रहने बताउनुभयो। “उहाँले जीवनभर सत्य, सेवा र सादगीको अभ्यास गर्नुभयो। उहाँका मूल्यहरू हाम्रो समाजमा सजीव रूपमा जिवित रहुन् भन्ने कामनाका साथ यो कृति प्रकाशित गरिएको छ,” उहाँले भन्नुभयो।
उहाँले साहित्य केवल भावनाको अभिव्यक्ति मात्र नभई चेतनाको आवाज पनि भएको बताउँदै यस्ता कृतिहरू समाजलाई सोच्न, बुझ्न र बदल्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।
पूर्व रजिष्ट्रार महेन्द्र मल्लले पनि स्वर्गीय बुढाले समुदायप्रति देखाएको माया, पारिवारिक समर्पण र सामाजिक सद्भावका लागि उहाँलाई सदैव सम्झने बताउनुभयो। उहाँले भन्नुभयो, “उहाँ सधैं अरूको पीडा आफ्नै पीडा सम्झनुहुन्थ्यो, सहयोग गर्न तत्पर हुनुहुन्थ्यो – उहाँले देखाएको बाटो हामीले व्यवहारमा उतार्न सके, त्यो नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ।”
उर्जा मन्त्री विजया बुढाले पनि स्वर्गीय खगिसरा बुढाले सामाजिक न्याय र मानवीयताको पक्षमा देखाएको समर्पण असल नागरिकताको उदाहरण भएको भन्दै उहाँको योगदान पुस्तौंसम्म सम्झिने खालको रहेको बताउनुभयो।
कार्यक्रममा साहित्यकार, पत्रकार, सामाजिक अभियन्ता, बुढा परिवारका सदस्य तथा नजिकका आफन्तहरूको समेत उपस्थिति रहेको थियो।
प्रकाशित पुस्तकमा खगिसरा बुढाको जीवन यात्रा, उहाँका संवेदनशील क्षणहरू, परिवार र समाजप्रतिको समर्पण र उहाँको निधनले छाडेको पीडादायी खाल्डो झल्काइएको छ।
समारोहमा वक्ताहरूले स्वर्गीय बुढाले छोडेर गएको मूल्य, सोच र भावना सधैं व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका थिए। पुस्तक विमोचनमार्फत उहाँलाई श्रद्धासुमन अर्पण गर्नुका साथै भावी पुस्तालाई पनि प्रेरणा दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ३ असार २०८२, मंगलवार १७:५०