मधेश प्रदेशले टिबी शाह स्मृति प्रथम यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।वीरेन्द्रनगरको कालुंगचोक मैदानमा शनिवार भएको फाइनलमा बागमतीलाई ७ विकेटले हराउँदै मधेशले उपाधि जितेको हो। लिग चरणमा बागमतीले मधेशलाई हराएको थियो।
१ सय १३ रन लक्ष्य पछ्याएको मधेशले १३.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो। ओपनर आयान मुखिया र सन्तु मण्डलले चौथो विकेटका नटआउट ४९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।
आयनले ३३ बलमा ४ चौकासहित २९ रन बनाए । सन्तुले २२ बलमा ६ चौका र २ छक्कासहित ४३ रनको योगदान दिए ।अर्का ओपनर सुशान्त सिंहले १२, परिमर्जन यादव र माहि यादवले समान ४ रन बनाए । बागमतीका प्रसिद्ध जैसीले २ र कमल शाहीले १ विकेट लिए।
त्यसअघि मधेशले टस जितेर फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभर सबै १० विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो ।
बागमतीका ओपनर प्रसिद्धले २५ रन , रोहित ठाकुरले २२ रन बनाए। आशिष गुप्ताले १७ र अर्का ओपनर सूर्याश कोइरालाले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
मधेशका रोहन यादवले ३, राजीवकुमार सदा र सलमान अली मंसुरीले समान २ विकेट लिए।
नेपाल क्रिकेट संघ (क्यान) को मुख्य आयोजना, कर्णाली प्रादेशिक क्रिकेट संघको सहआयोजना तथा सुर्खेत जिल्ला क्रिकेट संघको व्यवस्थापनमा कर्णालीमा पहिलो पटक क्रिकेटको राष्ट्रिय प्रतियोगिता भएको हो ।
जेठ १९ गतेदेखि वीरेन्द्रनगरमा सञ्चालित प्रतियोगितामा ७ वटा प्रदेशका टोलीको सहभागिता थियो ।
प्रकाशित मिति: ३२ जेष्ठ २०८२, शनिबार १६:०६