वीरेन्द्रनगर नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी सञ्चालन गरिएको एकदिने तरकारी खेती तालिम सम्पन्न भएको छ।वीरेन्द्रनगर नगरपालिका कृषि विकास शाखाको समन्वय, फेल्म नेपालको आर्थिक सहयोग तथा परिलक्षित संस्थाको आयोजनामा सम्पन्न गरिएको हो।
तालिममा नगर क्षेत्रका ७ जना अपाङ्गता भएका व्यक्तिहरु सहभागी थिए।तालिममा शारीरिक अपाङ्गता, दृष्टिविहिन, वहिरा तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरु र तिनीहरूका सहयोगीहरूको सहभागीता रहेको थियो।
तालिममा तरकारी खेतीको आधारभूत जानकारी, मैसमी तथा वेमैसमी तरकारी खेती प्रविधि, तरकारीमा देखापर्ने रोगहरू र तिनको रोकथामका उपायहरूबारेमा जानकारी गराइएको हो।
तालिमको सहजीकरण कृषि विकास शाखाका प्राविधिक पदम नेपालीले गर्नुभएको थियो।तालिमपछि सहभागीहरूले आफूहरुले पहिले नजानेका धेरै कुरा सिक्न पाएको अनुभूति व्यक्त गरेका छन।
उनीहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई यस्ता तालिमले आत्मविश्वास मात्र नभएर भविष्यमा आफैं केही गर्ने बाटो पनि देखाउने काम गरेको बताएका छन।
सहभागीलाई तालिम पश्चात तरकारी खेतीका लागि आवश्यक बीउ, मल, औजार, ट्रे लगायतका कृषि सामग्रीहरू वितरण गरिएको परिलक्षित संस्थाले जनाएको छ।
परिलक्षित संस्था विगत केही वर्षदेखि अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी सिपमूलक तालिम, शिक्षाको पहुँच विस्तार र आत्मनिर्भरताका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। संस्थाले अपाङ्गता भएका समुदायलाई सामाजिक तथा आर्थिक रुपमा सबल बनाउने उद्देश्यले विभिन्न प्रयासहरू गर्दै आएको छ।
आयोजक संस्थाले आगामी दिनमा अझ धेरै अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै व्यावसायिक कृषि, सिलाई-बुनाइ, मोबाइल मर्मत, कम्प्युटर तालिम जस्ता सीपमूलक कार्यक्रमहरू पनि सञ्चालन गरेको परिलक्षित संस्था सुर्खेतका कार्यक्रम संयोजक राजु लामिछानेले जानकारी दिनुभयो।उहाँले अवको केही दिनमा सुर्खेतको भेरीगंगा र गुर्भाकोट नगरपालिकामा पनि यस्तै प्रकारको तालिमको आयोजना गरिएको बताउनुभयो।


प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शुक्रबार १५:५९