सुर्खेत चिङ्गाड गाउँपालिका सुर्खेतको पहिलो पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ। पालिकाका सबै वडा पूर्णखोप सुनिश्चितता भएपछि पालिकालार्इ नै पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको हो।
पाँच वर्षमुनिका सबै बालबालिकाले आवश्यक सम्पूर्ण नियमित खोप लगाइसकेपछि पालिकालार्इ नै पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो।
यो सँगै चिङ्गाड गाउँपालिका सुर्खेत जिल्लाकै पहिलो यस्तो पालिका बनेको छ।
जिल्ला खोप समन्वय समितिको आयोजनामा भएको एक कार्यक्रममा पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा घोषणा गरिएको हो।
खोप अधिकृत घनबहादुर बुढाले वडास्तरमा खोप सुनिश्चितताको घोषणापछि पालिकाले सम्पूर्ण मापदण्डहरू पूरा गरेपछि पूर्ण खोप सुनिश्चित पालिकाको रूपमा मान्यता पाएको बताउनुभयो।
उहाँले पहिले वडा स्तरमा खोप घोषणा भएको र त्यसपछि पालिका स्तरमा पूर्ण सुनिश्चितता घोषणा गरिएको स्पष्ट पार्नुभयो।
स्थानीय सरकार, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक र समुदायको निरन्तर प्रयास र सहकार्यबाट पूर्णखोप सुनिश्चितता घोषणा गर्न सफल भएको बताउनुभयो।
अब चिङ्गाड गाउँपालिका खोप सुनिश्चिततामा उदाहरणीय पालिका बनेको छ।
पूर्ण खोप सुनिश्चितता भनेको सबै बालबालिकाले समयमा सबै खोप लगाउनु र त्यो उपलब्धि दीगो रुपमा कायम गर्नुपर्ने सरोकारवाहरूले जोडदिएका छन हो।
यो ऐतिहासिक उपलब्धिमा पालिकाले कदम राखेको हो।
कार्यक्रमका खोप समन्वय समितिका कार्यवहाक अध्यक्ष सचिन बडुवालले बालबालिकाको जीवन रक्षा र स्वस्थ भविष्यका लागि खोप कार्यक्रमको सफल कार्यान्वयन निकै सराहनीय रहेको बताउनुभयो। उहाँले चिङ्गाडले जुन समर्पण देखायो त्यो अन्य पालिकाहरूका लागि पनि प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभयो।
चिङ्गाड गाउँपालिकाका अध्यक्ष बोदविक्रम जीसीले स्थानीय सरकार, स्वास्थ्यकर्मी, स्वयंसेविका, अभिभावक र सम्पूर्ण समुदायबीचको सहकार्यकै कारण यस्तो महत्वपूर्ण उपलब्धि सम्भव भएको बताउनुभयो।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख करुणा भट्टराईले सबै बालबालिकाले समयमा खोप लगाउनु मात्र पर्याप्त नभई त्यो अभ्यासलाई दिगो रूपमा कायम राख्नु अत्यावश्यक रहेको बतानुभयो।
प्रकाशित मिति: २७ जेष्ठ २०८२, सोमबार १२:३०