सुर्खेत । नेकपा एकीकृत समाजवादीले कर्णाली प्रदेश सरकारलाई स्मरण पत्र बुझाएको छ । गत बैशाख १९ गते समाजवादीले सरकारलाई एकाउन्न बुँदे माग पत्र बुझाएको थियो । सोही मागपत्र कार्यान्वयनका लागि मंगलबार प्रदेश कमिटीले प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललाई स्मरणपत्र बुझाएको प्रदेश कमिटीका अध्यक्ष ठगेन्द्रप्रकाश पुरीले जानकारी दिए ।
५१ बुँदे मागपत्रमा बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा रहने गरी सीमा विस्तारदेखि रोजगारी र सुशासनका लागि प्रदेश स्तरमा सर्वदलिय तथा सर्व पक्षिय सम्मेलन गर्न समाजवादीको माग थियो ।
समाजवादीले यातायात सुविधालाई व्यवस्थित गर्न जुमुनाहा–कोहलपुर–सुर्खेत–खुलालु–सरिसल्ला–हिल्सा सडक, कोहलपुर–सुर्खेत–नाग्मा–गमगढी–मुगुम–कार्मारोङ्–नाक्चेलाग्ना सडक, राप्ती राजमार्ग, छिन्चु–जाजरकोट सडक, जमुनाहा–धोमोरिम्ला सडक र लुम्विनी–रारा पर्यटकीय सडकको स्तरोन्नती प्रदेश सरकारसँग माग गरेको छ ।
त्यस्तै नेपाली भाषा र संस्कृतिको उद्गम स्थल जुम्लाको सिंजालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने, निर्माणधिन रंगशालाको निर्माण कार्य अविलम्व पुरा गरी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नुपर्ने र भूकम्प पीडितको पुर्नस्थापना गर्नुपर्ने लगायतका माग गरेको छ ।
त्यस्तै कर्णालीको जल, जमिन, जंगल र जडिबुटीलाई उपयोग गर्ने गरी नीति तथा कार्याक्रमहरु तर्जुमा गर्नुपर्ने, कर्णाली प्रदेशमा कृषि तथा वन सम्वन्धि अध्ययन, अध्यापन, अनुसन्धान गर्ने विश्वविद्यालय स्थापना गर्नुपर्ने, पूर्व व्यवसायिक शिक्षा, नैतिक शिक्षा र स्वास्थ्य तथा सरसफाई शिक्षा सम्बन्धी विषयलाई आधारभूत तहदेखि नै अनिवार्य गर्न पनि समाजवादीले कर्णाली सरकारसँग माग गरेको छ । गरिब, जेहेन्दार, दलित, महिला र पिछडिएका क्षेत्रवाट आएका विद्यार्थीहरुको लागि छात्रावासको व्यवस्था गर्नुपर्ने, १८ वर्ष मुनि र ६० वर्ष माथिका सबै कर्णालीवासी नागरिकहरुलाई सवै प्रकारको स्वास्थ्य सेवा निःशुल्क गर्नुपर्ने, क्यान्सर, मृगौला, मुटु जस्ता प्राण घातक रोगलाई पूर्ण रुपमा निःशुल्क उपचार गर्ने व्यवस्था गर्न माग गरेको छ ।
कर्णाली प्रदेशमा रहेका कर्णाली, तिला, भेरी, शारदा लगायतका थुप्रै नदीहरुबाट उर्जा उत्पादनको महत्वलाई आत्मासात गरी स्थानीय जनताहरुको हक,लाभ र स्वामित्वलाई ग्रहण गर्दै सम्भाव्यता अध्ययन भएका तिला कर्णाली, फुकोट कर्णाली, जगदुल्लाा, वेतन कर्णाली, नलसिंगाड, अपर कर्णाली, भेरी बबई डाइभर्सन, शारदा लगायतका जलविद्युत परियोजनाहरुको कामलाई छिटोछरितो सम्पन्न गर्ने वातावरण बनाउन माग गरिएको छ ।
यी नै मागहरु पूरा गराउन मंगलबार नेकपा एकीकृत समाजवादीका सचिव एवम् प्रदेश इन्चार्ज चन्द्रबहादुर शाही, प्रदेश कमिटीका अध्यक्ष ठगेन्द्रप्रकाश पुरी, प्रदेश कमिटीका उपसचिव धनकुमारी जिसी लगायतको टोलिले मुख्यमन्त्री कँडेललाई स्मरणपत्र बुझाएको हो ।
प्रकाशित मिति: १४ जेष्ठ २०८२, मंगलवार १६:३०