मध्यपश्चिम विश्वविद्यालयमा छ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन हुँदैछ।कहिले आन्तरिक तयारी त कहिले अदालतको आदेशले पटक-पटक सर्दै आएको निर्वाचन भोलि हुन लागेको हो। स्ववियु नेतृत्वका लागि सात राजनीतिक दलनिकट विद्यार्थी संगठन र एक स्वतन्त्र उम्मेदवार भिड्दैछन्।
निर्वाचनकालागि विभिन्न दलनिकट सात संगठन र एक स्वतन्त्र गरी आठ जना अध्यक्षकालागि चुनावी मैदानमा रहेका निर्वाचन अधिकृत खगेन्द्रप्रसाद अधिकारीले बताउनुभयो।
६ वर्षपछि हुन लागेको निर्वाचनमा कांग्रेसनिकट नेविसंघ, एमालेनिकट अनेरास्ववियु, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी मुख्य प्रतिस्पर्धामा छन् । यस्तै नेपाल क्रान्तिकारी विद्यार्थी संघ, अखिल नेपाल विद्यार्थी युनियन समाजवादी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छेटौँ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, चुनाबी मैदानमा छन ।
नेविसंघले विवेक खड्का ,अनेरास्ववियुले जगतजंग शाहीलाई र अखिल क्रान्तिकारीले प्रकाश विकलाई स्ववियु अध्यक्षको उम्मेदवार बनाएका छन्।
अखिल नेपाल विद्यार्थी युनियन समाजवादीबाट अध्यक्षमा चिनबहादुर सहकारी र नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार अध्यक्षको उम्मेदवार बन्नुभएको छ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैटौँबाट लेलिनकुमार रेग्मी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट विकल्प वली र मिलन बीसीले स्वतन्त्र रूपमा अध्यक्षको उम्मेदवारी दिनुभएको छ। सचिव र कोषाध्यक्षमा पनि दुई जनाले स्वतन्त्र उम्मेदवारी दिँदा सदस्यमा ३३ जनाले उम्मेदवारी दिएका छन् ।
स्ववियु निर्वाचन कार्यविधि अनुसार अध्यक्ष, सचिव, कोषाध्यक्ष गरी तीन र बाँकी सदस्य गरी १७ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । मध्यपश्चिम विश्वविद्यालयमा चार हजार ३८३ मतदाता छन्।
साख जोगाउने नेविसंघको दाउ
मध्यपश्चिम विश्वविद्यालयमा विद्यार्थी संगठनहरू एक्लाएक्लै चुनावी मैदानमा होमिएका छन। संगठनहरूले विभिन्न एजेण्डामार्फत मतदातालाई आकर्षित गरिरहेका छन।
कांग्रेस निकट नेविसंघबाट विवेक खड्का अध्यक्ष पदको उम्मेदवार छन् भने सचिवमा भूपेन्द्र आचार्य, कोषाध्यक्षमा लोकप्रसाद रिजाल तथा सदस्यहरूमा विकास कुमार थापा, निशान्त शाही, शिव ढकाल, गणेश थापा, प्रतिक्षा थापा, विष्णुराज सिंह, प्रकाश सिंह छन्।
नेविसंघले ११ वटा बुँदामा ५० बढी एजेण्डा सार्वजनिक गरेको छ।सबै विद्यार्थीको अनिवार्य निःशुल्क स्वास्थ्य बीमा, चमेनागृहको निर्माण तथा सञ्चालन, हरेक क्याम्पसमा आवश्यक उपकरण र स्वास्थ्यकर्मी सहितको हेल्थ सेन्टर लगायतका एजेण्डा नेविसंघका छन् ।
अध्यक्षका उम्मेदवारहरू सबैले चुनाव जित्ने दाबी गर्दै आएका छन्। नेविसंघलाई आफ्नो पुरानो साख बचाउनुपर्ने चुनौती छ नेविसंघबाट अध्यक्षका उम्मेदवार विवेक खड्का पनि नेविसंघ नै विद्यार्थीको रोजाइको संगठन भएकाले चुनाव जित्ने बताउँछन्। उता अन्य विधार्थी संगठनहरूले पनि चुनाव जित्ने बताउदै आएका छन।
प्रमुख दलनिकट विद्यार्थी संगठनहरू नेतृत्व आफ्नो पक्षमा पार्न कसरत गरिरहेका छन् भने स्वतन्त्र उम्मेदवारहरूले समेत आक्रामक चुनावी अभियान सञ्चालन गरिरहेका छन्। २०७३ साल भदौमा सम्पन्न पहिलो निर्वाचनबाट कांग्रेसनिकट नेविसंघका झक्कबहादुर शाही अध्यक्षमा निर्वाचित भएका थिए। २०७६ पछि नेतृत्व रिक्त रहेको स्ववियु यस निर्वाचनपछि नयाँ दिशा लिने अपेक्षा गरिएको छ।
यस्तो छ नेविसंघकाे घोषणा पत्र


प्रकाशित मिति: १६ चैत्र २०८१, आईतवार १७:४९