नेपाल टेलिकमले कालिकोट जिल्लाको सदरमुकाम मान्मदेखि जुम्ला हुँदै मुगु जिल्लाको सदरमुकाम गमगढीसम्म पहिलो पटक अप्टीकल फाइबर विस्तार गरेको छ। एडिडिएसएस प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरी उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालनमा ल्याएको हो ।
देशको दुर्गम क्षेत्रमा समेत सर्वसुलभ रुपमा दूरसञ्चार सेवा विस्तार एवं स्तरोन्नति गर्ने आफ्नो अभियान एवम् लक्ष्य अन्तर्गत नेपाल टेलिकमले विस्तार गरेको यस सूचना महामार्गले कालिकोट, जुम्ला, मुगु लगायतका क्षेत्रमा मोबाइल ब्रोडब्याण्ड र फाइबर सेवाको गुणस्तर तथा क्षमता वृद्धि हुने अपेक्षा लिइएको छ।
भविष्यमा सञ्चालनमा आउने नयाँ प्रविधिको लागि समेत महत्वपूर्ण आधार निर्माण भएको नेपाल टेलिकमले जनाएको छ।माइक्रोवेभ रेडियो लिङ्क मार्फत हाल सञ्चालनमा रहेका राजमार्ग आसपासका कम्पनीका फाइबर इन्टरनेट तथा मोबाइल सेवासँग सम्बन्धित उपकरणहरु अप्टिकल फाइबर मार्फत संचालनमा ल्याइएको जनाइएको छ ।
यसलाई नेपालको दूरसञ्चार क्षेत्रमा कोसेढुङ्गाको रुपमा लिइएको नेपाल टेलिकम प्रादेशिक कार्यालयका निर्देशक डा. कमल लामिछानेले जानकारी दिनुभयो।उहाँका अनुसार सेवा विस्तारसँगै त्यो क्षेत्रका सेवाग्राहीहरुले हाल सञ्चालनमा रहेका सेवाहरुको गुणस्तर तथा क्षमता अभिवृद्धि भएको हुनेछ।
कर्णालीमा बैकल्पिक मार्गबाट समेत फाइबर सेवा विस्तार गरिएकोले अब प्रदेशमा नेटवर्कमा हुने समस्या समाधान भएको उहाको भनाई छ।प्रदेशका सबै ठाउँमा गुणस्तरिय सेवा पुर्याउनेगरी अहिले काम भइरहेको भन्दै आगामी बर्षसम्म सबै ठाउँमा नेटवर्क विस्तार भइसक्ने उहाले जानकारी दिनुभयो
निर्देशक लामिछानेले सम्पूर्ण कर्मचारीमा ढुक्क भएर कम्पनीका सेवा वितरणमा लाग्न र सेवाग्राही हरुलाइ उत्कृष्ट सेवा प्रदान गर्न निर्देशन दिदै प्रादेशिक निर्देशनालयको मुख्य लक्ष्य नै डिजिटल कर्णाली बनाउनु रहेको बताउनु भयो।कोहलपुर सुर्खेत Optical Fiber Link का अतिरिक्त हालै चिसापानी बाबियाचौर सुर्खेत बाट बकैल्पिक Optical Fiber Link समेत संचालनमा आएकोले सेवाको विश्वसनियतता अझै बढेकाे बताउनुभयो।
सेवाग्राहीहरुलाई सेवामा सहज बनाउनको लागि कार्यालयबाट २४ सै घण्टा काम समेत भइरहेको कार्यालयले जनाएको छ।नेपाल टेलिकमले देशको भौगोलिक चुनौतीलाई आत्मसात् गर्दै हरेक नेपालीलाई दूरसञ्चार सेवाद्वारा जोड्नका लागि सदैव प्रतिवद्ध रहेको जनाएको छ ।
प्रकाशित मिति: १३ चैत्र २०८१, बिहीबार २०:५६