कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबईमा सवारी साधनका स्वचालित नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधिको जडान गरिएको छ।
आज सुर्खेतको बबईमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले एक कार्यक्रमका वीच सवारी निगरानीका लागि एएनपीआर क्यामेरा जडान कार्यको विधिवत् उद्घाटन गर्नुभएको हो।
मुख्य राजमार्गमा पहिलो पटक जडान गरिएको यो प्रविधिले सम्पूर्ण सवारी साधनको नम्बर प्लेट रेकर्ड राख्ने गर्दछ।
अब प्रहरीले सवारी साधन रोक्दै, नम्बर प्लेट फाइलमा नाम टिप्नुपर्ने अवस्थाको अन्त्य भएको मुख्यमन्त्री कँडेलले बताउनुभयो।
डिजिटल प्रविधिको पहिलो पटक सुरुवात गरिएको बताउँदै कँडेलले यसको सही सदुपयोग गरी सकारात्मक प्रभाव पार्नुपर्ने बताउनुभयो।
अब बबईमा भएको गतिविधि वीरेन्द्रनगरमा रहेको प्रदेश प्रहरी कार्यालयबाट निगरानी गर्न सकिने प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताउनुभयो।
‘यो प्रविधिले नाकामा आउने/जाने गाडीको सम्पूर्ण रेकर्ड रहने भएकाले ‘सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनका लागि यो प्रविधिको जडान गरिएको बताउनुभयो।
उहाँले बबई नाकाको गतिविधि (रेकर्ड) अब सिधै प्रदेश प्रहरी कार्यालयसँगै जिल्ला ट्राफिक कार्यालयसम्म पुग्नेछ।
कार्यक्रमका सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेशकुमार सापकोटाले क्यामेरा जडानबाट नाकामा ट्राफिक चेकजाँचमा हुने ढिलाइ अब अन्त्य हुनुका साथै नयाँ प्रविधिको सहयोगले यात्रुसँगै सवारी साधनलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो।
उहाँले बबई नाकामा मात्र सीमित नराखेर प्रदेशका दशै वटै नाकामा एएनपीआर क्यामेरा जडान गर्न प्रदेश सरकारसँग माग गर्नु भयो।
९ लाख ७६ हजार खर्च गरेर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जडान गरेको हो।
प्रकाशित मिति: ७ चैत्र २०८१, शुक्रबार १५:४६