हुम्लामा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ । यस्तै चार जना घाइते भएका छन् ।
घर पोत्ने माटो खन्ने क्रममा ढिस्को खसेर पुरिँदा सर्केगाड गाउँपालिका वडा नम्बर ७ की २८ वर्षीया नेत्रकला जैशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । तीर्थकला जैसी, मञ्जली जैसी, बालकी जैसी र लक्ष्मी जैसी घाइते भएका छन् ।
यसअघि अस्ति सोमवार अछाममा पनि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर दुई जनाको ज्यान गएको थियो । मङ्गलसेन नगरपालिका वडा नम्बर ९ ओलीगाउँका देवरानी–जेठानी देउरूपा बोहरा र विनीता बोहराको ज्यान गएको हो ।
हुम्लालगायत कर्णालीका केही जिल्ला र सुदूरपश्चिमका दार्चुला, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा, बैतडीलगायतका पहाडी जिल्लामा फागुन–चैत महिनामा रातो माटो र कमेरो माटोले घर लिपपोत गर्ने चलन छ । सुदूरपश्चिममा विशु पर्व र कर्णालीमा चैतलो पर्वका लागि घर लिपपोत गर्ने चलन रहेको हो । यही बेला माटो खन्ने क्रममा वर्षेनि ढिस्कोले पुरिएर ज्यान जाने गरेको पाइन्छ ।
घर लिप्न मिल्ने माटो निश्चित ठाउँमा पाइन्छ । त्यहाँ माटो खन्दाखन्दै ओडार बनिसकेको हुन्छ । ओडारभित्र पुगेर माटो खन्ने क्रममा ढिस्को खसेर ज्यान जाने गरेको देखिएको विपद् विज्ञ डा. धर्मराज उप्रेती बताउनुहुन्छ । वर्षेनि धेरैको ज्यान गइरहेको तर खासै वास्ता नगरिएको यो विपद् रोक्नका लागि पालिकाहरूले काम गर्नुपर्ने उहाँको सुझाव छ ।
पालिकाहरूले डोजरको प्रयोग गरी माटो निकालेर वितरण गर्ने र गहिरो भएको ठाउँमा खन्न रोक लगाउने हो भने दुर्घटना रोक्न सकिने विपद् विज्ञ उप्रेतीले बताउनुभयो ।
प्रकाशित मिति: २८ फाल्गुन २०८१, बुधबार १५:४१