तुलसी फुलेको घरको आँगनजस्तै उमङ्गले फुलेको थियो वीरेन्द्रनगर–१, सुर्खेतकी तुलसी गिरीको जीवन पनि । उस्तै उमङ्ग, उस्तै सुगन्ध । माया गर्ने श्रीमान थिए । खोजेजस्तै सम्मान र साथ पाएकी थिइन् । फूलजस्ता बच्चा (छोरा) र बगैँचाजस्तो घर सम्हालेर बसेकी उनलाई त्यतिन्जेलसम्म यति चाँडै यो उमङ्ग र सुगन्ध हराउला भन्ने लागेकै थिएन ।
जब श्रीमानको मृत्यु भयो तुलसीको जीवनको उज्यालो अस्तायो, अँध्यारो छायो । अनि सुरु भए संर्घषका दिनहरु ।

एकातिर श्रीमानको परिवारले आफ्नो नाममा रहेको सम्पत्ति हत्याउने प्रयास गर्दै थियो भने अर्कोतिर उनले माइतीको समेत साथ पाइनन् । श्रीमानको परिवारले मृत्यु दर्ता बनाएर उनको नाममा भएको रकम लिने प्रयास गर्यो । केही हितैषीहरूको सल्लाहमा तुलसीले यी प्रयासहरूलाई असफल पारिन् । यसपछि परिवारले उनलाई थप दुःख दिन थाल्यो । घर फर्किदा उनलाई प्रवेश नै गर्न दिइएन । सम्पत्तिको लोभमा आएको आरोप लगाउदै गालीगलौज गरियो । न्यायको लागि अदालत जाने कुरा गर्दा माइतीले समेत साथ दिन चाहेन । तर बुवाआमाले ‘जे गर्छस् गर’ भनेपछि उनले मुद्दा दर्ता गर्ने साहस गरिन् ।
पहिलोपटक अदालत जाँदा रुँदै दिन बिताएकी तुलसीलाई सुर्खेतका अधिकारकर्मीहरूले साथ दिए । यसैबीच इन्सेकको तीन दिने तालिममा सहभागी हुने अवसर जुर्यो । त्यहाँ पनि उनी रोएरै बसिन्, तर त्यही तालिमले उनलाई ‘बाँच्नका लागि संघर्ष’ सिकायो ।
त्यसपछि ‘सहकर्मी समाज संस्थाले आयोजना गरेको १२ दिने फेस तालिमले कोल्टे फेर्न मद्धत गर्यो । त्यही तालिमले उनलाई आफ्नो परिचय फराकिलो बनाउन सहयोग गर्यो । केही समय अघिसम्म उनको परिचय साँघुरो थियो । उनी कसैकी छोरी, श्रीमती या बुहारी मात्रै थिइन् । तर उनको पहिचान फेरियो । उनले आफ्नै परिचय स्थापित गर्न सकिन् ।
श्रीमानको सम्झनामा रोइरहने, टोलाइरहने क्रम जारी थियो, तर उनले जीवनलाई आफ्नै हिसाबले अघि बढाउनुपर्छ भन्ने बोध उनमा जागृत भइसक्यो । ‘रोएर मात्रै जीवन चल्दैन’ भन्ने निष्कर्शमा उनी पुगिसकिन् ।
तालिमपछि त्यहीँ संस्थामा उनले जागीर पनि पाइन् । एक्कासी आएको यो अवसरले उनलाई नसोचेको खुशी दियो । उनी खुसीले एक्लै नाचिन् । आफन्त, साथीभाइ सबैलाई फोन गरेरै खबर सुनाइन् ।
काम थियो – गाउँ गाउँ डुल्ने, मान्छेका दुख सुख सुन्ने । सजिलो अप्ठ्यारोमा साथ दिने । परेका अप्ठेरा फुकाउने उपाय खोज्ने । गाउँ ठाउँका स-साना समस्या पत्ता लगाउने त्यसलाई कसरी समाधान गर्ने भनेर छलफल चलाउने र वडा नगरपालिकासँग सम्बन्ध सेतुको काम गर्ने । केही समय अघि एउटा स्वास्थ्य चौकीले गर्भवती महिलालाई आइरन चक्की निःशुल्क दिन्थ्यो । तर, क्याल्सियम किन्न क्लिनिक पठाउँथ्यो । त्यो थाहा पाएपछि उनले छलफल र संवादमार्फत समस्याको समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गरिन् । जसका कारण आज सबैले सरकारबाट पाउने सबै प्रकारका निशुल्क औषधिहरु स्वास्थ्य चाौकीबाट सहजै पाइरहेका छन् ।

उनले ‘सहजकर्ता’ रूपमा काम गर्ने वीरेन्द्रनगर १ मा उनकै नेतृत्वमा सरसफाई, नशामुक्त अभियान जस्ता सामाजिक कार्यक्रमहरू सञ्चालन भए । विकासका कामहरूमा पनि उनको सक्रियता अजिव छ । खानेपानीको समस्या होस् वा बाटो खन्दाको विवाद, कतै कसैलाई समस्या परे गाउँलेले उनैलाई सम्झिन्छन् । छलफलबाट समाधान निस्किन्छ भन्ने बुझेर होला सानातिना समस्या त समस्या जस्ता पनि लाग्दैनन् उनलाई । सहजीकरण र सहकार्यका काममा उनी एक उदाहरण बनेकी छन् । उनले भनिन्,’ सुरूमा त मलाई फलानोको छोरी फलानोको श्रीमति भएर पनि मान्छेका घर घर डुल्दै हिड्ने काम के गरेको होला भन्थे ! परिवारको आर्थिक अवस्था राम्रो भएकोले यस्तो भन्ने रहेछन् । विस्तारै काम गर्दै जादा अहिले सबैले विश्वास गर्नुहुन्छ । समस्या पर्दा सहजीकरणको लागि बोलाउनुहुन्छ । आनन्द लाग्छ ।’
समुदायमा काम गर्न थालेपछि उनले आफैलाई चिन्न पाइन् । आफूजस्तै वा आफ्नो भन्दा धेरै दुख भोगेकाहरूको कथाले उनलाई बल दियो । मन बुझाउन सिकिन् । मान्छेका समस्याले उनलाई उत्साह दियो । उल्झन सुल्झाउन सिकिन् । उनले गर्ने स्यानो सहयोगले मान्छेहरूको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने उनलाई लाग्छ ।
उनी पीडा भुलेर खुसीको खोजिमा थिइन्, तर चुनौतीहरुले भने उनको साथ छोडिसकेका थिएनन् । सुरु सुरूमा राति अबेरसम्म काम गरेर फर्किदा घर परिवारले नराम्रो मान्थे । अनेक वचन सुनाउँथे । एकल महिलाले यसरी रातबिरात हिड्न नहुने भन्दै हपार्थे । तर उनी आफ्नो लक्ष्यमा अडिग रहिन् । आफ्नै जिन्दगीका भोगाइ र संघर्षका उनको आत्मविश्वासको श्रोत हो । त्यही अडान र दृढताले आज समाजमा उनको मात्रै हैन उनको माइतीको पनि सम्मान बढेको छ ।
तुलसीको कथा संघर्षबाट सफलतातर्फको यात्रा हो । श्रीमानको परिवारसँगको कानुनी लडाइ जारी छ, तर उनले आफ्नो जिन्दगीको नयाँ बाटो कोर्न सुरू गरिसकेकी छन् । लडेपछि फेरि उठ्न सकिन्छ, एक्लै हिँडेर पनि गन्तब्यमा पुग्न सकिन्छ भन्ने उदाहरण उनी बनेकी छिन् । हिजोका दिनहरूमा ‘कसैको छोरी, बुहारी वा श्रीमती’ मात्र भनेर चिनिने तुलसी मेडम आज आफ्नो कठोर परिश्रम र नेतृत्वका कारण समुदायमा एक प्रभावशाली महिला बनेकी छन् ।
तुलसी मेडमका लागि, आजको उपलब्धि केवल व्यक्तिगत सफलता मात्र होइन, समग्र समुदायको गर्व र हौसलाको विषय पनि हो । अनि, तुलसीको जीवनमा फेरि तुलसी फुलेको घरको आँगनमा जस्तै उमङ्ग छाएको छ । उस्तै उमङ्ग, उस्तै सुगन्ध ।
यो श्रृंखला अष्ट्रेलियन सरकार वैदेशिक मामिला तथा व्यापार विभागको द एशिया फाउण्डेसन नेपालसँगको साझेदारीमा सञ्चालित स्थानीय सरकार सबलीकरण कार्यक्रमको “नेतृत्वमा महिला” पहल अन्तर्गत पर्दछ । यस कथामा व्यक्त विचारहरूले अष्ट्रेलियाली सरकार वा द एशिया फाउण्डेसनको विचारलाई प्रतिनिधित्व गरेको भन्ने छैन ।
प्रकाशित मिति: २२ पुष २०८१, सोमबार १५:२४