जाजरकोटका दुई वटा स्थानीय तहमा हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ। पालिका कमिटीको सिफारिसमा आज प्रदेश कमिटीले उम्मेदवारको टुङ्गो लगाएको हो।
कांग्रेस प्रदेश कमिटी सभापति ललितजङ्ग शाहीले उपनिर्वाचन हुन लागेको जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखको उम्मेदवारका लागि इन्द्रा चन्द सिंहको नाम टुङ्गिएको बताउनुभयो।
यस्तै कुशे गाउँपालिका–७, को वडाध्यक्ष पदमा हुन लागेको उपनिर्वाचनको उम्मेदवार खम्बबहादुर सिंह बनेका छन्।
कांग्रेस जाजरकोटका सभापति बेदराज सिंहले नाम एकल आएकाले टुङ्गिएको बताउनुभयो। नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको ०८० कार्तिक १७ गते भूकम्पमा परी मृत्यु भएपछि उपप्रमुख पद रिक्त थियो।सिंह ०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको थियो।
गत निर्वाचनमा सिंह ५ हजार ४०६ मत पाएर विजयी हुदाँ उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी सुनिता बोहोराले ३ हजार ३९३ मत पाउनु भएको थियो।
अहिले कांग्रेसले उम्मेदवार बनाएका इन्द्राचन्द सिंह सरिताकै भाइ बुहारी हुन्हुन्छ। यस्तै कुशे–७, का वडाध्यक्ष मनबहादुर घर्तीको ०७९ असारमा मृत्यु भएको थियो।
उहाँ ०७९ वैशाखमा भएको निर्वाचनमा माओवादीका तर्फबाट ३८० मत प्राप्त गरी विजयी हुनुभएको हो। अहिले कांग्रेसले उठाएका खम्बबहादुर सिंहले ३१८ मत पाउनुभएको थियो।
कांग्रेसले पहिले पराजित भएका व्यक्तिलाई नै पुनः उम्मेदवार बनाएको छ। सिंह पार्टीको वडा कमिटी सभापति हुनुहुन्छ।
यस्तै नेपाली कांग्रेस दैलेखले उम्मेदवारको पनि टुंगो लगाएको छ।
महावु गाउँपालिकाको अध्यक्षको लागि झलकबहादुर भण्डारी र दुल्लू नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि रेशम बहादुर शाहीको नाम टुङ्गिएको कांग्रेस दैलेखका सभापति मणिराम रेग्मीले बताउनुभयो।
यी दुई ठाउँमा यसअघि ०७९ को स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरूको निधन भएकाले उपनिर्वाचन हुन लागेको हो।
कांग्रेसबाट निर्वाचित महावु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको ०७९ माघ २७ गते हृदयघातका कारण निधन भएको थियो।
उहाँ त्यो बेला एमालेका हरिप्रसाद उपाध्यायलाई पराजित गर्नुभएको थियो। गुरुङले २९ सय ९ मत प्राप्त गर्नुभएको थियो भने एमालेका उपाध्यायले २५ सय १९ मत प्राप्त गर्नुभएको थियो।
यस्तै समाजवादीको उम्मेदवारले १३ सय मत प्राप्त गरेका थिए ।
कांग्रेस जिल्ला सभापति रेग्मीले महावुका कांग्रेसको जनमत राम्रो रहेकोले कांग्रेसले सहजै जित्ने दाबी गर्नुभयो।
यस्तै दुल्लू–१३, को उम्मेदवार बनाइएका रेशम बहादुर शाही यहाँभन्दा पहिला वडा कमिटी सचिव र अहिले नगरकार्य समितिको कोषाध्यक्ष हुनुहुन्छ।
प्रकाशित मिति: २२ कार्तिक २०८१, बिहीबार १७:३९