रमा केसी/सुर्खेत , सुर्खेतको लेकबेशी नगरपालिकामा आश्रित जनसंख्याभन्दा कमाउनेको संख्याबढी रहेको पाइएको छ । २०७८ को जनगणना अनुसार लेकबेशी नगरपालिकामा सक्रिय उमेर समूह १५ देखि ५९ उमेर समूहको जनसंख्या एक लाख २२ हजार ३ सय ४९ रहेको छ । यो कुल जनसंख्याको ६१.८ प्रतिशत हो । यो तथ्यांकले पालिने (आश्रित) भन्दा बढी कमाउने जनसंख्या भएको देखाउँछ । नगरपालिकाभर आश्रित ज्येष्ठ नागरिकको जनसंख्याको अनुपात ९ दशमलव ९ प्रतिशत छ । नगरपालिकाको जनसाङ्ख्यिक प्रतिवेदन २०८१ अनुसार सय जना काम गर्ने उमेरका व्यक्तिसँग १० जना ज्येष्ठ नागरिककको जनसंख्याको जिम्मेवारी रहेको देखिन्छ ।
लेकबेशीमा बाल आश्रित अनुपात ४४.९५ प्रतिशत रहेको छ । तथ्यांक अनुसार बालआश्रित र ज्येष्ठ आश्रित गरी ३८.२ प्रतिशत जनसंख्या आश्रित छ तर कमाउने जनसंख्या ६१.८ प्रतिशत रहेको छ । नगर प्रमुख उमेशकुमार पौडेल आश्रित जनसंख्याको तुलनामा सक्रिय जनसंख्या वृद्धि हुनुलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुहुन्छ । ‘हामी कहाँ जेष्ठ नागरिकको तुलनामा युवाहरुको जनसाङ्ख्यिक संरचना बढी देखिएको छ,’ उहाँ भन्नुहुन्छ, ‘यो सकारात्मक पक्ष हो, किनभने निष्क्रिय जनसंख्याले आर्थिक चलायमान हुँदैन, राज्यलाई आर्थिक भार मात्र थपिन्छ, सक्रिय जनसंख्या नै विकासको मुख्य पिलर हो ।’ सक्रिय अर्थात युवाहरुको जनसंख्या बढेको तथ्यांक सार्वजनिक भएपछि नगरपालिकाले आगामी वार्षिक नीति, कार्यक्रम तथा बजेटमा युवा स्वरोजगार कार्यक्रमहरु समावेश गर्ने नगरपालिकाको लक्ष्य रहेको छ ।
प्रदेश राजधानी वीरेन्द्रनगरको पूर्वी भेगसँगै जोडिएको छ, लेकवेशी नगरपालिका । कूल ३१ हजार ७ सय १० जनसंख्या रहेको लेकबेशीमा दलित र जनजाति समुदायको बाहुल्यता रहेको छ । यो व्यवसायिक कृषि र पशुपालनमा राम्रो सम्भावना बोकेको क्षेत्र हो । ‘युवाका लागि उद्यमशिल कृषि तथा पशुपालन आवश्यक छ, आयआर्जनमा जोड्न समयानुकुल आधुनिक कृषि प्रणालीमा आधारित तालिमसँगै उद्यमी बन्न चाहनेलाई नगरपालिकाले प्रोत्साहन गर्ने नीति अवलम्बन गर्ने सोचमा छौं, नगर प्रमुख पौडेलले भन्नुभयो ।
जनसाङ्ख्यिक प्रतिवेदनले नीति, कार्यक्रम तथा बजेट निर्माणमा सघाउने अपेक्षा राखिएको छ । यसमा नगरपालिकाको समग्र अवस्थाका बारेमा तथ्यांक छ । नगर उपप्रमुख बिमला खड्लुक प्रतिवेदनबाट हरेक वडाका सूचकको आधारमा योजना निर्माण गर्न सहज हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यस अघि हामीले अन्दाजका भरमा योजना निर्माण गर्ने गरेका थियौं, यसबाट खासै प्रभावकारिता देखिएको थिएन, अर्को कुरा आधिकारिक तथ्यांक नहुँदा लक्षित वर्ग छुट्नुपर्ने अवस्था थियो, अब यसको अन्त्य हुनेछ ।’
नगरपालिकाको विकास र समृद्धिको लागि सबैभन्दा उपयुक्त जनसांख्यिक संरचना अहिले प्राप्त भएको विज्ञहरु बताउँछन् । जनगणना २०७८ ले समग्र लेकवशी नगरपालिकाको जनसाङ्ख्यिक संरचनामा आश्रितभन्दा कमाउनेहरु धेरै रहेको बताउनुहुन्छ, राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डिराज लामिछाने । ‘नगरपालिकाको जनसंख्याको बहुआयामिक पक्षहरु समेटिएको प्रतिवेदनबाट क्षेत्रगत नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न विशेष सहयोग पुग्नेछ, उहाँले भन्नुभयो, ‘सबैभन्दा तल्लो प्रशासनिक एकाइ अर्थात् वडा तहसम्मको विस्तृत विवरण समावेश भएकाले नगरपालिकाले टोल बस्तीसम्म लक्षित कार्यक्रम लैजान सक्नेछ ।’ स्थानीय तहमा क्रियाशील गैरसरकारी संघसंस्था र विकास साझेदारहरुलाई आवश्यकता पहिचान, कार्यक्रम तर्जुमा तथा लगानी प्राथमिकीकरण गर्न उपयोगी हुने उहाँको भनाई छ ।
जनसाङ्ख्यिक प्रतिवेदनबाट स्थानीय तहको शोध, अध्ययन र अनुसन्धान गर्नेहरुका लागि एकीकृत जनसांख्यिक तथ्याङ्क उपलब्ध हुने निर्देशक लामिछानेले बताउनुभयो । ‘नमुनाका रुपमा छनौट गरिएका लेकवेशी नगरपालिका र सिम्ता गाउँपालिका आधारमा अन्य पालिकाले पनि तथ्यांक प्रणाली लागु गरुन भन्ने उद्देश्यले जनसाङ्ख्यिक प्रतिवेदन तयार पारिएको हो,’ उहाँले भन्नुभयो,
जनगणनाको तथ्यांकका आधारमा कर्णालीका दुई स्थानीय तह लेकवेशी नगरपालिका र सिम्ता गाउँपालिका छनौट गरी राष्ट्रिय तथ्यांक कार्यालयले बेलायत सरकारद्धारा सञ्चालित विकासका लाथि तथ्यांक कार्यक्रमको प्राविधिक सहयोगमा जनसाङ्ख्यिक प्रतिवेदन २०८१ तयार पारेको हो । राष्ट्रिय तथ्यांक कार्यालयले लुम्बिनी, बागमती, कोशी र मधेस प्रदेशका दुई÷दुई वटा स्थानीय तहमा पनि नमुनाका रुपमा जनसाङ्ख्यिक प्रतिवेदन तयार गरिरहेको छ ।
बढ्दै महिला ‘मूली’
नगरपालिकामा घरमूलीको रुपमा महिलाको संख्या बढेको देखिएको छ । नगरपालिकाको कूल ७ हजार ४४१ परिवारमध्ये २ हजार ५९५ अर्थात् ३४ दशमलव ९ प्रतिशत परिवारमा महिला परिवारमुली रहेका छन् । तथ्यांक अनुसार नगरका दशवटा वडामध्ये वडा नम्बर ३ मा सबैभन्दा बढी ५१ प्रतिशत परिवारमा महिला नै घरको मुख्य सदस्य अर्थात घरमूली भएर घर व्यवहार सम्हालिरहेका छन् । नगर उपप्रमुख खड्लुक भन्नुहुन्छ, भौगोलिक रुपमा सुगम र शिक्षाको सहज पहुँच भएका सहरी क्षेत्रमा महिला घरमुली बढी रहेको पाइएको छ, गरिवी, अशिक्षा, सामाजिक चेतनाको कमीसँगै भौगोलिक कारणले अझै पनि महिलाहरु घरमुलीको रुपमा देखिन चाहनुहुन्न ।’ कतिपय अवस्थामा श्रीमान् घरमा नभएपनि श्रीमान्कै नाम टिपाउने प्रचलन छ । यसो हुँदा एकल महिला मात्रै घरमुली देखिदा तथ्यांकमा कम देखिएको हो ।
लेकबेशी वडा नं ३ का अध्यक्ष लिलाराम अधिकारी बेरोजगारीका कारण पुरुषहरु स्वदेश तथा विदेशमा काम गर्न गएपछि घरको जिम्मेवारी महिलाको काँधमा आएको बताउनुहुन्छ । कतिपय अवस्थामा महिलाहरु सशक्त हुँदै गएकाले पनि घरको जिम्मेवारी सम्हालेको उहाँको भनाइ छ । ‘केही स्थानमा पुरुषहरु रोजगारीका लागि बाहिर भएकाले महिलाले नै घरको जिम्मेवारी सम्हालेका छन्,’ उहाँले भन्नुभयो, ‘अहिले महिलाहरुमा जागरण पनि आएको छ, उनीहरु पनि घरको कामको निर्णय आफै लिन सक्ने भएका छन् ।’ नगरको तथ्यांकअनुसार वडा नं. ३ मा अक्सर बसोबास गर्ने परिवारको संख्या ५ सय ८८ छ । जसमध्ये १ सय ९० परिवार अनुपस्थित स्वदेश (स्वदेशमै तर वडाभन्दा बाहिर रहेको जनसंख्या) र १ सय ९७ परिवार विदेश गएको जनसंख्या रहेको तथ्यांकमा देखिन्छ ।
तथ्यांंंकअनुसार नगरपालिकामा कम्तीमा एक जना विदेश अनुपस्थित रहेको जनसंख्या २४ दशमलव ४ प्रतिशत छ । सुर्खेत जिल्लाभर यो जनसंंख्या कूल जनसंख्याको २१ दशमलव २ प्रतिशत रहेको जनसंख्यिक प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, नगरपालिकाको वडा नं. ५ मा सबैभन्दा कम १२ दशमलव ३ प्रतिशत परिवारमा महिला मूली रहेका छन् । । वडा नं. ५ का अध्यक्ष चक्रबहादुर शाहीले वडाका महिलामा जनचेतनाको कमी भएका कारण पनि पुरुष नै घरमूली हुने गरेको बताउनुहुन्छ । उहाँका अनुसार महिलाहरुले पुरुष घरमा नभएपनि घरमूलीका रुपमा पुरुषकै नाम टिपाउने र उनीहरुलाई नै अगाडि सार्ने भएका कारण महिलाहरु पछाडि परेका हुन् । ‘वडामा महिलाहरु आफै निर्णय लिनका लागि अगाडी सर्दैनन्,’ उहाँ भन्नुहुन्छ, ‘आर्थिक, सामाजिक, धार्मिक र परम्परागत रुपले पनि महिलाले पुरुषलाई नै मूलीका रुपमा मान्ने गर्छन् ।’
२५ प्रतिशत बालबिवाह
कानूनतः बालविवाह गैर कानुनी हो । उमेर नपुगी अर्थात २० वर्ष नपुगी हुने विवाह कानूनतः स्वतः रद्द हुन्छ । तर, सुर्खेतको लेकवेशी नगरपालिकामा उमेर नपुग्दै हुने विवाह उच्च रहेको पाइएको छ । नगरपालिकाको जनसाङ्ख्यिक प्रतिवेदन २०८१ मा उमेर नपुगी विवाह गर्नेको संख्या २५ दशमलव ३ प्रतिशत रहेको देखाएको हो । जसमा पुरुष भन्दा उमेर नपुगी विवाह गर्ने किशोरीको संख्या तेब्बरले बढी रहेको तथ्यांकले देखाउँछ । बालविवाह गर्नेमा ११ दशमलव २ प्रतिशत किशोर रहेको मा ३५ दशमलव ८ प्रतिशत किशोरी रहेको तथ्यांकले पुष्टि गर्दछ ।
पाँच प्रतिशत बालबालिका विद्यालय बाहिर
नगरपालिकामा रहेका ३१ हजार ७ सय १० बालबालिकामध्ये ५ दशमलव १ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको देखिएको छ । नगरका १० वडामध्ये सबैभन्दा बढी वडा नं.८ मा ३ दशमलव २ प्रतिशत बालबालिका विद्यालयबाहिर छन् । उक्त वडाका कूल बालबालिकामध्ये ७ दशमलव ३ प्रतिशत विद्यार्थी विद्यालयको पहुँचमा छन् । राष्ट्रिय जनगणना २०६८ भन्दा २०७८ अनुसार लेकवेशी नगरपालिकाको साक्षरता दर वृद्धि भएको छ । २०६८ मा साक्षरता दर ७६ दशमलव १ प्रतिशत रहेकोमा २०७८ मा ८२ दशमलव २ प्रतिशत पुगेको छ । (रासस)
प्रकाशित मिति: १७ आश्विन २०८१, बिहीबार १३:४३